नेपालमा २००६ सालअघि रघुपति जुट मिल, जुद्ध म्याच फ्याक्ट्री, विराटनगर कटन मिल, वीरगञ्ज कटन मिललगायत उद्योग र कल कारखानाको स्थापना भएको पाइन्छ । नयाँ उद्योग सञ्चालनमा आएसँगै वित्तीय सहयोगका लागि १९९४ सालमा नेपाल बैंक लिमिटेडको स्थापना भएको थियो । बैंकको स्थापना भएपछि सोही समयमा नेपालमा बीमा कम्पनीको पनि आवश्यकता महसूस भएको बीमा जानकारहरू बताउँछन् । सोही अनुरूप उक्त समयमा भारतीय बीमा कम्पनीले नेपालमा निर्जीवन बीमा शुरू गरेको इतिहास छ ।
नेपाल बैंक लिमिटेडको सक्रियतामा २००४ सालमा नेपाल माल चलानी तथा बीमा कम्पनी स्थापना भएको थियो । २०१६ सालमा यस कम्पनी नेपाल इन्स्योरेन्स एन्ड ट्रान्सपोर्ट कम्पनी लिमिटेडमा परिवर्तन भएको थियो । कम्पनीलाई २०४८ सालमा नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको नाममा पूर्णरूपले निर्जीवन बीमाको काम गर्ने गरी पुन: नामकरण गरिएको थियो ।
२०२५ साल अघिसम्म भारतीय बीमा कम्पनीहरूले बीमाको काम गर्दै आएका थिए । उक्त समय नेपालमा रुवी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड, दि ओरियन्टल इन्स्योरेन्स कम्पनी लिमिटेड, स्टर्लिङ इन्स्योरेन्स कम्पनी लिमिटेडलगायत बीमा कम्पनीले बीमाको काम गरेको पाइन्छ ।
२०२४ पुस १ गते १ करोड रुपैयाँको अधिकृत पूँजीमा राष्ट्रिय बीमा संस्थान प्रालिको स्थापना भएको थियो । राष्ट्रिय बीमा संस्थान ऐन, २०२५ आएपछि कम्पनी राष्ट्रिय बीमा संस्थानमा परिवर्तन गरिएको थियो । यस कम्पनीले २०२९ सालदेखि जीवन बीमा पनि शुरू गरेको थियो ।
२०४४ सालमा नेपालमा बीमा व्यवसाय गर्न निजीक्षेत्रको नेशनल लाइफ एन्ड जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड स्थापना भएको थियो । कम्पनीले शुरूका २ वर्षसम्म निर्जीवन बीमा व्यवसाय र त्यसपछि भने जीवन बीमा व्यवसाय पनि शुरू गरेको थियो । नेपालको विकासमा बीमा क्षेत्रको महत्त्वपूर्ण भूमिका रहँदै आएको छ । बीमाले व्यक्तिको सम्पत्ति, उद्योग, कलकारखाना लगायतमा पर्न सक्ने जोखिमका साथै राज्य उक्त जोखिमबाट हुन सक्ने आर्थिक भार न्यूनीकरण गर्न मदत गर्छ ।
नेपाल बीमा प्राधिकरणका अनुसार नेपालमा अहिले १४ जीवन र १४ निर्जीवन बीमा कम्पनी सञ्चालनमा छन् । त्यस्तै रि–इन्स्योरेन्सतर्फ दुई र लघु बीमातर्फ चार कम्पनी सञ्चालनमा छन् ।
आधा जनसंख्या बीमाको दायरामा
नेपालमा बीमा शुरू भएको कम समयमा नै झन्डै आधा जनसंख्या बीमाको दायरामा समेटिएका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार आर्थिक वर्ष (आव) २०७९/८० सम्ममा नेपालको कुल जनसंख्याको ४४ प्रतिशत बीमाको दायरा समेटिएका हुन् ।
