ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सूचनामा जलविद्युत् कम्पनीको कञ्जुस्याइँ

२०८० असोज, २५  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अनन्त्य सुन्दर

काठमाडौं । धितोपत्रको दोस्रो बजारमा सूचीकृत जलविद्युत् कम्पनीहरूले समयमै पर्याप्त सूचना प्रकाशन नगर्दा लगानीकर्ता मर्कामा पर्दै आएका छन् । समयमा साधारणसभा नगर्ने, सूचना लुकाउने, समयमा रिपोर्ट सार्वजनिक नगर्नेलगायत बेथिति यस क्षेत्रका सूचीकृत कम्पनीहरूमा रहेको बजारका सरोकारवाला बताउँछन् । 

नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आर्थिक वर्ष (आव) २०८०/८१ को साउन मसान्तसम्ममा नेप्सेमा सूचीकृत कम्पनीको संख्या २५४ छ । यसमा ३२ प्रतिशत (८१ ओटा) जलविद्युत् कम्पनी छन् । सूचीकृत जलविद्युत् कम्पनीले सार्वजनिक गर्ने रिपोर्टको विषयवस्तुमा फरक हुने र कम्पनीहरूले समयमा रिपोर्ट सार्वजनिक नगर्दा लगानीकर्ता मर्कामा पर्दै आएको शेयरबजारका सक्रिय लगानीकर्ता नयन बास्तोला बताउँछन् । 

‘सूचीकृत अधिकांश जलविद्युत् कम्पनीमा संस्थागत सुशासन नहुँदा लगानीकर्ता सूचनाबाट विमुख हुँदै आएका छन्,’ उनले भने, ‘लगानीकर्ताले कम्पनीले सार्वजनिक गर्ने वित्तीय विवरण अध्ययन गरेर नै लगानी निर्णय गर्ने हो । तर, कम्पनीहरूले समयमा त्यस्तो विवरण सार्वजनिक नगर्ने, विषयवस्तुमा फरक हुनेजस्ता समस्याका कारण लगानीकर्ता सूचनाको हक उपभोग गर्नबाट वञ्चित हुँदै आएका छन् ।’ 

नेपाल धितोपत्र बोर्ड पूँजी बजारको नियामक निकाय भएकाले संस्थागत सुशासन नभएका त्यस्ता कम्पनीलाई उसले कारबाही गर्नुपर्ने बास्तोला बताउँछन् । ‘बैंक, वित्तीय संस्थासम्बनधी नियम राष्ट्र बैंकले बनाएका कारण समयमै आवश्यक विषयवस्तु समेटेर रिपोर्ट सार्वजनिक गरिरहेका छन् । बोर्ड समग्र बजारको नियामक निकाय भएकाले उसले कुन क्षेत्रको सूचीकृत कम्पनीले रिपोर्ट कहिले प्रकाशन गर्ने, कुन फम्र्याटमा प्रकाशन गर्ने भनेर टाइम सिरिज बनाउन आवश्यक छ,’ उनले भने । 

स्टक ब्रोकर्स एशोसिएशन अफ नेपाल (एसबान) का निवर्तमान अध्यक्ष सन्तोष मैनालीले धेरैजसो जलविद्युत् कम्पनीले पर्याप्त र समयमा सूचना सार्वजनिक नगर्ने गरेको बताए । पर्याप्त सूचना नहुँदा लगानीकर्ताले सजिलैसँग लगानी निर्णय गर्न नसकेको उनको भनाइ छ । ‘कम्पनीहरूले आफ्नो वित्तीय अवस्थाबारे पर्याप्त सूचना समयमै सार्वजनिक गर्नु आवश्यक छ । एसबानले यस विषयमा धितोपत्र बोर्डलाई पनि जानकारी र सुझाव दिँदै आएको छ,’ उनले भने ।

सूचीकृत जलविद्युत् कम्पनीहरूमा समयमा साधारणसभा नगर्ने, सूचना लुकाउने, समयमा रिपोर्ट सार्वजनिक नगर्ने लगायत बेथिति ।

नेप्सेका प्रवक्ता मुराहरि पराजुली सूचीकृत कम्पनीहरूसँग नेप्सेको मूल्यलाई प्रभाव पर्ने सूचनाहरू तत्काल उपलब्ध गराउनुपर्छ भनेर सम्झौता हुने गरेको बताउँछन् । ‘सूचीकृत कम्पनीले वार्षिक साधारणसभाका रिपोर्ट, नाफा नोक्सानको अवस्था, कम्पनीका निर्देशक परिवर्तन, प्रमुख कार्यकारी अधिकृत नियुक्तिलगायत कुरा समयमा नै दिनुपर्छ,’ पराजुली भन्छन्, ‘कम्पनीहरूले मूल्यलाई प्रभाव पर्ने सूचनाहरू नेप्सेलाई समयमा नदिएको हकमा नेप्सेसँग अधिकतम अधिकार उक्त कम्पनीको कारोबार स्थगित गर्ने छ । त्यसो गर्दा शेयर किनबेच रोकिने भएकाले लगानीकर्ता नै मारमा पर्ने गरेका छन् ।’

विकसित मुलुकमा सूचना नदिने कम्पनीलाई विभिन्न श्रेणीमा वर्गीकरण गर्ने, डेरिभेटिभ प्रडक्टबाट हटाउने, लगानीकर्ताले पनि लगानी नगर्नेलगायतको अभ्यास भएको पराजुली बताउँछन् । 

‘कम्पनीलाई नै कारबाही गर्नु पनि समाधान होइन । त्यस्तो व्यवस्था व्यावहारिक नभएको देखिन्छ,’ पराजुली भन्छन्, ‘त्यसैले कम्पनीहरूले समयमा सूचना नदिएमा जरीवाना लिनुपर्छ भनेर नेप्सेले सूचीकरण विनियमावली संशोधन गरी बोर्डमा पठाएको छ । कुनै कम्पनीले समयमा सूचना नदिएमा प्रतिदिन चुक्ता पूँजीको शून्य दशमलव शून्य शून्य ५ प्रतिशतको दरले जरीवाना लगाउने प्रस्ताव गत वैशाखमै धितोपत्र बोर्डमा पठाएका छौं ।’ 

नेपाल धितोपत्र बोर्डका प्रवक्ता मुक्तिनाथ श्रेष्ठले नेप्सेले पठाएको उक्त संशोधन प्रस्ताव सम्बद्ध विभागले हेरिरहेको बताए । ‘बोर्डले कम्पनीहरूको सुपरिवेक्षण गर्नुका साथै समयमा सूचना नदिने कम्पनीलाई स्पष्टीकरण पनि सोध्ने गरेको छ,’ उनले भने, ‘बोर्डसँग समयमा सूचना नदिने कम्पनीलाई आर्थिक जरीवाना गर्ने, बोर्डले दिँदै आएको सुविधा हटाउनेदेखि कम्पनी डिलिस्ट गर्नेसम्मको अधिकार छ ।’

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)