ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

तीन लघुबीमा कम्पनीको कारोबार अझै शुरू भएन

२०८० भदौ, २६  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अनन्त्य सुन्दर

काठमाडौं। नेपाल बीमा प्राधिकरणबाट लघुबीमा व्यवसाय सञ्चालन गर्ने ‘लाइसेन्स’ पाएका सात कम्पनीमध्ये चारले कारोबार शुरू गरेका छन् । बाँकी तीन कम्पनी प्राधिकरणले तोकेको समयमा निर्धारित चुक्ता पूँजी पुर्‍याउन नसक्दा सञ्चालनमा आउन सकेका छैनन् । प्राधिकरणका अनुसार अहिले ती कम्पनीले भौतिक पूर्वाधार निर्माण, सफ्टवेयर जडानलगायत काम गरिरहेका छन् । 

प्राधिकरणले गत मङ्सिर ११ मा तीन लघु जीवन बीमा र चार लघु निर्जीवन बीमा गरी सात कम्पनीलाई लाइसेन्स दिएको थियो । तीमध्ये गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेड, क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेड, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले कारोबार शुरू गरिसकेका छन् । प्राधिकरणका उपनिर्देशक शाम्बराज लामिछाने लाइसेन्स पाएका चारओटा लघुबीमा कम्पनीले करोबार शुरू गरिसकेको र बाँकी तीन कारोबार शुरू गर्ने प्रक्रियामै रहेको बताउँछन् । ‘कम्पनीले प्राधिकरणले निर्धारण गरेको चुक्ता पूँजी तोकिएको समयमा नै पुर्‍याउन नसक्दा केही ढिला भएको हो । अहिले भने कम्पनीहरूले प्राधिकरणले निर्धारण गरेको चुक्ता पूँजी पुर्‍याइसकेका छन्,’ उनले भने, ‘अहिले उनीहरूले भौतिक पूर्वाधार निर्माण, सफ्टवेयर जडान, कर्मचारी नियुक्तिलगायतको काम गरिरहेका छन् ।’ 

प्राधिकरणका उपनिर्देशक लामिछानेले स्टार माइक्रो लाइफ इन्स्योरेन्स र लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सको प्रक्रिया अन्तिम चरणमा पुगेकाले तिनीहरूले १ महीनाभित्रै कारोबार शुरू गर्ने बताए । ‘ट्रस्ट माइक्रो इन्स्योरेन्सको भौतिक पूर्वाधार निर्माणलगायत काम बाँकी भएकाले केही ढिला हुन सक्छ,’ उनले भने । 

लघुबीमा कम्पनीहरूले दुर्गम, ग्रामीण तथा शहरी क्षेत्रका सीमान्तकृत र न्यून आय भएका समुदायलाई भविष्यमा हुन सक्ने जोखिम न्यूनीकरण गर्न बीमा गर्छन् । प्राधिकरणका अनुसार लघुबीमा कम्पनीले न्यून आय भएका परिवारको पहिचानका लागि स्पष्ट मापदण्ड तयार गरी सहुलियत दरमा लघुबीमा सेवा प्रवाह गर्ने व्यवस्था गर्नुपर्छ । लघुबीमा कम्पनीहरूले गरीबी निवारणसम्बन्धी विभिन्न कार्यक्रम र परियोजना सञ्चालन गर्नुका साथै लघु उद्यमशीलताको विकास गर्न लक्षित वर्गको सम्पत्ति तथा जीवनमा पर्ने जोखिम सुरक्षण गर्ने गरी बीमालेख जारी गर्नुपर्छ ।

सञ्चालनमा आएका चारओटा लघुबीमा कम्पनीले हालसम्म ७ सय २१ ओटा बीमालेख जारी गरेको नेपाल बीमा प्राधिकरणले जानकारी दिएको छ । सञ्चालनमा आएको २ महीनामा दुई लघु जीवनबीमा कम्पनीले ६ सय ९३ ओटा बीमालेख जारी गरेका छन् । यस्तै निर्जीवन बीमातर्फ २ महीनाको अवधिमा दुई कम्पनीले २८ ओटा बीमालेख जारी गरेका छन् ।

साउनमा मात्रै चार लघुबीमा कम्पनीले साढे २६ करोड रुपैयाँभन्दा बढी बीमांकको बीमालेख जारी गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार चार कम्पनीले साउनमा २६ करोड ५० लाख बीमांक रकमको बीमालेख जारी गरेका छन् । असारमा भने ती कम्पनीले ७ करोड रुपैयाँभन्दा बढी बीमांकको बीमालेख जारी गरेका थिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)