काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि थप सार्वजनिक निष्कासन (एफपीओ ) विक्री खुला गरेको छ । धितोपत्र दोस्रो बजारमा सूचीकृत रहेको यस कम्पनीले बैंक तथा वित्तीय संस्था ऐन २०७३ बमोजिम कुल जारी पूँजीको कम्तीमा ३० प्रतिशत शेयर सर्वसाधारणलाई छुट्याउनुपर्ने व्यवस्थाबमोजिम एफपीओ जारी गरेको हो ।
हाल कम्पनीमा सर्वसाधारणतर्फ २५ दशमलव ५५ प्रतिशत शेयर स्वामित्व छ । यसर्थ ३० प्रतिशत शेयर स्वामित्व सर्वसाधारणतर्फ कायम गर्न कम्पनीले १ लाख ७८ हजार ४५१ दशमलव १८ कित्ता एफपीओ निष्कासन गर्न लागेको हो । प्रतिशेयर एक सय रुपैयाँ अंकित मूल्यमा कम्पनीले एफपीओ जारी गरेको हो ।
यो एफपीओ छिटोमा कात्तिक २४ गतेसम्म विक्रीमा रहनेछ । सो अवधिसम्म मागबमोजिम आवेदन नपरेमा भने ढिलो अवधि मंसिर ५ गतेसम्म विक्री लम्बिने जानकारी कम्पनीले दिएको छ । तर कम्पनीको एफपीओ एक सय रुपैयाँमै विक्रीमा आउने भएकाले पहिलो दिनमै मागभन्दा बढी आवेदन पर्ने निश्चित छ । यसर्थ छिटो अवधि कात्तिक २४ गतेसम्म मात्र यो एफपीओ विक्रीमा रहने निश्चित छ ।
खरीदकर्ताहरूले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म माग गर्दै एफपीओ खरीदका लागि आवेदन दिन सक्नेछन् ।
एफपीओ निष्कासन तथा विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड छ । विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ । साथै मेरो शेयर अनलाइनमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ ।
एफपीओ निष्कासनका लागि गराइएको रेटिङ्गमा क्रेडिट रेटिङ्ग संस्था ईक्रा नेपालले वित्तीय दायित्व वहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्ने ईक्रा एनपी इस्यूअर बी प्लस रेटिङ्ग प्रदान गरेको छ । ईक्रा नेपालले ईक्रा एनपी इस्युअर त्रिपल ए देखि ईक्रा एनपी इस्युअर डी सम्मको रेटिङ्ग प्रदान गर्ने गर्दछ । जसमा ईक्रा एनपी इस्युअर त्रिपल ए रेटिङ्गले बलियो आधारको संकेत गर्दछ भने ईक्रा एनपी इस्युअर डी रेटिङ्गले कमजोर आधारको संकेत गर्दछ ।
कम्पनीको परिचय
२०७० पुस १७ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीको रूपमा यो कम्पनी दर्ता भएको थियो । नेपाल राष्ट्र बैंकबाट कम्पनीले २०७१ असोज १३ गते वित्तीय कारोबार गर्न अनुमति प्राप्त गरेको कम्पनीले २०७१ कात्तिक २१ गतेदेखि औपचारिक रूपमा कारोबार शुरू गरेको हो । उन्नति लघुवित्त वित्तीय संस्था लिमिटेड र सहकार्य लघुवित्त वित्तीय संस्था गाभिएपछि उन्नति सहकार्य लघुवित्तको नामबाट २०७७ असार २६ गतेदेखि एकीकृत कारोबार भएको हो ।
रजिष्टर्ड कार्यालय सिद्धार्थनगर, भैरहवा, रूपन्देहीमा रहेको कम्पनीको कारोबार गर्ने मुख्य स्थान पनि भैरहवा, रूपन्देहीमै छ । यस कम्पनीले देशभरका २८ जिल्लाहरूमा ८२ शाखा कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको छ ।
पूँजी संरचना
