काठामाडौं। ज्योति विकास बैंकले बैंकको ‘हाम्रो विकास प्रवर्द्धन कोष’मार्फत विभिन्न अस्पताललाई बेबी वार्मर उपलब्ध गराएको छ । बैंकले महाकाली स्वास्थ्य चौकी, नुवाकोट र आँबुखैरेनी अस्पताल, तनहुँलाई राष्ट्रिय आविष्कार केन्द्रद्वारा निर्मित बेबी वार्मर ‘न्यानो नानी’ प्रदान गरेको हो । नवजात शिशुको उचित तापक्रम कायम राख्न बेबी वार्मर प्रदान गरेको बताइएको छ ।
बैंकका विभिन्न पदाधिकारीबाट महाकाली स्वास्थ्य चौकी र आँबुखैरेनी अस्पतालका पदाधिकारी लगायतको उपस्थितिमा वार्मर हस्तान्तरण गरिएको हो । साथै, सोही कार्यक्रमका अस्पतालका डाक्टर, नर्स लगायत सम्बन्धित कर्मचारीलाई आविष्कार केन्द्रका स्वास्थ्य इञ्जिनियरमार्फत बेबी वार्मर सञ्चालन सम्बन्धी तालीम प्रदान गरिएको बैंकले जानकारी दिएको छ । आविष्कार केन्द्रसँगको सहकार्यमा ‘न्यानो नानी परियोजना’ अन्तर्गत पछिल्लो ३ वर्षमा देशका ३५ विभिन्न अस्पताललाई बैंकले बेबी वार्मर प्रदान गरिसकेको बताइएको छ ।