काठमाडौं। कोभिड–१९ पछि मुलुकमा सञ्चालित अस्पतालको व्यापार बढेको देखिएको छ । व्यापार बढेसँगै उनीहरुले नयाँनयाँ परियोजनाका साथै सहायक अस्पताल खोल्ने तयारी गरेका छन् ।
विभिन्न रेटिङ कम्पनीले सार्वजनिक गरेको रिपोर्ट हेर्दा पाँचओटा अस्पतालले आर्थिक वर्ष (आव) २०७८/८९ (सन् २०२२) मा ८ अर्ब २८ करोड रुपैयाँ सञ्चालन नाफा कमाएका छन् । यी अस्पतालले आव २०७७/७८ (सन् २०२१) मा ७ अर्ब ३ करोड रुपैयाँ र आव २०७६/७७ (सन् २०२०) मा ६ अर्ब ७२ करोड रुपैयाँ सञ्चालन नाफा कमाएका थिए । कोभिडपछि अस्पतालमा बिरामीको संख्या बढेसँगै व्यापार बढेको हो ।
नोबेल मेडिकल कलेज एन्ड टिचिङ हस्पिटल
सन् २००३ देखि सञ्चालित नोबेल मेडिकल कलेज एन्ड टिचिङ हस्पिटल प्रालि विराटनगरमा छ । काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन प्राप्त नोबेलले एमबीबीएस, पीजी, डीएम, बीडीएस, बीएससीजस्ता कार्यक्रम सञ्चालन गरिरहेको छ । रेटिङ कम्पनी इक्रा नेपालका अनुसार यसका नोबेल क्यान्सर अस्पताल प्रालि, नोबेल एडभान्स इन्भेस्टमेन्ट प्रालि, नोबेल अस्पताल फार्मेसी प्रालि गरी तीनओटा सहायक कम्पनी छन् । कम्पनीको काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडमा २० प्रतिशत शेयर छ ।
इक्राका अनुसार नोबेलले सन् २०२२ मा २ अर्ब ६२ करोड रुपैयाँ सञ्चालन नाफा कमाएको छ । २०२१ मा यसको सञ्चालन नाफा २ अर्ब २८ करोड थियो । सन् २०२२ मा नोबेलमा बिरामी संख्या ४१ प्रतिशतले बढेको थियो ।
नोबेलको कुल कर्जा २ अर्ब ६८ करोड रुपैयाँ छ । इक्राले कम्पनीको २ अर्ब ५३ करोड रुपैयाँ दीर्घकालीन कर्जाका लागि डबल बी प्लस र १५ करोड रुपैयाँ अल्पकालीन कर्जाको लागि ए फोर प्लस रेटिङ दिएको छ ।
चिकित्सा शिक्षा आयोगका अनुसार मेडिकल कलेजले एमबीबीएसमा १० प्रतिशत सीट छात्रवृत्तिमा, ५७ प्रतिशत राष्ट्रिय सीट कोटामा र बाँकी ३३ प्रतिशत विदेशी सीट कोटामा छुट्ट्याउनुपर्छ । ५७ प्रतिशत राष्ट्रिय सीट कोटाको शुल्क आयोगले निर्धारण गर्ने भएकाले कलेजले बाँकी ३३ प्रतिशत विदेशी सीटको मात्र शुल्क निर्धारण गर्न पाउँछ ।
शैक्षिक वर्ष सन् २०२१/२२ मा कलेजमा विदेशी सीटमा भर्ना हुने विद्यार्थी ५ प्रतिशतले घटेका छन् । इक्राका अनुसार उक्त वर्ष कलेजमा विदेशी सीटमा २ जना विद्यार्थी मात्र भर्ना भएका छन् । यस्तै स्वास्थ्य बीमा योजनाअन्तर्गतको रकम भुक्तानीमा ढिलाइ हुँदा कम्पनीको तरलतामा दबाब परेको छ । अस्पतालले स्वास्थ्य बीमा योजनाअन्तर्गतको रकम भुक्तानी समयमा नभएको भन्दै सन् २०२३ बाट स्वास्थ्य बीमा कार्यक्रम बन्द गरेको छ ।
कलेजले राष्ट्रिय विद्यार्थी शुल्कको तुलनामा विदेशी एमबीबीएस विद्यार्थीलाई झन्डै २०० प्रतिशत बढी शुल्क लिने भएकाले कलेजमा विदेशी विद्यार्थीको प्रवेशमा कमीले कम्पनीको निकट अवधिमा मार्जिनमा असर गर्ने देखिन्छ ।
लुम्बिनी मेडिकल कलेज एन्ड टिचिङ हस्पिटल लिमिटेड
सन् २००५ देखि सञ्चालित लुम्बिनी मेडिकल कलेज एन्ड टिचिङ हस्पिटल लिमिटेडले काठमाडौं विश्वविद्यालय र सीटीईभीटीबाट सम्बन्धन लिएको छ । यसले एमबीबीएस, पीसीएल, पीजी, बीएससी जस्ता कार्यक्रम सञ्चालन गर्छ ।
