काठमाडौं। सरकारले आर्थिक वर्ष (आव) को शुरूमै आन्तरिक ऋण उठाएपछि बैंकिङ प्रणालीबाट निक्षेप घट्न थालेको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०८० असार मसान्तमा ५७ खर्ब ६७ अर्ब रुपैयाँ पुगेको निक्षेप भदौ २ गते हुँदा घटेर ५६ खर्ब १० अर्ब रुपैयाँ कायम भएको छ । भदौ १ गतेको तुलनामा पनि बैंकहरूको निक्षेप २ अर्ब रुपैयाँले घटेको छ ।
स्थानीय तहको सञ्चित कोषमा रहेको रकममध्ये ८० प्रतिशत निक्षेपमा गणना गर्न पाउने सुविधा ५० प्रतिशतमा झरेपछि साउनको २ दिनमा बैंकहरूको निक्षेप १ खर्ब ९ अर्ब रुपैयाँले घटेको थियो । त्यसपछि पनि सरकारले विकास ऋणपत्रमार्फत ११ अर्ब ६ करोड र ट्रेजरी बिल्समार्फत २ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाएपछि बैंकहरूको निक्षेपमा प्र्रभाव परेको छ ।
नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता डा. डिल्लीराम पोखरेलले बैंक, वित्तीय संस्थाको पैसा सरकारी खातामा जाँदा निक्षेप घटेको बताए । ‘अहिले निक्षेपमा त्यति ठूलो उतारचढाव देखिएको छैन,’ उनले भने, ‘केही घटेको रकम ऋणपत्र र कर भुक्तानीमार्फत सरकारी खातामा जम्मा भएको हुन सक्छ ।’ निक्षेपसँगै कर्जा पनि घटेकाले बैंकहरूमा तरलताको अवस्था भने सहज रहेको उनले बताए ।
चालू आव शुरू भएपछि बैंक, वित्तीय संस्थाको कर्जा पनि २० अर्ब रुपैयाँले घटेको छ । गत आवको अन्तिममा बैंकहरूको कुल कर्जा लगानी ४८ खर्ब ७९ अर्ब रुपैयाँ रहेकोमा भदौ २ गते हुँदा घटेर ४८ खर्ब ५९ अर्ब कायम भएको राष्ट्र बैंकले जानकारी दिएको छ ।
भदौ २ गते बैंकहरूको औसत कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ८३ दशमलव ५६ प्रतिशत कायम भएको छ । यस्तै बैंकहरूको अन्तरबैंक कारोबारको औसत ब्याजदर पनि ६ दशमलव २ प्रतिशत छ ।
सोमवार मात्र राष्ट्र बैंकले ६ अर्ब २३ करोड ३२ लाख रुपैयाँ बराबरको ट्रेजरी बिल्स नवीकरण गरेको छ । त्यसमध्ये ९१ दिन अवधिको ४ अर्ब २३ करोड २३ लाखको ट्रेजरीमा ५ दशमलव ८१ प्रतिशत र ३६४ दिन अवधिको २ अर्बको ट्रेजरीमा ६ दशमलव ४३ प्रतिशत औसत ब्याजदर कायम भएको छ ।
भदौ १ गतेको तुलनामा पनि बैंकहरूको निक्षेप २ अर्ब रुपैयाँले घटेको छ ।