ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सुधारको लयमा आन्तरिक अर्थतन्त्र

२०८० कात्तिक, २६  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar यादव हुमागाईं

सुधारको लयमा आन्तरिक अर्थतन्त्र

यादव हुमागाई

काठमाडौं 

कोभिड–१९ महामारीले तथा रुस–युक्रेन तनावका कारण विश्वव्यापी रुपमा देखिएको आर्थिक मन्दीले शिथिल बनेको नेपाली अर्थतन्त्रले विस्तारै सुधारको लय समात्न थालेको छ । अर्थतन्त्रमा बाह्य क्षेत्रका सूचकहरु बलियो भएसँगै सरकार र नेपाल राष्ट्र बैंकले आफ्नो कसिलो नीतिमा पुनरवलोकन गरेपछि आर्थिक गतिविधि बढ्न थालेको पाइएको छ । 

राष्ट्र बैंकले शुक्रवार प्रकाशित गरेको देशको आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी प्रतिवेदनले अर्थतन्त्रमा आन्तरिक क्षेत्रले पनि विस्तारै लय समाउन थालेको औंल्याएको छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप तथा कर्जा प्रवाह बढ्न थालेको र उच्च बिन्दुमा पुगेको ब्याजदर पनि घट्न थालेको छ । आयात वृद्धिसँगै सरकारको राजस्व पनि बढ्न थालेको छ । यसैगरी शोधनान्तर स्थिति, विदेशी मुद्राको सञ्चितिलगायतका बाह्य क्षेत्रका सूचकहरु पनि थप बलियो बनेका छन् । उच्च विप्रेषण आप्रवाह र पर्यटनलगायतबाट हुने सेवा आय वृद्धि हुँदा विदेशी मुद्राको सञ्चिति हालसम्मकै उच्च विन्दुमा पुगेको छ । 

गतवर्ष विदेशी मुद्रा सञ्चिति न्यून विन्दुमा झर्नुका साथै आयात धान्ने क्षमता सीमित भएपछि राष्ट्र बैंक र सरकारले कसिलो नीति लिएका थिए । सरकारले विलासी सामानको आयातमा प्रतिबन्ध लगाउनुका साथै राष्ट्र बैंकले पनि आयातका लागि प्रयोग हुने र अनुत्पादक क्षेत्रमा जाने कर्जामा कडाइको नीति लियो । फलस्वरुप आर्थिक गतिविधि खुम्चियो । अर्थतन्त्रको बाह्य सूचकहरु सहज भएसँगै सरकार र राष्ट्र बैंक लचिलो बनेका छन् । कसिलो मौद्रिक नीतिमार्फत कर्जा प्रवाहमा कडाइ गरेको राष्ट्र बैंकले गत महीनामात्र घरजग्गा, शेयर, गाडीलगायत क्षेत्रमा प्रवाह हुने कर्जासम्बन्धी नीतिमा पुनरवलोकन गरिसकेको छ । यसबाट आर्थिक गतिविधि बढ्न थालेको पाइएको छ । 

बढ्न थाल्यो कर्जा 

आर्थिक गतिविधि शिथिल भएसँगै गत वर्षदेखि नकारात्मक भएको बैंकहरुको निक्षेप तथा कर्जा लगानी बढ्न थालेको छ । बैंकहरुको आधारदरसँगै ब्याजदर घट्दो क्रममा देखिएको छ । चालू आर्थिक वर्षको असोजसम्ममा बैंक, वित्तीय संस्थामा रहेको निक्षेप २ दशमलव ८ प्रतिशत र कर्जा प्रवाह २ दशमलव ३ प्रतिशतले बढेको छ । गत आवको यही अवधिमा निक्षेप ० दशमलव ४ प्रतिशत र कर्जा १ दशमलव ३ प्रतिशतले बढेको थियो । बैंकहरुको आधारदरसँगै निक्षेप र कर्जाको ब्याजदर पनि घट्न थालेको छ । तरलताको अवस्था सहज भएपछि बैंकहरुले ब्याजदर तथा प्रिमियम घटाएर भए पनि कर्जा प्रवाह बढाउन थालेका छन् । 

