काठमाडौं। लघु बीमा कम्पनीहरूले आर्थिक वर्ष (आव) २०७९/८० मा २ अर्ब रुपैयाँ लगानी गरेका छन् । नेपाल बीमा प्रधिकरणका अनुसार सञ्चालनमा रहेका चार कम्पनीले १ अर्ब ९५ करोड रुपैयाँ लगानी गरेका हुन् ।
प्राधिकरणले गत भदौ १० गते सूचना जारी गर्दै लघु बीमा व्यवसाय गर्न चाहने कम्पनीबाट प्रस्ताव माग गरेको थियो । प्राधिकरणले लघु जीवन बीमा व्यवसायतर्फ तीन र लघु निर्जीवन बीमा व्यवसायतर्फ चार कम्पनीको प्रस्ताव छनोट गरी लाइसेन्स वितरण गरेको थियो । तीमध्ये दुई लघु जीवन बीमा र दुई निर्जीवन बीमा कम्पनीले कारोबार शुरू गरिसकेका छन् ।
कारोबार शुरू गरिसकेका दुई लघु जीवन बीमा कम्पनीहरूले आव २०७९/८० मा १ अर्ब १ करोड रुपैयाँ लगानी गरेका छन् । तीमध्ये गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको लगानी ५० करोड ५० लाख रुपैयाँ र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको लगानी ५१ करोड १३ लाख रुपैयाँ रहेको छ ।
कम्पनीहरूले ‘क’ वर्गको बैंकको मुद्दती निक्षेपमा ९५ प्रतिशत (९७ करोड २५ लाख रुपैयाँ) लगानी गरेका छन् । प्राधिकरणले जारी गरेको लघु जीवन बीमकको लगानी निर्देशन २०७९ अनुसार कम्पनीहरूले नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’ वर्गको बैंक तथा पूर्वाधार विकास बैंकको मुद्दती निक्षेपमा कुल लगानीको कम्तीमा ३० प्रतिशतसम्म लगानी गर्न पाउँछन् ।
त्यसै गरी दुई लघु निर्जीवन बीमा कम्पनीले ९३ करोड ५० लाख रुपैयाँ लगानी गरेका छन् । त्यसमध्ये नेपाल माइक्रो इन्स्योरेन्स र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स दुवैको बराबर ४६ करोड ७५ लाख रुपैयाँ लगानी छ ।
दुवै कम्पनीले ‘क’ वर्गको वाणिज्य बैंकको मुद्दती निक्षेपमा उक्त रकम लगानी गरेका छन् । लघु निर्जीवन बीमा कम्पनीले पनि नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’ वर्गको बैंक तथा पूर्वाधार विकास बैंकको मुद्दती निक्षेपमा कुल लगानीको कम्तीमा ३० प्रतिशतसम्म लगानी गर्न पाउँछन् ।
गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी अहिले लघुबीमा कम्पनीहरूले प्राधिकरणले जारी गरेको लघुबीमा लगानी निर्देशिकाअनुरूप नै लगानी गरिरहेको बताउँछन् । ‘लघुबीमा कम्पनीहरू अहिले शुरुआती अवस्थामै भएकाले बिजनेश नभइसकेको अवस्था छ,’ उनले भने, ‘त्यसैले अहिले हामी व्यवसाय र सेवा विस्तारमै केन्द्रित छौं । लगानी भने प्राधिकरणले जारी गरेको निर्देशिकाअनुरूप नै गरिरहेका छौं ।’
बीमा कम्पनीहरू पब्लिकमा जान बाँकी रहेकोले उनीहरूसँग विविध क्षेत्रमा लगानी गर्न आवश्यक पर्ने प्रशस्त पूँजी नभएको पनि भण्डारीले बताए ।
प्राधिकरणले लघुबीमा कम्पनीको लागि न्यूनतम चुक्ता पूँजी ७५ करोड रुपैयाँ तोकेको छ । लघुबीमा कम्पनीले कम्तीमा ३० प्रतिशत शेयर सर्वसाधारणमा जारी गर्नुपर्ने नियम छ ।
प्राधिकरणले जारी गरेको ‘लघु बीमक संस्थापना तथा दर्तासम्बन्धी निर्देशिका २०७९’ को दफा ५ को चुक्ता पूँजी विभाजन शीर्षकमा लघुबीमा व्यवसाय गर्ने कम्पनीमा संस्थापक समूहको शेयर अंश न्यूनतम ५१ प्रतिशत हुनुपर्ने, न्यूनतम ३० प्रतिशत शेयर सर्वसाधारणमा जारी गर्नुपर्ने र बढीमा ५ प्रतिशत कम्पनीका कर्मचारीका लागि छुट्ट्याउनुपर्ने प्रावधान छ ।
लघुबीमा कम्पनीले सर्वसाधारणलाई शेयर विक्री गरेपछि उनीहरूले थप पूँजी संकलन गर्नुका साथै लगानी विविधीकरणको अवसर सृजना हुने देखिन्छ ।
लघुबीमा कम्पनीहरूले दुर्गम, ग्रामीण तथा शहरी क्षेत्रका सीमान्तकृत र न्यून आय भएका समुदायलाई भविष्यमा हुन सक्ने जोखिम न्यूनीकरण गर्न बीमा गर्छन् । प्राधिकरणका अनुसार लघुबीमा कम्पनीले न्यून आय भएका परिवारको पहिचानका लागि स्पष्ट मापदण्ड तयार गरी सहुलियत दरमा लघुबीमा सेवा प्रवाह गर्ने व्यवस्था गर्नुपर्छ ।