न्यू बिजनेश एज प्रालिले प्रकाशन गरिरहेको आर्थिक अभियान राष्ट्रिय दैनिक १८ वर्ष पूरा गरी १९ औं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा सर्वप्रथम म पाठक, विज्ञापनदाता, शुभेच्छुक, पत्रकार तथा सम्पूर्ण कर्मचारीलाई धन्यवाद दिन चाहन्छु । आजको यस अवस्थासम्म आइपुग्दा समय मात्र व्यतीत भएको छैन, उत्तिकै परिश्रम र लगनशीलता पनि रहेको छ । आर्थिक रूपले सधैं संघर्षपूर्ण अवस्थामा रहेको नेपालमा बेलाबेला आइरहने अनेक समस्याको मारमा पत्रकारिता क्षेत्र र हामी पनि पर्ने गरेका छौं । पछिल्ला केही वर्षयता अर्थतन्त्र सुधार हुने अपेक्षा गरिए पनि त्यसो हुन सकेको छैन । यतिखेर झनै अर्थतन्त्रमा अनेक समस्या देखिएका छन्, जुन विभिन्न सूचकले देखाएका छन् । यति हुँदाहुँदै पनि हाम्रो अभियानमा यहाँहरू सबैले गरेको होस्टेमा हैंसे साँच्चिकै प्रेरणादायी छ, जसले गर्दा हामीले लिएको लक्ष्यबाट हामी चुक्न पाएका छैनौं । यस्तो प्रेरणाले नै हामीलाई सधैं अघि बढ्न हौसला प्रदान गरिरहेको कुरा व्यक्त गर्न पाउँदा गौरवान्वित महसूस हुने गरेको छ ।
समाजमा आआफ्नै भूमिका र जिम्मेवारी हुन्छन् । हामी चाहन्छौं समाजमा कानूनी राज होस् र सबैले तोकेको जिम्मेवारी पूरा गरून् । अर्थतन्त्रमा समस्या नआओस् । जसको जे जिम्मेवारी हो, त्यो सबैले पालना गरौं । सोही मर्मअनुसार हामीले पनि आफ्नो भूमिकालाई इमानदारीपूर्वक निभाउने प्रयास गर्दै आएका छौं । सूचना र विचारका माध्यमबाट आमपाठकलाई सेवा गरिरहेका छौं, जुन जीवनपर्यन्त कायम रहने प्रतिबद्धतासमेत व्यक्त गर्दछौं । स्थापनाकालदेखि नै खुला बजार, उदारीकरण र निजीक्षेत्रको पक्षमा सशक्त वकालत गर्दै आएको हाम्रो अभियान आगामी दिनमा पनि यसरी नै अघि बढ्नेछ । वास्तवमा जबसम्म निजीक्षेत्रको भूमिका सशक्त हुँदैन, तबसम्म आर्थिक क्षेत्रको प्रगति हुँदैन भन्ने हाम्रो मुख्य विचार रहेको छ । आर्थिक अभियान दैनिकले स्थापनाकालदेखि नै आमनागरिकको आवाज उच्च पार्ने प्रयास गर्दै आएको सर्वविदितै छ । कठिन अवस्थामा पनि आफ्नो कर्ममा विचलित नभएको पुन: स्मरण गराउन चाहन्छु । हाम्रो यस्तो प्रयासलाई आमनागरिकका तर्फबाट सदैव साथ र सहयोग प्राप्त भइरहेको महसूस गरेका छौं । जबसम्म सर्वसाधारणको साथ र सहयोग रहन्छ तबसम्म ‘भ्वाइस अफ द भ्वाइसलेस’ बन्ने हाम्रो क्रम जारी रहनेछ । हामी सधैं यहाँहरूको सहयोग र सद्भावको अपेक्षा गर्दछौं । अझै आमपाठकसँग नजिक भएर काम गर्ने प्रण गर्दछौं । पुन: एकपटक १८ औं वार्षिकोत्सवको अवसरमा सबैलाई धन्यवाद ।
मदन लम्साल
अध्यक्ष, न्यू बिजनेश एज प्रालि