इक्रा नेपालका अनुसार लुम्बिनीले वर्ष सन् २०२२ मा १ अर्ब ५७ करोड रुपैयाँ सञ्चालन नाफा कमाएको छ । २०२१ मा यसको सञ्चालन नाफा १ अर्ब ४१ करोड रुपैयाँ थियो ।
इक्राका अनुसार कोभिड महामारीका कारण विद्यार्थी एक ब्याच ढिला भर्ना हुँदा र स्वास्थ्य बीमा योजनाअन्तर्गतको रकम भुक्तानीमा ढिलाइ हुँदा कम्पनीको तरलतामा दबाब परेको छ । पर्याप्त तरलता नहुँदा सन् २०२१ र २०२२ मा कम्पनीको अल्पकालीन कर्जा बढेको छ ।
इक्राका अनुसार लुम्बिनीको दीर्घकालीन कर्जा ३७ करोड ८० लाख र अल्पकालीन कर्जा २३ करोड १० लाख रुपैयाँ छ । इक्राले यसको दीर्घकालीन कर्जाका लागि डबल बी प्लस र अल्पकालीनको लागि ए फोर प्लस रेटिङ दिएको छ ।
यो मेडिकल कलेजले सन् २००८ देखि एमबीबीएस कार्यक्रम सञ्चालन गर्दै आएको छ । इक्राका अनुसार कम्पनीको ८० प्रतिशत आम्दानी एमबीबीएस कार्यक्रमबाट हुन्छ । कलेजमा एमबीबीएस कोर्समा १०० सीट रहेकोमा शतप्रतिशत विद्यार्थी भर्ना हुँदै आएका छन् ।
कम्पनीले रूपन्देहीको देवदह मेडिकल कलेज एन्ड रिसर्च इन्स्टिच्युटको १७ प्रतिशत शेयर प्रिमियममा खरीद गरेको छ । देवदह ४०० बेड क्षमताको छ भने एमबीबीएसमा ५० विद्यार्थीको सीट छ । लुम्बिनी मेडिकल कलेजले आफ्नो सहायक कम्पनी लुम्बिनी अन्तरराष्ट्रिय अस्पताल र अन्य निर्माणाधीन परियोजनामा पनि लगानी गरेको छ ।
अल्का हस्पिटल प्रालि
अल्का हस्पिटल प्रालिले सन् १९९५ मा अल्का फार्मेसीमार्फत काम शुरू गरेको थियो । फार्मेसीले आफ्ना सेवा र प्रवद्र्धक विस्तार गर्दै सन् २००२ मा अल्का पोलिक्लिनिक प्राइभेट लिमिटेड शुरू गर्यो । सन् २००५ देखि अल्का हस्पिटल प्रालि नामबाट सेवा दिँदै आएको यसले अल्का इन्स्टिच्युट अफ मेडिकल साइन्सेस नर्सिङ कलेज पनि सञ्चालन गरिरहेको छ ।
कम्पनीको ललितपुरमा दुईओटा अस्पताल जावलाखेल र भनीमण्डलमा छन् । धोबीघाटमा नर्सिङ कलेज छ । कम्पनीमा करीब १०२ डाक्टर र ४६६ सहायक कर्मचारी छन् । रेटिङ कम्पनी केयर रेटिङ्स नेपालका अनुसार अल्काले सन् २०२१ मा ५४ करोड ४० लाख रुपैयाँ सञ्चालन नाफा कमाएको थियो । २०२२ मा कम्पनीको सञ्चालन नाफा २६ प्रतिशतले बढेर ८१ करोड ४० लाख रुपैयाँ पुगेको छ ।
केयर रेटिङ्सका अनुसार सन् २०२२ मा अल्काको ९१ दशमलव ५७ प्रतिशत आम्दानी अस्पताल सञ्चालनबाट, ४ दशमलव ९२ प्रतिशत नर्सिङ कलेजबाट र बाँकी फार्मेसी, क्यान्टिनलगायतबाट भएको छ । अल्काको दीर्घकालीन कर्जा ६३ करोड ३३ लाख रुपैयाँ र अल्पकालीन कर्जा ६५ करोड रुपैयाँ छ । केयर रेटिङ्सले यसको दीर्घकालीन कर्जाका लागि ट्रिपल बी माइनस र अल्पकालीनको लागि ए थ्री रेटिङ दिएको छ । अल्काले सन् २०२२ मा सम्पत्ति खरीदका लागि १० करोड १० लाख रुपैयाँ कर्जा लिएको थियो । कम्पनीको अध्यक्षमा तिलकबहादुर थापा र प्रमोटर निर्देशकमा थापाकी पत्नी विद्या श्रेष्ठ छन् ।
बी एन्ड सी मेडिकल कलेज टिचिङ हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालि
