काठमाडौं। चुरोट तथा अगरबत्ती उत्पादक कम्पनी सूर्य नेपालले पाँच वर्षमै १ खर्ब २५ अर्ब रुपैयाँ सञ्चालन नाफा गरेको छ । रेटिङ कम्पनी केयर रेटिङ्सका अनुसार कम्पनीले वित्तीय वर्ष सन् २०२० मा २४ अर्ब ४७ करोड रुपैयाँ, सन् २०२१ मा २४ अर्ब ४९ करोड रुपैयाँ र सन् २०२२ मा २७ अर्ब १ करोड रुपैयाँ सञ्चालन नाफा गरेको छ ।
सुर्तीजन्य पदार्थमा कर बढ्दा पनि कम्पनीले बजारमा नयाँ नयाँ ब्राण्डमा चुरोटको विक्री गरेकाले वित्तीय वर्ष २०२२ मा मात्र २६ अर्ब ९८ करोड रुपैयाँ बराबरको विक्री गरेको छ । कम्पनीले उक्त वर्ष १० अर्ब ४० करोड रुपैयाँ लाभांश घोषणा गरेको थियो । कम्पनीको ५ अर्ब ७५ करोड रुपैयाँको अल्पकालीन कर्जा छ । केयर रेटिङ्सले कम्पनीको उक्त कर्जालाई ‘ए वान प्लस’ रेटिङ दिएको छ ।
कम्पनीको शेयर संरचना
सन् १९८६ मा स्थापित यस कम्पनीमा आईटीसी लिमिटेडको सबैभन्दा बढी ५९ प्रतिशत शेयर छ । भारतस्थित आईटीसी लिमिटेडको बजार पूँजीकरण सन् २०२३ मार्चसम्ममा ५८ बिलियन अमेरिकी डलर रहेको छ । सन् १९१० मा स्थापित यस कम्पनीले सिगरेट, ब्रान्डेड प्याकेज गरिएको खाना, शिक्षा र स्टेशनरी सामग्री उत्पादन गर्छ । कृषि व्यवसाय र सूचना प्रविधिमा पनि कम्पनीको लगानी छ । कम्पनीमा नेपाली व्यक्तिगत तथा संस्थागत लगानीकर्ताको ३९ प्रतिशत र बाँकी २ प्रतिशत शेयर ब्रिटिश अमेरिकी टोबाको (इन्भेस्टमेन्ट) लिमिटेडको छ ।
कम्पनीका उत्पादन
नेपालमा चुरोट, सलाई, अगरबत्ती र कन्फेक्शनरी उत्पादन गर्दै आएको कम्पनीले होटल व्यवसायमा पनि लगानी गरेको छ । काठमाडौंको बूढानीलकण्ठमा कम्पनीको ७२ रोपनी जग्गामा पाँचतारे होटल निर्माणाधीन छ ।
उपभोक्ता स्वाद र प्राथमिकता अनुसार कम्पनीले सूर्य लिजेन्ड, सूर्य २४ क्यारेट, सूर्य लक्जरी किंग्स, शिखर फिल्टर किंग्स, शिखर आइस रस, नौलो, खुकुरी फिल्टर, पाइलट फिल्टर, बिजुली र चौतारी जस्ता ब्राण्डमा चुरोट उत्पादन तथा विक्री गर्दै आएको छ । कम्पनीको मुलुकभर १०० भन्दा बढी वितरक छन् ।
कम्पनीको अध्यक्षमा सञ्जीव पुरी रहेका छन् । पुरी आईटीसी लिमिटेडका अध्यक्ष र प्रबन्ध निर्देशक रहेका छन् । सूर्य नेपालको प्रबन्ध निर्देशक भने रवि के रायवरम रहेका छन् ।
सबैभन्दा बढी कर तिर्ने कम्पनीको शीर्ष स्थानमा
आन्तरिक राजस्व विभागका अनुसार ५ वर्षमा चुरोट तथा बिँडीको अन्त:शुल्क मात्रै ९२ अर्ब ६६ करोड रुपैयाँ संकलन भएको छ । विभागले ठूला करदाताहरूलाई सम्मान गर्न थालेदेखि सबैभन्दा बढी आयकर तिर्ने कम्पनीहरूको सूचिमा सूर्य नेपाल पनि रहँदै आएको छ ।
आन्तरिक राजस्व विभागका अनुसार ५ वर्षमा चुरोट तथा बिँडीको अन्त:शुल्क मात्रै ९२ अर्ब ६६ करोड रुपैयाँ संकलन भएको छ ।
विभागले २०६९ सालदेखि प्रत्येक वर्ष ठूला करदातालाई सम्मान गर्दै आएको छ । आर्थिक वर्ष (आव) २०६८/६९ देखि नै प्रत्येक वर्ष बढी आयकर तिर्ने कम्पनीहरूमा सूर्य नेपाल पनि रहँदै आएको छ ।
कम्पनीका अनुसार आव २०६८/६९ र आव २०७०/७१ मा सबैभन्दा बढी अन्त:शुल्क तिर्ने कम्पनीमा सूर्य नेपाल विभागबाट सम्मानित भएको थियो । आव २०७१/७२ यता कम्पनी सबैभन्दा बढी कर तिर्ने कम्पनी रहँदै आएको छ ।