ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बैंकपिच्छे ग्राहक पहिचान अद्यावधिक गर्नुपर्ने बाध्यता हट्दै 

२०८० भदौ, २०  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar यादव हुमागाईं

काठमाडौं । तपाईंको धेरै बैंकमा खाता छ र बैंकपिच्छे हरेक वर्ष ग्राहक पहिचान (केवाईसी) फारम भर्नुपर्ने बाध्यता छ ? वा केवाईसी अद्यावधिक नहुँदा खाता निष्क्रिय भएर हैरानी खेप्नुपरेको छ ? बैंक, वित्तीय संस्थाका खातावालले भोग्दै आएको यस्तो हैरानी अब हट्ने भएको छ । 

नेपाल राष्ट्र बैंकले केन्द्रीय ग्राहक पहिचान प्रणाली निर्माण गर्ने भएपछि बैंकपिच्छे केवाईसी अद्यावधिक गर्न पर्दैन । सबै वित्तीय संस्थाले प्रयोग गर्न मिल्ने केन्द्रीय ग्राहक पहिचान प्रणाली भएपछि त्यसबाटै ग्राहकको विवरण अद्यावधिक हुन्छ । 

केन्द्रीय ग्राहक पहिचान प्रणाली कार्यान्वयनमा आएपछि ग्राहकले एक ठाउँमा मात्र सूचना अद्यावधिक गरे पुग्छ ।

राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमा बैंक, वित्तीय संस्था तथा अन्य भुक्तानीसम्बन्धी कार्य गर्न अनुमतिपत्र प्राप्त संस्थाबीच ग्राहकको सूचना आदानप्रदानलाई सहज बनाउन र सरकारले जारी गरिरहेको राष्ट्रिय परिचयपत्र समेतलाई केन्द्रीय ग्राहक पहिचान प्रणालीमा आबद्ध हुने गरी केन्द्रीय ग्राहक पहिचान प्रणाली निर्माण तथा कार्यान्वयन गर्ने घोषणा गरेको थियो । सोअनुसार केन्द्रीय ग्राहक पहिचान प्रणाली निर्माणको तयारी अघि बढेको राष्ट्र बैंकका सहायक प्रवक्ता डा. डिल्लीराम पोखरेलले जानकारी दिए । हाल राष्ट्र बैंकको नियमन विभागले अध्ययन गरिरहेको र पछि अन्य निकायसँग पनि समन्वय गरिने उनले बताए । 

राष्ट्र बैंकले राष्ट्रिय परिचयपत्र समेतलाई समेटेर ग्राहक पहिचान प्रणाली बनाउने घोषणा गरे पनि त्यसमा कर कार्यालय, कर्जा सूचना केन्द्रसँगको सूचनासमेत जोड्न सकिने पोखरेलले बताए । उक्त प्रणाली स्थापना भएपछि ग्राहकका सूचना प्रणाली सञ्चालक कम्पनीले राख्नेछ । प्रणालीमा आबद्ध भएपछि ग्राहकले छुट्टै परिचय नम्बर पाउँछन् । उक्त नम्बरबाट बैंकहरूले ग्राहकको सूचना लिएर अद्यावधिक गर्न सक्छन् । 

यो प्रणाली लागू भएपछि ग्राहकले एक ठाउँमा मात्र सूचना अद्यावधिक गरे पुग्छ । त्यसैमार्फत सबै वित्तीय संस्थाले केवाईसी अद्यावधिक गर्ने भएकाले ग्राहकलाई कम झन्झट हुनेछ । गत साउनदेखि धितोपत्र बजारमा केन्द्रीय ग्राहक पहिचान प्रणाली (सी–केवाईसी) प्रयोगमा आइसकेको छ । सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले सञ्चालन गरिरहेको सी–केवाईसी प्रणालीमा विवरण अद्यावधिक गरेपछि ग्राहकले धितोपत्र व्यवसायी तथा मर्चेन्ट बैंकमा छुट्टै केवाईसी अद्यावधिक गर्नु पर्दैन । सीडीएससीबाट प्राप्त हुने नम्बरबाटै सम्बद्ध कम्पनीले केवाईसी अपडेट गर्ने व्यवस्था छ । हालसम्म २० धितोपत्र व्यवसायी सी–केवाईसीमा आबद्ध छन् । तर, सी–केवाईसी प्रणालीमा आबद्ध ग्राहकको संख्या भने न्यून रहेको सीडीएससीका सूचना अधिकारी सुरेश न्यौपानेले जानकारी दिए । 

सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी कानूनको प्रावधानअनुसार वित्तीय कारोबार गर्ने संस्थाले आफ्नो ग्राहकको विवरण अद्यावधिक राख्नुपर्छ । ग्राहकले भने संस्थापिच्छे विवरण अद्यावधिक गर्नुपर्ने प्रावधानलाई झन्झटिलो मानेका छन् । भारतमा सन् २०१६ देखि नै केन्द्रीय ग्राहक पहिचान प्रणाली कार्यान्वयनमा आइसकेको छ । भारत सरकारको समेत शेयर लगानीमा स्थापना भएको कम्पनीले ग्राहकको पहिचान दर्ता गरी वित्तीय संस्थाहरूलाई वितरण गर्दै आएका छन् । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)