काठमाडौं। गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट हालसम्म पाँच वाणिज्य बैंकले लाभांश प्रस्ताव गरेका छन् । माछापुच्छ्रे, एभरेष्ट, सानिमा, सिटिजन्स बैंक इन्टरनेशनल र एनआईसी एशिया बैंकले गत आर्थिक वर्ष (आव) को अन्त्यसम्मको सञ्चित मुनाफाबाट लाभांश सार्वजनिक गरेका हुन् ।
यस वर्ष माछापुच्छ्रे बैंकले कुल १४ प्रतिशत, एभरेष्ट बैंकले २० दशमलव ५३ प्रतिशत, सानिमा बैंकले १४ दशमलव ७० प्रतिशत, सिटिजन्स बैंक इन्टरनेशलले ५ दशमलव ७९ प्रतिशत र एनआईसी एशिया बैंकले ३० दशमलव ५३ प्रतिशत लाभांश दिन लागेका छन् ।
माछापुच्छ्रे बैंकले १३ दशमलव ३० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । एभरेष्ट बैंकले १० प्रतिशत बोनस र १० दशमलव ५३ प्रतिशत नगद, सानिमा बैंकले ९ प्रतिशत बोनस शेयर र ५ दशमलव ७० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । सिटिजन्स बैंकले भने यस वर्ष करसमेत ५ दशमलव ७९ प्रतिशत नगद लाभांश मात्र वितरण गर्ने प्रस्ताव गरेको छ । अघिल्ला २ आव लाभांश वितरणमा नेपाल राष्ट्र बैंकले रोक लगाएको एनआईसी एशिया बैंकले भने २९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ५३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ
गत आव लाभांश वितरण नगरेको माछापुच्छ्रे बैंकले यस वर्ष वाणिज्य बैंकमध्ये सबैभन्दा पहिला लाभांश पारित गर्न लागेको छ । माछापुच्छ्रेले असोज १८ गते वार्षिक साधारणसभा बोलाइसकेको छ ।
हालसम्म लाभांश घोषणा गरेका पाँच बैंकमध्ये यसअघि एनआईसी एशिया बैंकले २ आव र माछापुच्छ्रे बैंकले गत आव लाभांश वितरण गरेको थिएन । यसअघि आव २०७७/७८ को मुनाफाबाट माछापुच्छ्रे बैंकले १३ दशमलव ३० प्रतिशत बोनस शेयर र शून्य दशमलव ७० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
एनआईसी एशिया बैंकले यसअघि आव २०७६/७७ को मुनाफाबाट १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । दुई आव लगानीकर्ताको हात खाली भएको एनआईसी एशिया बैंकले अघिल्लो वर्षभन्दा बढी लाभांश प्रस्ताव गरेको हो ।
गतवर्षभन्दा यस वर्ष सानिमा बैंकको लाभांशसमेत बढी छ । गत वर्ष १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ९८ प्रतिशत नगद लाभांश वितरण गरेको सानिमा बैंकले यस वर्ष ३ दशमलव ७२ प्रतिशत विन्दु बढी लाभांश वितरण गर्न लागेको हो । एभरेष्ट र सिटिजन्स बैंक इन्टरनेशनलको लाभांश भने यस वर्ष घटेको छ । गतवर्ष १३ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ७ दशमलव ६८ प्रतिशत लाभांश वितरण गरेको एभरेष्ट बैंकले शून्य दशमलव १५ प्रतिशत विन्दुले कम लाभांश वितरण गर्न लागेको हो । त्यस्तै गतवर्ष करसमेत ९ प्रतिशत नगद लाभांश वितरण गरेको सिटिजन्स बैंकले यस वर्ष ३ दशमलव २१ प्रतिशत विन्दुले कम लाभांश वितरण गर्न लागेको हो ।
लाभांशले बढेन लगानीकर्ताको उत्साह
बैंकहरूको लाभांश प्रस्ताव सार्वजनिक भए पनि लगानीकर्तामा भने उत्साह देखिएको छैन् । सिटिजन्स बैंकको लाभांश सार्वजनिक भएकै दिन आइतवार शेयरमूल्य प्रतिकित्ता १० रुपैयाँ ५० पैसाले घटेको छ । त्यस्तै भदौ २८ गते लाभांश प्रस्ताव गर्ने निर्णय गरेको एनआईसी एशिया बैंक र सानिमा बैंकको लाभांश सार्वजनिक पछिको पहिलो कारोबार दिन शेयर मूल्य घटेको छ । एनआईसी एशिया बैंकको शेयरमूल्य प्रतिकित्ता ५ रुपैयाँले र सानिमा बैंकको प्रतिकित्ता १२ रुपैयाँ ४० पैसाले घटेको हो ।
एभरेष्ट बैंकले भदौ २७ गते लाभांश वितरणको प्रस्ताव गरेको थियो । २८ गते सार्वजनिक बिदा परेकाले बजार खुला भएको थिएन । लाभांश प्रस्तावपछि पहिलो कारोबार दिन एभरेष्ट बैंकको शेयरमूल्य भने प्रतिकित्ता १५ रुपैयाँ ७० पैसाले बढेको छ । माछापुच्छ्रे बैंकले भने भदौ १३ गते लाभांश प्रस्ताव गरेको हो । लाभांश प्रस्ताव गरेको दिन प्रतिकित्ता २७५ रुपैयाँ ९० पैसा रहेको बैंकको शेयरमूल्य भदौ ३१ गतेको कारोबारमा अन्तिम मूल्य प्रतिकित्ता २६८ रुपैयाँ कायम भएको छ । लाभांश प्रस्तावपछि माछापुच्छ्रे बैंकको शेयरमूल्य प्रतिकित्ता ७ रुपैयाँ ९० पैसाले घटेको छ । कम्पनीहरूको शेयरमूल्य लगानीकर्ताको माग र आपूर्तिका आधारमा बढ्ने घट्ने हुन्छ । समग्र बजार घटेको दिन पनि माग बढी भएका कम्पनीको शेयरमूल्य बढ्ने गर्छ । पछिल्लो साता बजार बढेकै थियो । यो अवस्थामा पनि लाभांश सार्वजनिक भएका कम्पनीहरूको शेयरमूल्य घटेको अवस्थालाई हेर्दा लाभांशप्रति लगानीकर्ता सन्तुष्ट नभएको पुष्टि हुन्छ ।