वैदेशिक रोजगार म्यादी जीवन बीमालेखसहित बीमाको दायरा ४४ दशमलव ३८ प्रतिशत नागरिकसम्म फैलिएको हो । वैदेशिक रोजगार म्यादी जीवन बीमालेखबाहेकको बीमाको दायरामा ३९ दशमलव शून्य ३ प्रतिशतमा छ । राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ छ । बीमाको दायरा ४४ दशमलव ३८ प्रतिशत पुगेसँगै बीमाको पहुँचमा १ करोड २९ लाख ४३ हजार २३९ नागरिक छन् ।
कम समयमा नै बीमाको दायरामा उल्लेखनीय सुधार हुनुमा बीमा प्राधिकरणको मुलुकभर नै गरिने सचेतना अभियान, कम्पनीको शाखा र व्यवसाय विस्तार, र अभिकर्ताहरूको प्रमुख भूमिका रहेको बीमा जानकारहरू बताउँछन् । बीमाले व्यक्तिको साथै संस्थामा अनिश्चित घटनाहरूबाट हुने जोखिमबाट सृजना हुने आर्थिक भार न्यूनीकरण गर्ने भएकाले मुलुकको समर्ग विकासमा बीमाको प्रमुख भूमिका रहँदै आएको छ ।
सातै प्रदेशमा बीमा विस्तार हुँदै
नेपाल बीमा प्राधिकरणले सातै प्रदेशका स्थानीय तहहरूसँग सहकार्य गरेर बीमा सचेतनाका कार्यक्रम गर्दै आएको छ । अहिले मुलुकभरका नागरिकहरू बीमामा समेटिँदै गएको प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल बताउँछन् । बीमा ऐनमा नै प्राधिकरणले बीमा विकासमा काम गर्नुपर्ने विषय उल्लेख भएसँगै अहिले प्राधिकरणले आक्रमक रूपमा बीमा सचेतनाका कामहरू अघि बढाएको छ । प्राधिकरणका अनुसार चालू आवमा मात्रै प्राधिकरणले १०० भन्दा बढी स्थानीय तहमा बीमा सचेतना र अन्तरक्रिया कार्यक्रम आयोजना गरिसकेको छ ।
नेपाल बीमा प्राधिकरणका अनुसार आव २०७९/८० मा सक्रिय निर्जीवन बीमालेखको संख्या २७ लाख ९२ हजार ५१६ छ । त्यसमध्ये सबैभन्दा बढी ४५ दशमलव ३० प्रतिशत बागमती प्रदेशमा छ । त्यसपछि लुम्बिनी प्रदेशमा १५ दशमलव ४९ प्रतिशत र कोशी प्रदेशमा १२ दशमलव ८५ प्रतिशत रहेको छ ।
आव २०७९/८० मा निर्जीवन बीमालेखबाट ४० अर्ब २१ करोड रुपैयाँ संकलन भएको छ । यसमध्ये ६७ दशमलव ३० प्रतिशत बागमती प्रदेशबाट, ८ दशमलव ७५ प्रतिशत लुम्बिनीबाट र ८ दशमलव ६२ प्रतिशत कोशीबाट संकलन भएको छ ।
आव २०७९/८० मा सक्रिय जीवन बीमालेखको संख्या १ करोड ४१ लाख ३७ हजार ३२१ पुगेको छ । त्यसमध्ये सबैभन्दा बढी ७० दशमलव ९५ प्रतिशत बागमती प्रदेशमा छ । त्यसपछि कोशी प्रदेशमा ७ दशमलव ८९ प्रतिशत र लुम्बिनी प्रदेशमा ७ दशमलव २६ प्रतिशत रहेको छ ।
आव २०७९/८० मा जीवन बीमालेखबाट १ खर्ब ४२ अर्ब रुपैयाँ संकलन भएको छ । यसमध्ये बागमती प्रदेशबाट ४४ दशमलव ३२ प्रतिशत, लुम्बिनीबाट १४ दशमलव ८९ प्रतिशत र कोशीबाट १२ दशमलव ३६ प्रतिशत बीमा शुल्क संकलन भएको छ ।