काठमाडौं। बैंक, वित्तीय संस्थामा पहुँच नपुग्ने गरीब तथा विपन्न वर्गलाई वित्तीय सेवा पुर्याउन खोलिएका लघुवित्त संस्थाले प्रवाह गर्ने कर्जामा कडाइ गर्ने नेपाल राष्ट्र बैंकले संकेत गरेको छ । लघुवित्तले प्रवाह गरेको कर्जाको दुरुपयोग भएको र त्यसबाट प्रतिफलसमेत नआएको भन्दै केन्द्रीय बैंकले यसमा कडाइ गर्न लागेको हो ।
डा. हरिहरदेव पन्त स्मृति दिवसको अवसरमा काठमाडौंमा बिहीवार आयोजित कार्यक्रममा नेपाल राष्ट्र बैंक, लघुवित्त सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक रेवतिप्रसाद नेपालले कर्जाको सीमा बढाउँदा लगानी बढे पनि त्यसअनुसार प्रतिफल नआएको र पुनरवलोकनको आवश्यकता देखिएको बताए । ‘लघुवित्तले एउटा ग्राहकलाई दिन पाउने कर्जाको सीमा बढाएर १५ लाखसम्म पुर्यायौं,’ उनले भने, ‘यसबाट ह्वारह्वार्ती कर्जा वृद्धि त भयो तर प्रतिफल नआउने रहेछ भन्ने राष्ट्र बैंकलाई महसूस भएको छ ।’ धेरै संस्थालाई अनुमति दिएको र शाखा विस्तार हुँदा एकै व्यक्तिले धेरैओटा संस्थाबाट कर्जा लिएको भन्दै उनले यसले विकृति भित्त्याएको बताए ।
लघुवित्तले गरीब, विपन्नको समूह निर्माण गरी सामूहिक जमानीमा विनाधितो ऋण दिँदै आएका छन् । तर, लघुवित्तले आवश्यकता र सदुपयोग विश्लेषण नगरी बढी ऋण दिँदा ऋणीहरू साँवाब्याज फिर्ता गर्न नसक्ने अवस्थामा पुगेको भन्दै आलोचना भइरहेको छ । लघुवित्तबाट पीडित भएको भन्दै सदस्यहरू आन्दोलित भएपछि राष्ट्र बैंकले गत साउनमा आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठको संयोजकत्वमा सुझाव कार्यदल बनाएको छ । कार्यदलले प्रारम्भिक प्रतिवेदन बुझाए पनि पूर्ण प्रतिवेदनका लागि भदौसम्म म्याद लिएर काम गरिरहेको छ ।
कार्यदलको सुझावका आधारमा लघुवित्त संस्थाबारे नीतिगत व्यवस्था गर्ने केन्द्रीय बैंकको तयारी छ । यसैगरी राष्ट्र बैंकले फागुन १० गते निर्देशन जारी गरी कर्जाको सीमा घटाएर ७ लाख रुपैयाँ कायम गर्नुका साथै एउटा मात्र संस्थाबाट ऋण लिन पाउने र लघुवित्तबाट ऋण लिएकाले बैंक, वित्तीय संस्थाबाट लिन नपाउने व्यवस्था गरेको छ ।
राष्ट्र बैंकका अनुसार २०७९ चैतसम्म सञ्चालनमा रहेका ६३ ओटा लघुवित्त संस्थाले ४ खर्ब ४१ अर्ब कर्जा तथा लगानी गरेका छन् । त्यसमा ३ खर्ब ८१ अर्ब रुपैयाँ सर्वसाधारणलाई प्रवाह गरेको कर्जा छ । लघुवित्तमा ५९ लाख ९९ हजार सदस्यमध्ये ऋण लिनेको संख्या ३१ लाख ६२ हजार छ ।
केन्द्रीय बैंकका अधिकारी भन्छन्– कर्जाको सीमा बढाउँदा लगानी बढे पनि त्यसअनुसार प्रतिफल आएन ।
लघुवित्तहरूले आफ्नो सिद्धान्त र मूल्य मान्यताविपरीत काम गरेकाले समस्या देखिएको निर्धन उत्थान संस्थाका अध्यक्ष जनार्दनदेव पन्त बताउँछन् । ‘लघुवित्तले गरीब र विपन्न वर्गमा सामाजिक चेतना विस्तार तथा वित्तीय तथा गैरवित्तीय सेवा पुर्याउन काम गर्नुपर्ने हो,’ कार्यक्रममा बोल्दै उनले भने, ‘तर, हामीले त्यसअनुसार काम गर्न सकेनौं । कर्जा पनि उपभोगमा बढी गयो र प्रतिफल आएन ।’ अब लघुवित्तको कर्जा विपन्न वर्गमा उत्पादनका लागि लगानी हुनुपर्ने उनले बताए ।
विपन्न वर्गमा वित्तीय पहुँच पुर्याउन लघुवित्तलाई प्रोत्साहन गर्दै आएको राष्ट्र बैंकले अस्वस्थ प्रतिस्पर्धा हुन थालेपछि आर्थिक वर्ष (आव) २०७७/७८ को मौद्रिक नीतिमार्फत नयाँ संस्थालाई अनुमतिपत्र बन्द गर्दै मर्जरमा लैजाने घोषणा गरेको थियो । त्यसपछि हरेक वर्षको मौद्रिक नीतिमा लघुवित्त संस्था मर्जरको विषय प्राथमिकतामा पर्दै आएको छ । चालू आवको मौद्रिक नीतिमा उल्लेख भएअनुसार साउन ३२ गते निर्देशन जारी गर्दै राष्ट्र बैंकले मर्जर तथा प्राप्तिमा सहभागी हुने लघुवित्तले पाउने छूट तथा सुविधाको अवधि २०८१ असार मसान्तसम्म पुर्याएको छ ।
निर्देशनअनुसार मर्जर तथा प्राप्तिमा सहभागी भई २०८१ असारभित्र एकीकृत कारोबार गरेमा १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्दा संस्थागत सामाजिक उत्तरदायित्व कोष (सीएसआर) मा १० प्रतिशत छुट्ट्याउनुपर्ने व्यवस्था १ वर्ष लागू हुँदैन । यस्तै बैंक तथा वित्तीय संस्था एकआपसमा गाभ्ने/गाभिने वा प्राप्तिसम्बन्धी विनियमावली, २०७३ मा तोकिएका सुविधा पनि त्यस्ता लघुवित्तले पाउनेछन् ।
मर्जरमा प्रोत्साहन गरेयता २ वर्षको अवधिमा लघुवित्तको संख्या आधा घटेको छ । राष्ट्र बैंकबाट अनुमति पाउने लघुवित्तको संख्या ९१ पुगेकोमा गत आवसम्ममा ५७ ओटामा झरिसकेको छ ।