अधिकृत पूँजी ४० करोड रुपैयाँ रहेको कम्पनीको जारी पूँजी २४ करोड ६८ लाख ६५ हजार रुपैयाँ छ । हाल २२ करोड ९० लाख २० हजार रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको एफपीओ निष्कासन तथा बाँडफाँटपछि चुक्ता पूँजी २४ करोड ६८ लाख ६५ हजार रुपैयाँ कायम हुनेछ । एफपीओपछि कम्पनीको चुक्ता पूँजीमा संस्थापकतर्फ ७० प्रतिशत र सर्वसाधारणतर्फ ३० प्रतिशत शेयर स्वामित्व कायम हुनेछ ।
वित्तीय अवस्था
कम्पनीको वास्तविक वित्तीय अवस्थालाई हेर्दा आर्थिक वर्ष ०७६/७७ देखि ०७८/७९ सम्म निरन्तर सञ्चित नाफामा रहेको देखिन्छ । आर्थिक वर्ष ०७६/७७ मा ९ लाख रुपैयाँभन्दा बढी सञ्चित नाफा गरेको कम्पनीले आर्थिक वर्ष ०७७/७८ मा २० लाख ९४ हजार रुपैयाँ सञ्चित नाफा गरेको थियो । आर्थिक वर्ष ०७८/७९ मा भने कम्पनीले ३६ लाख ७२ हजार रुपैयाँ सञ्चित नाफा गरेको छ ।
आर्थिक वर्ष ०७९/८० सम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीको सञ्चित नाफा ९६ लाख १४ हजार रुपैयाँ छ । चालू आर्थिक वर्षको अन्त्यसम्म भने कम्पनीले २ करोड २९ लाख रुपैयाँभन्दा बढी सञ्चित नाफा गर्ने प्रक्षेपण गरेको छ । वास्तविक वित्तीय विवरण अनुसार कम्पनीको प्रतिशेयर आम्दानी ५ रुपैयाँ ८ पैसा र प्रतिशेयर नेटवर्थ २०० रुपैयाँ ३६ पैसा छ ।
लाभांश इतिहास
उन्नति सहकार्य लघुवित्तको दुई आर्थिक वर्षको लाभांश वितरणको अवस्थालाई हेर्दा अधिकतम ३० प्रतिशतसम्म लाभांश वितरण गरेको देखिन्छ । आर्थिक वर्ष ०७६/७७ को मुनाफाबाट १७ दशमलव ८१०३ प्रतिशत बोनस शेयर वितरण गरेको कम्पनीले आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट भने ३० प्रतिशत बोनस शेयर वितरण गरेको थियो । आर्थिक वर्ष ०७८/७९ को मुनाफाबाट भने कम्पनीले लाभांश वितरण गरेको थिएन । यस वर्षको लाभांश कम्पनीले हालसम्म सार्वजनिक गरेको छैन ।
सञ्चालक समिति
सात जनाको सञ्चालक समिति रहने व्यवस्था भए पनि हाल कम्पनीमा ६ सदस्यीय सञ्चालक समिति छ । खड्ग बहादुर राना कम्पनीको सञ्चालक समितिका अध्यक्ष रहेका छन् । अध्यक्ष रानाले मानविकी संकायमा स्नातक गरेका छन् । नेपाल सरकार आन्तरिक राजश्व कार्यालयमा ३६ वर्ष काम गरेको अनुभव अध्यक्ष रानासँग छ ।
सञ्चालकहरूमा खिल राज मैनाली, तुलसी राम खनाल, राजन तिवारी, यम कुमार खड्का र भार्गव धिताल रहेका छन् । भार्गव धिताल भने स्वतन्त्र सञ्चालकको रूपमा रहेका छन् ।
कति पाउला दोस्रो बजारमा खुला मूल्य ?
आईपीओको सम्बन्धमा कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थदेखि त्यसको तीन गुणासम्मको मूल्य रेञ्ज धितोपत्र दोस्रो बजारले पहिलो कारोबारका लागि तोक्ने गर्दछ । एफपीओ सूचीकृतपछिको कारोबारका लागि भने कुनै पनि मूल्य निर्धारण नहुने धितोपत्र दोस्रो बजार सञ्चालक नेपाल स्टक एक्सचेञ्जले जानकारी दिएको छ ।
एफपीओ मूल्य हाल कम्पनीको कारोबार मूल्य नै निर्धारण हुने जानकारी नेप्सेले दिएको हो । कम्पनीको एफपीओ सूचीकृत हुँदाको समयमा कायम कम्पनीको शेयर मूल्यमै एफपीओ कारोबारमा आउनेछ । हाल कम्पनीको शेयर मूल्य प्रतिकित्ता ६९० रुपैयाँ छ ।