सन् २०११ मा स्थापित बी एन्ड सी मेडिकल कलेज टिचिङ हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालि झापा जिल्लामा छ । केयर रेटिङ्स नेपालका अनुसार यसले सन् २०२१ मा ८१ करोड ४० लाख रुपैयाँ सञ्चालन नाफा कमाएको थियो । सन् २०२२ मा सञ्चालन नाफा ४६ दशमलव ९२ प्रतिशतले बढेर १ अर्ब १९ करोड रुपैयाँ पुगेको छ ।
बी एन्ड सीको दीर्घकालीन कर्जा २ अर्ब ६० करोड र अल्पकालीन कर्जा १० करोड रुपैयाँ छ । केयर रेटिङ्सले कम्पनीको दीर्घकालीन कर्जाको लागि डबल बी माइनस र अल्पकालीनका लागि ए फोर रेटिङ दिएको छ । केयर रेटिङ्सका अनुसार बी एन्ड सीले मेडिकल कलेज सञ्चालनका लागि पूर्वाधार विकास गरे पनि सरकारबाट स्वीकृतिमा ढिलाइ हुँदा कर्जा उच्च हुन पुगेको छ ।
अस्पतालको अध्यक्षमा इन्दिरा गिरी, कार्यकारी निर्देशकमा दुर्गा प्रसाई र प्रबन्ध निर्देशकमा डा रामबाबु गिरी छन् । अस्पतालको सन् २०२२ डिसेम्बरको तथ्यांकअनुसार यहाँ ६६ मेडिकल स्टाफ र ६१५ कर्मचारी छन् ।
चितवन मेडिकल कलेज प्रालि
चितवनस्थित चितवन मेडिकल कलेज प्रालि चितवन जिल्लाका चिकित्सकहरूको समूहले सन् २००६ मा स्थापना गरेको हो । दन्तचिकित्सा, फोरेन्सिक, नेत्र विज्ञान, रोगविज्ञान, अर्थोडन्टिक्स, पेडोडोन्टिक्स, रेडियो डायग्नोसिस, सर्जरीका साथै आईसीयू, एनआईसीयू लगायत सेवा दिँदै आएको यस अस्पतालमा ७५० बेड छन् ।
रेटिङ कम्पनी केयर रेटिङ्स नेपालका अनुसार कम्पनीले आव सन् २०२२ मा २ अर्ब ७ करोड रुपैयाँ सञ्चालन नाफा गरेको छ । यो वर्ष कम्पनीको सञ्चालन आम्दानीमा ७४ प्रतिशत अस्पताल र २३ प्रतिशत मेडिकल कलेजको योगदान छ । कम्पनीले २०२१ मा १ अर्ब ८७ करोड रुपैयाँ सञ्चालन नाफा कमाएको थियो ।
केयर रेटिङ्सका अनुसार क्यान्सर स्पेसियलिस्ट प्रोजेक्ट र अस्पताल र कलेज भवनसँग सम्बद्ध नवीकरण र परिमार्जन कार्यका कारण कम्पनीको कर्जा बढेको छ । अस्पतालले गत जनवरीबाट १ अर्ब १२ करोड रुपैयाँ लागतमा क्यान्सर स्पेसियलिस्ट केन्द्र शुरू गरेको छ । चितवन मेडिकल कलेजको दीर्घकालीन कर्जा १ अर्ब ३८ करोड रुपैयाँ र अल्पकालीन कर्जा २० करोड रुपैयाँ छ । केयर रेटिङ्सले कम्पनीको दीर्घकालीन कर्जाको लागि ट्रिपल बी माइनस र अल्पकालीनको लागि ए थ्री रेटिङ दिएको छ । अस्पतालले स्वास्थ बीमा कार्यक्रमको भुक्तानी ढिला भएको भन्दै सन् २०२३ बाट स्वास्थ्य बीमा कार्यक्रम बन्द गरेको छ । अस्पतालले स्वास्थ बीमा कार्यक्रम बन्द गर्दा सन् २०२२ (२०७८/८९) को ९ महीनाको तुलनामा सन् २०२३ (२०७९/८०) को सोही अवधीमा आम्दानी ७७ करोड रुपैयाँले घटेको छ ।
अस्पताल अध्यक्षमा डा हरीशचन्द्र न्यौपाने छन् । न्यौपाने भारतको लखनउस्थित १०० बेडको शेखर अस्पताल प्रालिका पनि संस्थापक हुन् । अस्पताल निर्देशकमा डा दयाराम लम्साल र डा गोपेन्द्रप्रसाद देव छन् । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजले एमबीबीएस र एमडीसहित १२ विभिन्न कार्यक्रम सञ्चालन गर्छ । कम्पनीका अनुसार गत अप्रिलसम्ममा अस्पतालमा १ हजार १०४ मेडिकल स्टाफ र शिक्षा डिभिजनमा १३४ जना संकाय कर्मचारी छन् ।