काठमाडौं। पछिल्लो समय नयाँनयाँ होटेल थपिने क्रम बढेको तर पाहुनाको आमगन त्यसअनुसार नहुँदा यो व्यवसाय घाटामा चलिरहेको व्यवसायीले बताएका छन् । पर्यटक आगमन र सम्बद्ध गतिविधि बढे पनि होटेल व्यवसाय क्षमताको एक तिहाइ अकुपेन्सीमा सञ्चालन भएको व्यवसायीको दाबी छ ।
होटेल एशोसिएशन नेपाल (हान)का अध्यक्ष विनायक शाहले होटेल व्यवसायमा मागभन्दा आपूर्ति बढी हुँदा घाटामा चलाउनुपरेको बताए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीसँग भेटका क्रममा उनले यस्तो जानकारी गराएका हुन् । विदेशी पर्यटक नेपाल भ्रमणका लागि लालायित र सोधपुछ बढिरहेको भन्दै शाहले थपे, ‘तर, राजमार्ग तथा सडक, हवाई सञ्जाल र यातायातमा रहेको कठिनाइका कारण नेपाल आउने पर्यटक अन्यत्रै जाने गरेका छन् ।’ नयाँ क्षेत्रीय विमानस्थल पोखरा र भैरहवालाई पूर्ण रूपमा सञ्चालनमा ल्याउन सके मुलुकले पर्यटनबाट छिट्टै फड्को मार्न सक्ने उनले बताए । छिमेकी मुलुक चीन र भारत जोड्ने सडक सञ्जालमात्र तयार गर्न सके पनि पर्यटक आगमनको चाप बढ्ने सक्ने भन्दै उनले यी पक्षमा राज्यले छिट्टै ध्यान दिनुपर्नेमा जोड दिए । नेपाल पर्यटन बोर्ड र नेपाल वायुसेवा निगमलाई सशक्त र प्रभावकारी ढंगबाट अन्तरराष्ट्रिय जगतमा मुलुकको पर्यटन प्रवर्द्धनमा सक्रिय बनाउन पनि हानले जोड दिएको छ ।
भेटका अनवसरमा मन्त्री किराँतीले पर्यटक आगमन सन्तोषजनक भएको बताए । अन्तरराष्ट्रिय जगतमा नेपालबारे राम्रो सन्देश प्रवाह भएको बताउँदै उनले मुलुकलाई समृद्ध बनाउन पर्यटनलाई चलायमान बनाउनुपर्नेमा जोड दिए । हवाई सञ्जालसमेत विस्तार गरिने र यसबारेमा सम्बद्ध निकायमा पहलकदमी भइरहेको उनको भनाइ छ । मुलुकको अर्थतन्त्र सुधारका लागि प्रधानमन्त्रीको नेतृत्वमा समिति गठन भई छलफल भइरहेको भन्दै उनले पर्यटन दशकका लागिसमेत गृहकार्य शुरू भइसकेको बताए ।
पर्यटन बोर्ड सम्बन्धमा सार्वजनिक–निजी–साझेदारीको संरचनाका लागि गठित कार्यदलले प्रतिवेदन बुझाएको हुँदा त्यसको कार्यान्वयन गर्न व्यवसायीले आग्रह गरे । मुलुकको पर्यटनसम्बन्धी नीति नियमलाई सहजीकरण गर्दै लगानीमैत्री तथा पर्यटनमैत्री बनाउन आग्रह गरिएको छ । हाल संशोधनको क्रममा रहेको क्यासिनो नियमावलीलाई व्यवस्थित र प्रभावकारी बनाई क्यासिनो सञ्चालनमा सहजीकरण गरिनुपर्नेमा पनि व्यवसायीले जोड दिए ।