काठमाडौं। नेपाल बीमा प्राधिकरणले सातओटा लघुबीमा कम्पनीलाई लाइसेन्स दिएको छ । प्राधिकरणका अनुसार सातओटा लघुबीमा कम्पनीले न्यूनतम डेढ अर्ब रुपैयाँको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) निष्कासन गर्नु पर्नेछ ।
प्राधिकरणले गत मङ्सिर ११ मा तीन लघु जीवन बीमा र चार लघु निर्जीवन बीमा गरी सातओटा लघुबीमा कम्पनीलाई लाइसेन्स बाँडेको थियो । प्राधिकरणबाट लाइसेन्स पाएका लघुबीमा कम्पनीमध्ये चारओटाले व्यावसायिक कारोबार शुरू गरेका छन् । प्राधिकरणका अनुसार बाँकी कम्पनी पनि कारोबार शुरू गर्ने तरखरमा छन् ।
प्राधिकरणले लघुबीमा कम्पनीको लागि न्यूनतम चुक्ता पूँजी ७५ करोड रुपैयाँ तोकेको छ । लघुबीमा कम्पनीले कम्तीमा ३० प्रतिशत शेयर सर्वसाधारणमा जारी गर्नुपर्ने नियम छ ।
प्राधिकरणले जारी गरेको ‘लघु बीमक संस्थापना तथा दर्तासम्बन्धी निर्देशिका २०७९’ को दफा ५ को चुक्ता पूँजी विभाजन शीर्षकमा लघुबीमा व्यवसाय गर्ने कम्पनीमा संस्थापक समूहको शेयर अंश न्यूनतम ५१ प्रतिशत, न्यूनतम ३० प्रतिशत शेयर सर्वसाधारणमा जारी गर्नुपर्ने र बढीमा ५ प्रतिशत कम्पनीका कर्मचारीका लागि छुट्ट्याउनुपर्ने प्रावधान छ ।
लघुबीमा कम्पनीहरूले चुक्ता पूँजीको न्यूनतम ३० प्रतिशत शेयर सर्वसाधारणमा जारी गर्दा प्रत्येक कम्पनीले २२ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ ल्याउनुपर्ने हुन्छ ।
लघुबीमा कम्पनीहरूले चुक्ता पूँजीको न्यूनतम ३० प्रतिशत शेयर सर्वसाधारणमा जारी गर्दा प्रत्येक कम्पनीले २२ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ ल्याउनुपर्ने हुन्छ । त्यसैले सातओटा कम्पनीले १ अर्ब ५७ करोड ५० लाख रुपैयाँको आईपीओ ल्याउनुपर्ने हुन्छ । दर्ता भएका सबै लघुबीमा कम्पनीको चुक्ता पूँजी नियमनकारी निकायले तोकेको न्यूनतम सीमा अर्थात् ७५ करोड रुपैयाँ नै छ ।
के हो लघुबीमा ?
लघुबीमा भनेको दुर्गम, ग्रामीण तथा शहरी क्षेत्रका सीमान्तकृत तथा न्यून आय भएका समुदायलाई भविष्यमा हुन सक्ने जोखिम न्यूनीकरण गर्नका लागि गरिने बीमा हो । लघुबीमाका गार्हस्थ्य लघुबीमा, म्यादी लघु जीवन बीमा, दुर्घटना लघुबीमा, बाली लघुबीमा, स्वास्थ्य लघुबीमा लगायत किसिम हुन्छन् ।
प्राधिकरणका अनुसार लघुबीमा कम्पनीले न्यून आय भएका परिवारको पहिचानका लागि स्पष्ट मापदण्ड तयार गरी सहुलियत दरमा लघुबीमा सेवा प्रवाह गर्ने व्यवस्थालाई सुदृढ गर्नुपर्छ । लघुबीमा कम्पनीहरूले गरीबी निवारणसम्बन्धी विभिन्न कार्यक्रम र परियोजना सञ्चालन गर्नुका साथै लघु उद्यमशीलताको विकास गर्न लक्षित वर्गको सम्पत्ति तथा जीवनमा पर्ने जोखिम सुरक्षण गर्ने गरी बीमालेख जारी गर्नुपर्छ ।
यस्तै लघुबीमा कम्पनीहरूले स्थानीय स्तरमा विद्यमान सामुदायिक संस्था, बचत तथा ऋण सहकारी, लघुवित्त कारोबारमा संलग्न संस्थामा आबद्ध जनतालाई समेट्ने गरी लघु बीमालेख विक्री गर्नुपर्छ । त्यसका साथै कम्पनीहरूले स्थानीय तहमा लघुबीमाको पहुँच बढाउनुका साथै दिगो एवं सरल रूपमा लघुबीमा सेवा उपलब्ध गराउनुपर्छ ।