काठमाडौं । चार लघुबीमा कम्पनीले १ महीनामा ७ करोड रुपैयाँभन्दा बढी बीमांकको बीमालेख जारी गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार ती कम्पनीले असारमा ७ करोड ११ लाख रुपैयाँ बीमांक बराबरको बीमालेख जारी गरेका हुन् ।
प्राधिकरणले गत मङ्सिर ११ मा तीन लघु जीवन बीमा र चार लघु निर्जीवन बीमा गरी सातओटा लघुबीमा कम्पनीलाई लाइसेन्स बाँडेको थियो । तीमध्ये चारओटाले कारोबार शुरू गरिसकेका छन् । लघुबीमा कम्पनीहरूले दुर्गम, ग्रामीण तथा शहरी क्षेत्रका सीमान्तकृत र न्यून आय भएका समुदायलाई भविष्यमा हुन सक्ने जोखिम न्यूनीकरण गर्न बीमा गर्छन् ।
प्राधिकरणका अनुसार असारमा दुई लघु जीवन बीमा कम्पनीले ६ करोड ३१ लाख रुपैयाँ बीमांक बराबरको २१९ ओटा बीमालेख जारी गरेका छन् । असारमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले १२७ ओटा बीमालेख जारी गरेर १ लाख ४१ हजार रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले भने ९२ ओटा बीमालेख जारी गरेर ६४ हजार रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ ।
लघु निर्जीवन बीमातर्फ असारमा दुई बीमा कम्पनीले ८० लाख रुपैयाँ बीमांक बराबरको तीनओटा बीमालेख जारी गरेका छन् । असारमा नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले १ हजार रुपैयाँ र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले १० हजार रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ ।
नेपालमा लघुबीमा नयाँ अवधारणा भएको तत्कालीन बीमा समिति (हालको नेपाल बीमा प्राधिकरण) का अध्यक्ष चिरञ्जीवी नेपाल बताउँछन् । नेपालका अनुसार बीमा प्राधिकरणले अन्तरराष्ट्रिय अभ्यास अनुसार लघु बीमा कम्पनीको मर्म बुझेर काम छुट्ट्याउने हो भने नयाँ लघु बीमा कम्पनीले बीमाको दायरा थप विस्तार गर्न मद्दत गर्छ ।
‘प्राधिकरणले अध्ययन गरी मापदण्ड बनाएर लघुबीमा कम्पनीले सञ्चालनमा रहेका जीवन र निर्जीवन कम्पनीको भन्दा फरक क्षेत्र छुट्ट्याउन आवश्यक छ । राष्ट्र बैंकले पनि लघुवित्त कम्पनीहरुले काम गर्ने क्षेत्र छुटाएको छ,’ उनी भन्छन्, ‘प्राधिकरणले पनि त्यसै गरी लघुबीमा कम्पनीले काम गर्न पाउने दायरा छुट्ट्याउने हो भने बीमाक्षेत्र विकास र विस्तारमा यी कम्पनीले थप मद्दत मिल्छ ।’
गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चिरायु भण्डारी नेपालमा लघु बीमामा अथाह सम्भावना भएको बताउँछन् । ‘गार्डियन माइक्रोले सञ्चालनमा आएको ५–६ दिनमै १२७ ओटा बीमालेख जारी गरेको छ । सञ्चालनमा आएको केही उक्त संख्यामा बीमालेख जारी हुनु भनेको यस क्षेत्रमा अथाह सम्भावना छ भन्ने बुझिन्छ,’ उनले भने ।
लघुबीमा कम्पनीहरूको मुख्य लक्षित समूह निम्न आय भएको वर्ग भएकाले लघुबीमाबारे सचेतना आवश्यक भएको उनी बताउँछन् । सीईओ भण्डारीका अनुसार गार्डियन माइक्रोले सबै प्रोसेस मोबाइल एपबाटै हुने र जहाँबाट जुनसुकै समय बीमा गर्ने बनाएको छ । यस्तै बीमितलाई सेवामा सहजीकरण गर्न कम्पनीले सबै काम पेपरलेस बनाएको छ ।