काठमाडौं। गत आर्थिक वर्ष (आव) २०७९/८० मा कोभिड–१९ को असर, रुस–युक्रेन तनावलगायतका कारण आर्थिक गतिविधि सुस्त भए पनि वाणिज्य बैंकहरूको खुद नाफा बढेको छ ।
ब्याज आम्दानी वृद्धिसँगै खराब कर्जा वृद्धिदर नियन्त्रण हुँदा बैंकहरूको नाफामा सुधार देखिएको हो । वाणिज्य बैंकहरूले सार्वजनिक गरेको आव २०७९/८० को अपरिष्कृत वित्तीय विवरणअनुसार उनीहरूले कुल ७० अर्ब १७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । अघिल्लो आव २०७८/७९ मा ५६ अर्ब १७ करोड रुपैयाँ नाफा गरेकोमा गतवर्ष २४ दशमलव ९३ प्रतिशत वृद्धि भएको हो ।
आर्थिक वर्षको पहिलो, दोस्रो र तेस्रो त्रैमासमा नाफा वृद्धिदर घटे पनि चौथो त्रैमासमा आइपुग्दा सुधार देखिएको छ । अघिल्लो आवको सोही अवधिको तुलनामा आव २०७९/८० को पहिलो त्रैमासमा ५ दशमलव ९४, दोस्रोमा ११ दशमलव १० र तेस्रोमा ११ दशमलव ६७ प्रतिशत नाफा बढेको थियो । चौथो त्रैमासमा आइपुग्दा भने नाफा वृद्धिदर तेस्रोको तुलनामा दोब्बरभन्दा धेरै छ ।
गत आर्थिक वर्षमा बैंकहरूको व्यवसाय विस्तार उल्लेख्य नभए पनि कर्जा महँगो हुँदा स्प्रेडदर वृद्धि र बैंकहरूले ट्रेजरी तथा ऋणपत्रमा गरेको लगानीबाट आम्दानी बढेपछि नाफामा सकारात्मक प्रभाव परेको पूर्वबैंकर अनलराज भट्टराईले बताए । ‘गत आवमा स्प्रेडदर पनि उच्च रह्यो र सरकारी टे«जरीबाट आम्दानी पनि राम्रो भयो,’ उनले भने, ‘जसको कारण बैंकहरूको नाफा केही सकारात्मक देखिएको छ ।’
केही बैंकमा मर्जरको सकारात्मक प्रभाव परेको उनको भनाइ छ । यद्यपि बैंकहरूको पूँजीको तुलनामा यसपालिको नाफालाई सामान्य मान्नुपर्ने भट्टराईले बताए ।
गत आवको चौथो त्रैमासमा बैैंकहरू खराब कर्जा नियन्त्रण गर्न पनि सफल भएका छन् । अघिल्लो आवमा बैंकहरूको खराब कर्जा १ दशमलव १० प्रतिशत रहेकोमा आव २०७९/८० को पहिलो त्रैमासमा १ दशमलव ८३, दोस्रोमा २ दशमलव ३५ प्रतिशत हुँदै तेस्रो त्रैमाससम्ममा औसत खराब कर्जा ३ दशमलव शून्य ३ प्रतिशत पुगेको थियो । चौथो त्रैमासमा भने खराब कर्जालाई २ दशमलव ७ प्रतिशतमा झार्न उनीहरू सफल भएका छन् ।
बैंकहरूको नाफा वृद्धिमा खराब कर्जा नियन्त्रणको सकारात्मक प्रभाव पनि छ । यसलाई बैंक तथा व्यवसायीको वित्तीय अनुशासनसँग तुलना गर्न सकिने पूर्वबैंकर भट्टराई बताउँछन् । ‘साधारणतया हामीकहाँ बैंक र व्यापारीबीच एक अर्कालाई अप्ठ्यारो पार्न हुँदैन भन्ने वित्तीय अनुशासन छ,’ उनले भने, ‘आर्थिक वर्षको शुरुआतमा नतिरेको कर्जा पनि अन्तिम त्रैमासमा तिर्ने प्रचलनले खराब कर्जा नियन्त्रण भएको देखिएको हो ।’
गत आवमा सबैभन्दा बढी नबिल बैंकले ७ अर्ब ५२ करोड रुपैयाँ खुद नाफा कमाएको छ । नेपाल बंगलादेश बैंक प्राप्त गरेको नबिलको नाफा अघिल्लो आवको तुलनामा ७६ दशमलव ८६ प्रतिशतले बढी हो । यसैगरी बैंक अफ काठमाण्डूलाई गाभेको ग्लोबल आइएमईले ७ अर्ब २५ करोड रुपैयाँ खुद नाफा कमाएको छ । ग्लोबल आइएमईको नाफा ४६ दशमलव २६ प्रतिशतले बढेको छ ।
गत आर्थिक वर्षमा कुमारी र प्राइम कमर्सियल बैंकको नाफा अघिल्लो वर्षभन्दा कम छ । एनसीसी बैंक गाभेको कुमारीको नाफा अघिल्लो वर्षको तुलनामा २४ दशमलव १४ प्रतिशतले घटेर १ अर्ब ९५ करोड रुपैयाँमा सीमित भएको छ । अघिल्लो आवमा बैंकको नाफा २ अर्ब ५७ करोड रुपैयाँ थियो । यस्तै प्राइमको नाफा १८ दशमलव ८१ प्रतिशतले घटेर २ अर्ब २६ करोड रुपैयाँ कायम भएको छ ।