काठमाडौं। आर्थिक वर्षको पहिलो महीना साउनमा रेमिट्यान्स (विप्रेषण) आप्रवाह उच्च भएसँगै शोधनान्तर स्थिति, विदेशी मुद्रा सञ्चिति, आयात धान्ने क्षमतालगायत अर्थतन्त्रका बाह्य क्षेत्रहरू बलियो भए पनि आन्तरिक गतिविधि भने अझै शिथिल देखिएको छ ।
नेपाल राष्ट्र बैंकले आइतवार प्रकाशित गरेको ‘देशको आर्थिक तथा वित्तीय स्थिति’ सम्बन्धी प्रतिवेदनअनुसार २०८० साउनमा हालसम्मकै उच्च विप्रेषण आएको छ । यस कारण देशभित्र भित्रने र बाहिरिने रकमको अन्तर (शोधनान्तर स्थिति), विदेशी मुद्रा सञ्चिति र विदेशबाट आयात गर्न सक्ने क्षमता सबल भएको छ । तर, गत आर्थिक वर्ष (आव) देखि सुस्ताएको आन्तरिक बजारको अवस्थामा भने अझै सुधार देखिएको छैन । बैंक, वित्तीय संस्थाको निक्षेप तथा कर्जा साथै वैदेशिक व्यापार पनि नकारात्मक छ । सरकारको पूँजीगत खर्च पनि बढ्न नसक्दा आन्तरिक अर्थतन्त्र भने शिथिल देखिएको प्रतिवेदनले औंल्याएको छ ।
राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्ट विप्रेषण वृद्धिसँगै अर्थतन्त्रको बाह्य क्षेत्रको अवस्था सहज भएको र यसलाई सरकारले सदुपयोग गर्नुपर्ने बताउँछन् । ‘रेमिट्यान्स वृद्धि राम्रो हुँदा हामी विदेशी मुद्रा सञ्चितिमा सहज अवस्थामा छौं,’ उनले भने, ‘अब सरकारले पूँजीगत खर्च बढाएर यसलाई देश विकासमा प्रयोग गर्नुपर्छ ।’
विप्रेषण हालसम्मकै उच्च
राष्ट्र बैंकको तथ्यांकअनुसार साउनमा मात्र १ खर्ब १६ अर्ब १ करोड रुपैयाँ विप्रेषणमार्फत भित्रिएको छ । एक महीनामा भित्रिएको यो हालसम्मकै उच्च रकम हो । यसअघि गत चैतमा १ खर्ब ९ अर्ब ७ करोड रुपैयाँ भित्रिएको थियो ।
२०७९ साउनमा अघिल्लो वर्ष साउनको तुलनामा विप्रेषण २० दशमलव ३ प्रतिशत बढेकोमा २०८० साउनमा २५ दशमलव ८ प्रतिशत बढेको छ । साउनमा अमेरिकी डलरमा विप्रेषण २१ दशमलव ५ प्रतिशतले वृद्धि भई ८७ करोड ९८ लाख पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १२ दशमलव ५ प्रतिशतले बढेको थियो ।
कोभिड–१९ को महामारीपछि वैदेशिक रोजगारीमा जानेको संख्या वृद्धि र औपचारिक च्यानलबाट पैसा पठाउन प्रोत्साहन गर्ने सरकारको नीतिका कारण विप्रेषणमा सकारात्मक प्रभाव परेको हो । औपचारिक रूपमा प्राप्त हुने विप्रेषणलाई बैंकमा राख्दा १ प्रतिशत विन्दु थप ब्याज प्रदान गर्नुका साथै विप्रेषण पठाउने नेपालीलाई साधारण शेयरमा आरक्षणको व्यवस्था छ ।
राष्ट्र बैंकका प्रवक्ता भट्ट विप्रेषण बढे पनि ठूलो संख्यामा युवा विदेशिँदा त्यसको असर अर्थतन्त्रमा देखिन थालेको बताउँछन् । ‘हाम्रा युवाहरू बाहिर जाँदा विप्रेषण त बढ्यो,’ उनले भने, ‘त्यही रेमिट्यान्स खर्च गर्ने र उत्पादन गर्ने व्यक्ति नहुँदा आन्तरिक गतिविधिमा कमी आएको छ ।’
शोधनान्तर स्थिति र विदेशी मुद्रा सञ्चिति सहज
