ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बीमा कम्पनीहरू घरजग्गामा लगानी गर्न अनिच्छुक

२०८० कात्तिक, २२  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अनन्त्य सुन्दर

काठमाडौं । बीमा कम्पनीहरू घरजग्गामा लगानी गर्न अनिच्छुक रहेको पाइएको छ । यस क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरूलाई घरजग्गामा लगानी गर्न बाटो खोलिदिए पनि आर्थिक वर्ष (आव) २०७९/८० मा एउटै कम्पनीले लगानी नगरेको प्राधिकरणले जानकारी दिएको छ । 

प्राधिकरणका अनुसार बीमा कम्पनीहरूबाट विभिन्न क्षेत्रमा साढे ६ खर्ब रुपैयाँभन्दा बढी लगानी भएको छ । बीमा कम्पनीहरूले आव २०७९/८० मा मुद्दती निक्षेप, सूचीकृत पब्लिक लिमिटेड कम्पनी, बन्ड, डिबेन्चर, नागरिक लगानी कोषलगायतमा ६ खर्ब ५८ अर्ब ९३ करोड रुपैयाँभन्दा बढी लगानी गरेका छन् । 

यस क्षेत्रबाट भएको कुल लगानीमा सबैभन्दा बढी अंश जीवन बीमा कम्पनीको छ । कुल लगानीमा जीवन बीमा कम्पनीहरूको अंश ८६ प्रतिशत छ । यो भनेको ५ खर्ब ६८ अर्ब १४ करोड रुपैयाँभन्दा बढी हो । कुल लगानीमा निर्जीवन बीमा कम्पनीको अंश ९ प्रतिशत छ । निर्जीवन बीमा कम्पनीहरूले ५८ अर्ब ८५ करोड रुपैयाँ लगानी गरेका छन् । बाँकी ५ प्रतिशत लगानी पुनर्बीमा कम्पनीहरूको हो । उनीहरूले २९ अर्ब ९७ करोड रुपैयाँ लगानी गरेको प्राधिकरणको भनाइ छ । लघु बीमा कम्पनीहरूले समेत विभिन्न क्षेत्रमा लगानी गरे पनि त्यो नगन्य छ । 

विज्ञ भन्छन्– अहिले घरजग्गाको मूल्य धेरै छ । यसले गर्दा जोखिम पनि बढी भएकाले कम्पनीहरूले लगानी नगरेको हुन सक्छ ।

प्राधिकरणले जारी गरेको लगानी निर्देशिकाअनुसार नै बीमा कम्पनीहरूले विभिन्न क्षेत्रमा लगानी गर्दै आएका छन् । बीमा कम्पनीहरूले घरजग्गामा लगानी गर्न भने नचाहेको देखिन्छ । आव २०७८/७९ मा एउटा मात्रै बीमा कम्पनीले घरजग्गामा लगानी गरेको प्राधिकरणले बताएको छ । उक्त आवमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले ३६ करोड २४ लाख रुपैयाँ घरजग्गामा लगानी गरेको थियो । 

प्राधिकरणका अनुसार पुनर्बीमा, जीवन बीमा र निर्जीवन बीमा कम्पनीले कुल लगानीको बढीमा १० प्रतिशत घरजग्गामा लगानी गर्न पाउँछन् । लघु बीमा कम्पनीले भने घरजग्गामा लगानी गर्न नपाउने व्यवस्था भएको प्राधिकरणले जानकारी दिएको छ । 

प्राधिकरण (साविक बीमा समिति) का पूर्वअध्यक्ष चिरञ्जीवी चापागाईं जोखिमका कारण कम्पनीहरूले घरजग्गामा लगानी नगरेको आकलन गर्छन् । ‘अहिले घरजग्गाको मूल्य धेरै छ । यसले गर्दा जोखिम पनि बढी भएकाले कम्पनीहरूले लगानी नगरेको हुन सक्छ,’ उनले भने । 

घरजग्गा तरल सम्पत्ति नभएकाले यस क्षेत्रमा लगानी गर्न बीमा कम्पनीहरूलाई प्राधिकरणले उनकै कार्यकालमा सीमा तोकेको चापागाईंले बताए । ‘कम्पनीहरूले आजको भोलि नै बीमितलाई भुक्तानी गर्नुपर्ने हुनसक्छ । तर, घरजग्गामा लगानी गर्दा तत्कालै नगदमा परिणत गर्न नसकिने भएकाले सीमा निर्धारण गर्ने अन्तरराष्ट्रिय अभ्यास छ,’ उनले भने । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)