विप्रेषण हालसम्मकै उच्च 

राष्ट्र बैंकका अनुसार असोजमा १ खर्ब ३६ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो एकै महीनामा भित्रिएको हालसम्मकै उच्च विप्रेषण हो । चालू आवको असोजसम्ममा विप्रेषण आप्रवाह ३० प्रतिशतले वृद्धि भई ३ खर्ब ६५ अर्ब ३४ करोड पुगेको छ । गत आवको असोजसम्ममा विप्रेषण २ खर्ब ८१ अर्ब ५ करोड भित्रिएको थियो । यसैगरी चालू आवको असोजसम्ममा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २५ दशमलव ९ प्रतिशतले वृद्धि भई २ अर्ब ७६ करोड पुगेको छ । अघिल्लो वर्षको पहिलो त्रैमासमा यो ७ दशमलव ९ प्रतिशतले बढेको थियो । 

कोभिड–१९ महामारीपछि वैदेशिक रोजगारीमा जानेको संख्या वृद्धि र औपचारिक च्यानलबाट पैसा पठाउन प्रोत्साहन गर्ने सरकारको नीतिका कारण रेमिट्यान्समा सकारात्मक प्रभाव परेको छ । सरकारले औपचारिक रुपमा प्राप्त हुने रेमिट्यान्सलाई बैंकमा राख्दा एक प्रतिशत विन्दु थप ब्याज प्रदान गर्नुका साथै विप्रेषण पठाउनेलाई पब्लिक कम्पनीले जारी गर्ने साधारण शेयर निष्कासनमा आरक्षण दिएर प्रोत्साहन गर्दै आएको छ । 

शोधनान्तर र विदेशी मुद्रा सञ्चिति उच्च 

चालू आवको असोजसम्ममा देशको शोधनान्तर स्थिति ९९ अर्ब ७ करोडले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १२ अर्ब ४३ करोडले बचतमा थियो । यसैगरी अमेरिकी डलरमा अघिल्लो वर्षको असोजसम्ममा ९ करोड १८ लाखले बचतमा रहेको शोधनान्तर स्थिति चालू आवको असोजसम्ममा ७४ करोड ७२ लाखले बचतमा छ ।

शोधनान्तर बचत उच्च हुँदा विदेशी मुद्राको सञ्चिति पनि हालसम्मकै उच्च भएको छ । २०८० असारसम्ममा १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ६ दशमलव ७ प्रतिशतले वृद्धि भई असोजसम्ममा १६ खर्ब ४३ अर्ब ९ करोड रुपैयाँ कायम भएको छ । अमेरिकी डलरमा सञ्चिति २०८० असारमा ११ अर्ब ७१ करोड रहेकोमा असोजमा ५ दशमलव ३ प्रतिशतले वृद्धि भई १२ अर्ब ३३ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ । विदेशी मुद्राको सञ्चिति बढ्दा वस्तु तथा सेवाको आयात धान्ने क्षमता पनि बलियो भएको छ । आर्थिक वर्ष २०८०/८१ को तीन महीनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १२ दशमलव ४ महीनाको वस्तु आयात र १० दशमलव ३ महीनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ । 

मूल्य वृद्धिदर घट्दै 

अर्थतन्त्रका सूचकहरु सबल भएसँगै मूल्यवृद्धिको अवस्था पनि केही सहज देखिएको छ । चालू आवको असोजमा उपभोक्ता मूल्य वृद्धिदर ७ दशमलव ५० प्रतिशत कायम भएको छ । गत आवको असोजमा मूल्य वृद्धिदर ८ दशमलव ५० प्रतिशत थियो । यसैगरी चालू आवको भदौमा मूल्य वृद्धिदर ८ दशमलव १९ प्रतिशत कायम भएको थियो । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)