गत साउन अन्त्यमा शोधनान्तर स्थिति र विदेशी मुद्रा सञ्चितिका सूचक सहज अवस्थामा छन् । पोहोर साउनमा शोधनान्तर स्थिति १९ अर्ब ७६ करोड रुपैयाँले घाटामा रहेकोमा यस वर्ष ३२ अर्ब ९० करोडले बचतमा छ ।यसैगरी २०८० असारमा १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २ दशमलव २ प्रतिशतले बढेर साउनमा १५ खर्ब ७३ अर्ब १२ करोड रुपैयाँ पुगेको छ । अमेरिकी डलरमा सञ्चिति गत असारमा ११ अर्ब ७१ करोड रहेकोमा साउनमा ११ अर्ब ८५ करोड पुगेको छ ।
विदेशी मुद्रा सञ्चिति बढेपछि विदेशबाट वस्तु तथा सेवाको आयात धान्ने क्षमता बलियो भएको छ । आव २०८०/८१ को पहिलो महीनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी मुद्रा सञ्चिति १२ दशमलव ५ महीनाको वस्तु आयात र १० दशमलव ३ महीनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।
एक वर्षअघि विदेशी मुद्राको सञ्चिति ६ दशमलव ६ महीनाको आयात धान्ने तहमा ओर्लेको थियो । सञ्चिति घटेपछि सरकारले विलासी वस्तुको आयातमा रोक समेत लगाएको थियो । शोधनान्तर बचत बढ्नुका साथै विदेशी मुद्रा सञ्चिति बढेपछि सरकारले आयात प्रतिबन्ध हटाउनुका साथै राष्ट्र बैंकले पनि नगद मार्जिनको प्रावधान हटाइसकेको छ ।
साउनमा चालू खाता पनि १२ अर्ब ९९ करोड रुपैयाँले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा चालू खाता १५ अर्ब १३ करोडले घाटामा थियो ।
यसैगरी साउनमा सेवा आयअन्तर्गत पर्यटकबाट हुने आम्दानी ६२ दशमलव ६ प्रतिशतले वृद्धि हुँदा ४ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ । भ्रमण व्यय पनि ५४ प्रतिशतले बढेर १७ अर्ब २६ करोड पुगेको छ । यसमध्ये विदेश पढ्न जाने विद्यार्थीका लागि मात्र १० अर्ब ७५ करोड रुपैयाँ खर्च भएको छ ।
मूल्यमा भने दबाब
अर्थतन्त्रका बाह्य क्षेत्र सूचकहरू सबल भए पनि मूल्यवृद्धिमा भने दबाब देखिएको छ । चालू आवको साउनमा उपभोक्ता मूल्य वृद्धिदर ७ दशमलव ५२ प्रतिशत छ । चालू आवमा सरकारले मूल्य वृद्धिदर ६ दशमलव ५ प्रतिशतमा सीमित राख्ने लक्ष्य राखेको छ । तर, पहिलो महीनामै सीमाभन्दा माथि पुगेको छ । साउनमा खाद्य तथा पेय पदार्थ समूहको मूल्य वृद्धिदर ८ दशमलव ९५ प्रतिशत हुँदा गैरखाद्य तथा सेवा समूहको ६ दशमलव ४२ प्रतिशत छ ।
ब्याज बढ्यो, निक्षेप र कर्जा घट्यो
साउनमा बैंक तथा वित्तीय संस्थाको निक्षेप तथा कर्जा लगानी घटेको छ । यस अवधिमा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप २ दशमलव ३ प्रतिशतले घट्दा कर्जा प्रवाह पनि शून्य दशमलव १ प्रतिशतले घटेको छ । बैंकहरूले निक्षेप र कर्जाको ब्याजदर पनि गतवर्षको तुलनामा बढेको देखिएको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ । तरलताको अवस्था सहज भए पनि कर्जा प्रवाह बढाउन नसकेका बैंकहरूले असोजका लागि निक्षेपमा ब्याजदर भने बढाएका छन् । निक्षेप वृद्धि नभए पनि भएको जोगाउन ब्याजदर बढाउनुपरेको बैंकर बताउँछन् ।