ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मौद्रिक नीतिमा शेयर बजार नसमेटिँदा र आईपीओ निष्कासन बढ्दा बजार ओरालो लाग्यो : दिपेन्द्र अग्रवाल [अन्तरवार्ता]

२०८० साउन, १३  
अन्तरवार्ता
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

करीब तीन दशकदेखि शेयर बजारमा लगानी गर्दै आएका छन् दिपेन्द्र अग्रवाल । पछिल्लो शेयर बजारको अवस्थाबारे उनीसँग आर्थिक अभियान राष्ट्रिय दैनिककी लक्ष्मी शर्माले गरेको कुराकानीको सार । 

मौद्रिक नीति सार्वजनिक भएपछि बजार निरन्तर ओरालो लागेको छ, यसलाई कसरी विश्लेषण गर्नुभएको छ ? 

मौद्रिक नीतिले शेयर बजारलाई केही दिनै छैन भन्नेमा हामी पहिले नै स्पष्ट थियौं । तर, तरलता सहज भइरहेको अवस्थामा गर्भनरले शेयर बजारमा लगानीका लागि केही खुकुलो बनाउने आश्वासन दिनुभएको थियो । तर, उहाँले शेयर बजारका कुनै पनि सेक्टरलाई हेर्नुभएन । 

बरु मौद्रिक नीतिमार्फत रिक्स एभोइडर अर्थात् निक्षेपकर्तालाई बढी ब्याजदरका साथ पुरस्कृत गरियो । मौद्रिक नीतिले रिक्स टेकर अर्थात् ऋण लिएर व्यवसाय गर्नेलाई राहत दिन सकेन ।

७ प्रतिशतमा लिएको ऋणको ब्याजदर अहिले १६ देखि १७ प्रतिशतसम्म पुगेको छ । यसकारण ऋण लिएर लगानी गर्नका लागि ब्याज एकदमै महँगो छ । 

पछिल्लो समय आईपीओहरू पनि निरन्तर निष्कासन भइरहेका छन् । यस कारण बजारमा सप्लाई (आपूर्ति) थपिएको छ । यी कारणहरूले गर्दा पछिल्लो समय बजार ओरालो लागेको हो । 

नेपालमा प्राइभेट इक्वीटी र भेञ्चर क्यापिटलको सम्भावना कस्तो छ ? यसलाई प्रभावकारी बनाउन के गर्नुपर्छ ?

नेपालमा प्राइभेट इक्वीटी र भेञ्चर क्यापिटलको सम्भावना प्रशस्त छ । तर, अहिलेसम्म प्राइभेट इक्वीटी र भेञ्चर क्यापिटलबारे धेरैले बुझ्न सकेका छैनन् । प्राइभेट इक्वीटी र भेञ्चर क्यापिटललाई प्रभावकारी बनाउनको लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)ले भूमिका खेल्नुपर्छ । तर, बोर्डले यसमा राम्रो भूमिका नखेलेको जस्तो लाग्छ । अहिले कुनै फण्ड खोल्दै छ भने कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता गरे पुग्छ, यसमा नियामक निकायले मापदण्ड तोकिदिनुपर्छ । ओपन इन्ट्री र ओपन एक्जिट हुनुपर्छ हरेक सेक्टरमा । 

प्राइभेट इक्वीटी र भेञ्चर क्यापिटललाई प्रभावकारी बनाउनको लागि विदेशी वित्तीय संस्था, विदेशी लगानीकर्तालाई लगानी गर्ने वातावरण बनाउनुपर्छ । विदेशीहरूलाई पनि लगानी गर्नका लागि ऐन नियम कानुनहरू सरल बनाउनुपर्छ । लाइसेन्सिङ मोडल हटाउनुपर्छ, मापदण्ड तोके पुग्छ । यसो गर्न सकिए ठुल्ठूला प्राइभेट इक्वीटी र भेञ्चर क्यापिटल खुल्नेछन् । 

पछिल्लो समय हाइड्रोपावर कम्पनीका संस्थापक शेयरधनीहरूले लकिङ पिरियड सकिएलगत्तै सर्वसाधारणलाई महँगोमा शेयर बेचेर बाहिरिने गरेका छन् । यसको नियन्त्रणका लागि नियामक निकायले के गर्नुपर्छ ?

