काठमाडौं । शिथिल अर्थतन्त्र चलायमान बनाउन भन्दै नेपाल राष्ट्र बैंक लचिलो भएसँगै बैंक, वित्तीय संस्थाबाट कर्जा प्रवाह बढ्न थालेको छ । निक्षेप वृद्धिसँगै राष्ट्र बैंकले नीतिगत सुधार गरेपछि बैंकहरूको कर्जा प्रवाहमा सुधार देखिन थालेको हो ।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालू आर्थिक वर्षमा बैंक, वित्तीय संस्थाको कुल निक्षेप ७८ अर्ब रुपैयाँ वृद्धि हुँदा कर्जा पनि ७३ अर्ब रुपैयाँ विस्तार भएको छ । गत आर्थिक वर्ष (आव) को अन्त्यसम्ममा बैंकहरूले कुल ५७ खर्ब ६७ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ४८ खर्ब ७९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । असोज २२ गतेसम्ममा निक्षेप ५८ खर्ब ४५ अर्ब र कर्जा ४९ खर्ब ५२ अर्ब रुपैयाँ पुगेको छ ।
गत आवसम्म सरकारले बैंकहरूलाई स्थानीय तहको सञ्चित कोषको रकममध्ये ८० प्रतिशत निक्षेपमा गणना गर्ने सुविधा दिएको थियो । साउनदेखि उक्त सुविधा हटेर ५० प्रतिशतमात्र गणना गर्न पाउने प्रावधानका कारण साउन २ गते निक्षेप ५६ खर्ब ५८ अर्ब रुपैयाँमा ओर्लियो । त्यसपछि पनि लगातार घट्दै गएको निक्षेप भदौ २ गतेसम्ममा ५६ खर्ब १० अर्ब रुपैयाँसम्म कायम भएको थियो ।
तर, बैंकरहरूसँगको छलफलपछि कर्जा प्रवाह बढाउन भन्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले भदौ दोस्रो सातादेखि स्थानीय तहको सञ्चित कोषको रकममध्ये ६० प्रतिशत निक्षेपमा गणना गर्न पाउने सुविधा दिए । यसैगरी विप्रेषण आप्रवाह पनि उच्च भएपछि १ महीनामै बैंकिङ प्रणालीमा १ खर्ब १६ अर्ब रुपैयाँ निक्षेप थपिएको छ ।
निक्षेप बढेपछि बैंकहरूले कर्जा प्रवाहमा जोड दिएका छन् । चालू आवको भदौ २ गतेसम्म लगातार घटेको बैंकहरूको कर्जा प्रवाह पछिल्लो डेढ महीनामा ९३ अर्ब रुपैयाँ थपिएको राष्ट्र बैंकले बताएको छ । राष्ट्र बैंकका सहायक प्रवक्ता डा. डिल्लीराम पोखरेल चाडबाडको सिजनले व्यवसाय विस्तार हुँदा बैंकको कर्जा प्रवाह बढेको बताउँछन् । ‘प्रारिम्भक तथ्यांक विश्लेषण गर्दा निक्षेप र कर्जा विस्तार सकारात्मक छ,’ उनले भने, ‘कुन क्षेत्रमा कर्जा गएको छ र यो कत्तिको दिगो हो भन्ने विश्लेषण गर्न विस्तृत तथ्यांक नै कुर्नुपर्छ ।’ राष्ट्र बैंकले कर्जा नीतिमा गरेको परिवर्तनले पनि सकारात्मक प्रभाव पारेको हुन सक्ने उनको अनुमान छ ।
लामो समयसम्म सुस्ताएको कर्जा विस्तार पछिल्लो समयमा बढ्न थालेको नेपाल बैंकर्स संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले बताए । ‘डेढ वर्षयता बैंकहरूको कर्जाको विस्तार नकारात्मक थियो,’ उनले भने, ‘केही महीनायता भने यो बढ्न थालेको छ ।’
बैंकहरूबाट ठूला आयोजनामा कर्जा प्रवाह नभए पनि आयात तथा उपभोग्य क्षेत्रमा ससाना लगानी हुन थालेको शर्माले बताए । ‘कुनकुन क्षेत्रमा कर्जा गइरहेको छ भन्ने विस्तृत तथ्यांक हामीसँग छैन,’ उनले भने, ‘तर, मुख्य गरी चाडबाड लक्षित आयात र उपभोग्य शीर्षकमा कर्जा प्रवाह भएको हुन सक्छ ।’
शिथिल अर्थतन्त्र चलायमान बनाउन भन्दै राष्ट्र बैंकले गत सातामात्र शेयर र व्यक्तिगत घरजग्गा, रियल इस्टेट र सवारीसाधन कर्जा नीति पुनरवलोकन गरेको थियो । राष्ट्र बैंकले असोज १८ गते एकीकृत निर्देशन, २०७९ संशोधन गर्दै शेयर धितो कर्जाको सीमा वृद्धि गरी व्यक्तिगत लगानीकर्तालाई अधिकतम १५ करोड र संस्थागत लगानीकर्तालाई अधिकतम २० करोड पुर्याएको छ ।
यस्तै घरजग्गा धितो मूल्यांकनमा उपत्यकाभित्र ३० र उपत्यकाबाहिर ४० प्रतिशतसम्म ऋण दिन पाउने सीमा बढाएर ५० प्रतिशत पुर्याएको छ । यस्तै निजी आवासीय घर कर्जा र नियमानुसार दर्ता भई सञ्चालनमा रहेका घर निर्माण व्यवसाय कम्पनी/परियोजनालाई आवासीय घर निर्माणका लागि प्रदान गरिने कर्जामा धितोको ६० प्रतिशतसम्म दिन सक्ने व्यवस्था गरेको छ । यस्तै २५ लाख रुपैयाँभन्दा बढीको व्यक्तिगत सवारीसाधन कर्जामा कायम १५० प्रतिशत जोखिम भारित अनुपातलाई घटाएर १२५ प्रतिशत बनाएको छ ।
राष्ट्र बैंकको तथ्यांकअनुसार असोज २२ गते बैंकहरूको औसत निक्षेप–कर्जा अनुपात (सीडी रेसियो) ८१ दशमलव ८६ प्रतिशत छ । बैंकहरूले ९० प्रतिशतसम्म सीडी रेसियो कायम गरी कर्जा दिन पाउने भएकाले अझै ४ खर्ब ७५ अर्ब रुपैयाँ हाराहारी कर्जा विस्तार गर्ने क्षमता उनीहरूसँग छ । तर, उच्च ब्याजदर र शिथिल अर्थतन्त्रका कारण कर्जाको माग नभएको बैंकहरूले बताउँदै आएका छन् ।
कर्जाको माग नहुँदा बैंकहरुमा तरलता उच्च भएपछि अन्तरबैंक ब्याजदर सोमवार १ दशमलव ९१ प्रतिशतमा झरेको छ । मौद्रिक नीतिको लक्ष्यअनुसार अल्पकालीन ब्याजदर कोरिडोरको तल्लो सीमाभन्दा तल झर्दा पनि राष्ट्र बैंकले बजारबाट तरलता खिचेको छैन । बैंकमा तरलता बढी भएपछि सरकारले पनि सस्तोमा आन्तरिक ऋण उठाउन जोड दिँदै आएको छ ।