काठमाडौं । निर्जीवन बीमा कम्पनीहरूले आर्थिक वर्ष (आव) २०८०/८१ को भदौमा ३ अर्ब ३ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।
यो पोहोर भदौको तुलनामा ८ दशमलव ८ प्रतिशत कम हो । नेपाल बीमा प्राधिकरणका अनुसार कम्पनीहरूले आव २०७९/८० को भदौमा ३ अर्ब ३९ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका थिए । बीमाक्षेत्रका जानकारहरू बीमा क्षेत्रमा अहिले प्रगति नभएको बताउँछन् ।
भदौमा कम्पनीहरूले ८ खर्ब ३५ अर्ब रुपैयाँ बीमांकको १ लाख ९५ हजार २५७ ओटा बीमालेख जारी गरेका छन् । भदौसम्ममा कम्पनीहरूले ७ अर्ब ८ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । नेपाल बीमक संघका अध्यक्ष तथा सगरमाथा लुम्बिनी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चंकी क्षत्री बीमाक्षेत्रमा हाल ‘ग्रोथ’ नभएको बताउँछन् ।
‘मन्दीको चेन इफेक्ट बीमाक्षेत्रमा पनि परेको छ,’ उनले भने, ‘अहिले गाडीको व्यापार हुन सकेको छैन । आयात–निर्यात पनि घटेको छ । बैंक वित्तीय संस्थाले पनि लगानी नगरेको अवस्था छ । यसको चेन इफेक्ट निर्जीवन बीमा व्यवसायमा परेको हो ।’
गत असारबाट सञ्चालनमा आएका दुईओटा लघु निर्जीवन बीमा कम्पनीले भदौमा ३ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । भदौमा नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख १३ हजार रुपैयाँ र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले ८७ हजार बीमाशुल्क संकलन गरेको छ । दुई बीमा कम्पनीले १२ करोड १६ लाख रुपैयाँको बीमांक बराबरको ८७ ओटा बीमालेख जारी गरेका छन् ।
्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नरेशकुमार रोक्का आफ्नो कम्पनी अहिले सेवा विस्तारमा लागिरहेको बताउँछन् । रोक्काका अनुसार कम्पनीको दशैंअघिसम्म सातै प्रदेशमा १५ ओटा शाखा विस्तार गर्ने योजना बनाएको छ ।
‘नेपालमा लघुबीमा क्षेत्रमा धेरै गर्न सकिने सम्भावना छ । त्यहीअनुरूप नै सञ्चालनमा आएका बीमा कम्पनीहरू सीमान्तकृत र न्यून आय भएका समुदायलाई गुणस्तरीय सेवा दिन लागि रहेका छौं,’ उनले भने ।