ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

४४ प्रतिशत नागरिक बीमामा 

२०८० साउन, १४  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अनन्त्य सुन्दर

काठमाडौं। नेपालको कुल जनसंख्याको ४४ प्रतिशत बीमामा समेटिएको ताजा तथ्यांकले देखाएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार चालू आर्थिक वर्ष (आव) को जेठ मसान्तसम्म ४४ प्रतिशतभन्दा बढी नागरिक बीमाको पहुँचमा छन् । वैदेशिक रोजगार म्यादी जीवन बीमालेखसहित बीमाको दायरा ४४ दशमलव २० प्रतिशत नागरिकसम्म फैलिएको छ । यस्तै वैदेशिक रोजगार म्यादी जीवन बीमालेखबाहेकको बीमाको दायरामा ३८ दशमलव ९९ प्रतिशत जनसंख्या छ । 

अघिल्लो आवको सोही अवधिमा वैदेशिक रोजगार म्यादी जीवन बीमालेखसहित बीमाको दायरामा ३९ दशमलव ९५ प्रतिशत जनसंख्या रहेको प्राधिकरणले जानकारी दिएको छ । यस्तै वैदेशिक रोजगार म्यादी जीवन बीमाबाहेक बीमाको दायरा ३७ दशमलव शून्य ४ प्रतिशत जनसंख्यासम्म फैलिएको थियो । राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ छ । बीमाको दायरा ४४ दशमलव २० प्रतिशत पुगेसँगै बीमाको पहुँचमा १ करोड २८ लाख ९० हजार ७४३ जना नागरिक छन् ।

आव २०७५/७६ मा नेपालको २३ प्रतिशत जनसंख्या मात्र बीमाको पहुँचमा थियो । पाँच वर्षको अवधिमा बीमाको पहुँचमा उल्लेखनीय सुधार आएको देखिएको छ । नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीणरमण पराजुली ५ वर्षको अवधिमा बीमाको पहुँचमा सुधार आउनुमा बीमा कम्पनी र प्राधिकरणको मुख्य भूमिका रहेको बताउँछन् । ‘बीमाको दायरा विस्तार हुनुमा बीमा कम्पनीका साथै नियामक निकायको पनि उत्तिकै भूमिका भएको पाइन्छ,’ उनले भने, ‘पाँच वर्षको अवधिमा बीमा कम्पनीहरूको शाखा र व्यवसाय विस्तारको रणनीतिले बीमाको दायरा बढाउन ठूलो भूमिका निर्वाह गरेको छ । यस्तै दायरा विस्तारमा राज्यको नीतिका साथै प्राधिकरणको ग्रासरुट लेवलसम्म भएको बीमा सचेतनाको विभिन्न कार्यक्रमको पनि महत्त्वपूर्ण भूमिका छ ।’

भूकम्पपछि धेरैजसो नागरिकले जोखिम न्यूनीकरणका लागि बीमा गरेको पराजुली बताउँछन् । उक्त समयमा भूकम्पले नागरिकलाई बीमा गर्न ‘ट्रिगर’ गरेको थियो । 

‘अर्थतन्त्र चलायमान हुँदा बीमाको दायरामा उल्लेखनीय सुधार भएको देखिन्छ,’ उनले भने, ‘कोभिड शुरु भएको ५/६ महीनासम्म पनि बीमाको दायरा विस्तार जारी नै भए तापनि अहिले भने अर्थतन्त्र चलायमान नहुँदा केही कमी आएको देखिन्छ ।’ 

नेपाल बीमा प्राधिकरणका प्रवक्ता राजुरमण पौडेल बीमाको दायरा विस्तारमा प्राधिकरण, बीमा कम्पनी र बीमा अभिकर्ताको मुख्य भूमिका भएको बताउँछन् । ‘पाँच वर्षको अवधिमा बीमाको दायरा धेरै नै बढेको छ । बीमाको दायरा विस्तारमा बीमा सचेतना नै मुख्य कारण हो,’ उनले भने, ‘यस अवधिमा प्राधिकरणले गाउँगाउँमा सचेतनाको कार्यक्रम गरेको छ ।’ यो ५ वर्षमा बीमा कम्पनीहरू पनि शाखा र उपशाखा विस्तार गरेर गाउँगाउँमा पुगेको पौडेल बताउँछन् । यस्तै ‘बीमा अभिकर्ता पनि गाउँगाउँ पुगेर बीमाको काम गरेकाले ५ वर्षमै २३ प्रतिशतबाट बीमाको पहुँच ४४ प्रतिशतभन्दा माथ पुगेको छ,’ उनले भने । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)