काठमाडौं । नेपाल दोस्रोपटक आईसीसी पुरुष टी–२० क्रिकेट विश्वकपमा छनोट भएको छ । घरेलु मैदानमा जारी पुरुष टी–२० क्रिकेट विश्वकप एसिया छनोटको फाइनलमा पुगेसँगै नेपाल दोस्रोपटक विश्वकपका लागि छानिएको हो ।
नेपालले अब आगामी वर्ष (सन् २०२४ मा) संयुक्त राज्य अमेरिका र वेष्ट इन्डिजमा हुने विश्वकपमा प्रतिष्पर्धा गर्नेछ । यसअघि सन् २०१४ को टी–२० विश्वकप क्रिकेट खेलेको नेपालले १० वर्षपछि फेरि त्यो अवसर पाएको छ ।
काठमाडौंको मुलपानी क्रिकेट मैदानमा शुक्रवार (आज) फाइनल प्रवेशका लागि भएको खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई)लाई ८ विकेटले पराजित गर्याे । नेपालले जितका लागि पाएको १३५ रनको लक्ष्य १७.१ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्याे । उसका लागि आशिफ शेख ६३ रनमा र कप्तान रोहित पौडेल ३५ रनमा अभिजित रहे । यस्तै गुल्सन झा २२ र कुशल भुर्तेल ११ रनको योगदान दिए ।
बलिङमा यूएईका बासिल हमीद र निलांश केशवानीले १–१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गर्न आएको युएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३४ रनको सामान्य योगफल बनाएको थियो । उसका लागि वृत्य अरविन्दले अर्धशतक बनाउनुबाहेक अन्यले राम्रो प्रदर्शन गर्न सकेनन् । यूएईका ५ खेलाडीले त दोहोरो अंकको रन पनि बनाउन सकेनन् ।
यूएईलाई सामान्य योगफलमा रोक्न नेपालका कुशल मल्लले सर्वाधिक ३ विकेट लिए । यस्तै, सन्दीप लामिछानेले २ तथा रोहित पौडेल र सोमपाल कामीले समान १ खेलाडीलाई पेवेलियन फर्काए ।
नेपालसँगै ओमान पनि विश्वकपका लागि छनोट भएको छ । आजै भएको पहिलो सेमिफाइनलमा बहराइनलाई १० विकेटले हराउँदै ओमान विश्वकपका लागि छानिएको हो । प्रतियोगिताको फाइनल पुग्ने टोली विश्वकपका लागि छानिएका हुन् ।
प्रतियोगिताको फाइनल खेल आगामी आइतवार कीर्तिपुरको त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा हुनेछ ।