यस विषयमा नियामक निकायले ध्यान दिनुपर्छ जस्तो लाग्छ । जति पनि आईपीओ निष्कासनको लागि कम्पनीहरू धितोपत्र बोर्डमा जान्छन्, ती कम्पनीको नेटवर्थ सय रुपैयाँभन्दा माथि हुनुपर्छ । त्यस्ता कम्पनीहरूलाई मात्रै आईपीओ निष्कासनको स्वीकृति दिनुपर्छ । एक सयभन्दा मुनि नेटवर्थ भएका कम्पनीलाई आईपीओ अथवा हकप्रद शेयर निष्कासन गर्न दिनु हुँदैन । सोही अनुसारको नियम कानुन धितोपत्र बोर्डले बनाउनुपर्छ । 

लामो समयदेखि पूँजी बजारमा एनआरएनलाई भित्र्याउने चर्चा चलिरहेको छ । अहिले भने सेबोनले अध्ययन समिति बनाएर प्रक्रिया पनि अगाडि बढाएको छ । तर, चर्चा चलेको लामो समयसम्म पनि पूँजी बजारमा एनआरएन भित्र्याउन नसक्नुको कारण के हो ?

नेपालको पूँजी बजारमा एनआरएनलाई भित्र्याउने चर्चा चलेको लामो समय भयो । यो कुरा हरेक वर्षको बजेटमा समावेश हुन्छ । तर, हालसम्म यसको कार्यान्वयन भएको छैन । यसमा सही नेतृत्वको कमी भएको मलाई लागेको छ । पूँजीबजारमा एनआरएन भित्र्याउन पहिला नियम कानुन बनाउन आवश्यक छ । 

नेपाली शेयर बजारमा शेयर कर्नरिङ कुरा बेलाबेलामा उठ्ने गर्छ । तपाईंलाई पनि शेयर कर्नरिङको आरोप लाग्छ, के यो सही हो ? अनि पूँजी बजारका लागि यो कतिको घातक छ ?

शेयर कर्नरिङको नियम के हो, त्यो पहिला बुझाउनु पर्‍यो । मेरो बुझाइमा शेयर कर्नरिङ भनेको कानुनले दिएको भन्दा बढी शेयर खरीद गर्नु हो । नेपालमा कुनै व्यक्तिले यति प्रतिशतभन्दा बढी शेयर होल्ड गरेमा कर्नरिङ हुन्छ भन्ने कानुन छ त ? यो छैन । 

यसकारण मसँग पैसा छ भने सबै शेयर किन्न सक्छु । त्यस विषयमा नियामक निकायले केही भन्न मिल्दैन । नेपाल राष्ट्र बैंकको एउटा नियम छ– बीएफआईमा लगानी गर्दा १५ प्रतिशतभन्दा बढी घरकोले लगानी गर्न पाउँदैन । यदि कसैले १५ प्रतिशतभन्दा बढी शेयर होल्डिङ गरेको छ भने त्यो कर्नरिङ हो । तर, त्यस्तो कसैले गरेकै छैन । अनि कसरी भयो त कर्नरिङ ? यदि कर्नरिङ भएको भए पनि खै त कारबाही ? यस विषयमा छानबिन गर्नुपर्छ । साथै नियामक निकायले यसबारे नियम पनि बनाउनुपर्छ । 

पूँजी बजारमा भित्रिन चाहने नयाँ लगानीकर्ताहरूलाई के सुझाव दिनुहुन्छ ?

नयाँ लगानीकर्ताहरूलाई सुझाव प्रमोटर अनलक भएको अथवा तीन वर्ष भएको कम्पनीमा लगानी नगर्नुहोस् । कम्पनीको चुक्ता पूँजी, त्यसमा पनि पब्लिक शेयर कम भएका सेक्टरका कम्पनीको शेयर खरीद गर्नुहोस् । 

प्रमोटर शेयर लकमै भएको कम्पनीको शेयर खरीद गरे छोटो समयमै पैसा कमाउन सकिन्छ । यस्ता कम्पनीको शेयरमा ट्रेडिङ गरेमा छोटो समयमै राम्रो प्रतिफल पाउन सकिन्छ । दीर्घकालीनरूपमा लगानी गर्न चाहनेलाई म कर्मसियल बैंकको संस्थापक शेयर खरीद गर्न सुझाव दिन्छु । यस्ता बैंकको संस्थापक शेयर एक सय रुपैयाँमै पाइराखेको छ भने त्यस्ता केही कम्पनीको शेयर खरीद गरेर छोड्नुहोस्, सन्ततिको लागि राम्रो हुन्छ । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)