काठमाडौं । नेपालका निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय मोटर बीमा र सम्पत्ति बीमामा मात्रै केन्द्रित भएको पाइएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार आर्थिक वर्ष (आव) २०८०/८१ को २ महीनामा जारी भएको बीमालेखमध्ये ८० प्रतिशत मोटर बीमा र सम्पत्ति बीमाको छ । मोटर र सम्पत्ति बीमा बाध्यकारी भएकाले अन्य बीमाको तुलनामा यी दुईमा बढी भएको यस क्षेत्रका जानकार बताउँछन् ।
प्राधिकरणका अनुसार आव २०८०/८१ को २ महीनामा ४ लाख ९ हजार ८० ओटा बीमालेख जारी भएका छन् । त्यसको ७९ दशमलव ४४ प्रतिशत बीमालेख मोटर बीमा र सम्पत्ति बीमाका छन् । साउन र भदौमा ५७ प्रतिशत (२ लाख ३३ हजार ८६०) मोटर बीमा र २२ प्रतिशत (९१ हजार १०१) सम्पत्ति बीमालेख जारी भएको छ ।
दुई महीनामा सबैभन्दा कम हवाई बीमालेख जारी भएको छ । यस अवधिमा हवाई बीमाको १८ ओटा बीमालेख जारी भएको हो ।
प्राधिकरणका अनुसार आव २०७९/८० को यही अवधिमा जारी भएका ४ लाख ४५ हजार ३७१ बीमालेखमध्ये ७६ प्रतिशत मोटर र सम्पत्ति बीमाका थिए । आव २०८०/८१ को २ महीनामा निर्जीवन बीमा कम्पनीहरूले कुल ७ अर्ब ८ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । त्यसमध्ये २८ दशमलव शून्य ६ प्रतिशत (१ अर्ब ९८ करोड रुपैयाँ) मोटर बीमाबाट र २६ दशमलव ७६ प्रतिशत (१ अर्ब ८९ करोड रुपैयाँ) सम्पत्ति बीमाबाट संकलन भएको छ ।
नेपाल बीमा प्राधिकरण (साविक बीमा समिति) का पूर्वअध्यक्ष चिरञ्जीवी चापागाईं मोटर र सम्पत्ति बीमा बाध्यकारी भएकाले बीमा कम्पनीहरूको अंश अन्य बीमाको तुलनामा यी दुईमा बढी भएको बताउँछन् । ‘नेपालमा मोटर र सम्पत्ति बीमा कानूनी रूपमै बाध्य बनाइएको छ । मोटर बीमा अनिवार्य गर्नुपर्छ भनेर यातायात ऐनमा नै भनिएको छ,’ उनले भने, ‘त्यसैगरी राष्ट्र बैंकले बैंकबाट कर्जा लिँदा सम्पत्ति बीमा पनि अनिवार्य गरेको छ ।’
बीमालाई बाध्यकारी बनाउनेभन्दा पनि स्व:स्फूर्त रूपमा गर्न प्रोत्साहन गर्नुपर्ने चापागाईं बताउँछन् । ‘बीमालाई स्व:स्फूर्त प्रोत्साहन गर्न कम्पनीहरूले समयमा दाबी भुक्तानी गरेर विश्वसनीयता बढाउन आवश्यक छ,’ चापागाईं भन्छन्, ‘यस्तै प्राधिकरणले पनि कम्पनीहरूले गर्ने भुक्तानीलगायत कार्यको सुपरिवेक्षण गर्न आवश्यक छ । बीमाबारे आम नागरिकलाई सचेत गराउन पनि उत्तिकै आवश्यक छ ।’