काठमाडौं। एशियाली तथा पश्चिम प्रशान्त क्षेत्रका मुलुकका निर्माण व्यवसायीको छाता संस्था इन्टरनेसनल फेडेरेशन अफ एसियन एण्ड वेस्टर्न प्यासिफिक कन्ट्र्याक्टर्स एसोसिएसन (इफाप्का)को सम्मेलन काठमाडौंमा शुरू भएको छ । बुधवार सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले प्राकृतिक विपद्सँग जुध्ने भौतिक संरचना बनाउन विशेष सतर्कता जरुरी रहेको बताउनुभएको छ ।
सम्मेलनमा जलवायु परिवर्तनका कारण बढ्दै गएको प्राकृतिक विपत्तिसँग जुध्न भौतिक पूर्वाधारको क्षेत्रमा लागेकाहरूले विशेष सतर्कता अपनाउनुपर्ने खाँचो राष्ट्रपति पौडेलले औंल्याउनुभएको हो । भौतिक पूर्वाधारको विकाससँगै यससँग सम्बन्धित अन्य पक्षहरूलाई पनि ध्यान दिनुपर्ने उहाँले बताउनुभयो । इफाप्कामा आबद्ध मुलुकले जलवायु परिवर्तनसँगै प्राकृतिक विपत्तिको सामना गरिरहेको भन्दै उहाँले यो विषयलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय मञ्चहरूमा प्राथमिकताका साथ उठान गर्न सुझाउनुभयो ।
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले नेपालमा लगानीको प्रशस्त सम्भावना रहेको भन्दै लगानी बढाउन इफाप्कामा आबद्ध मुलुकका प्रतिनिधिलाई आग्रह गरे ।
‘पृथ्वी रहे मात्र हामी रहन्छौं’ भन्ने मान्यता आत्मसात् गर्दै प्रकृतिमैत्री दिगो पूर्वाधार निर्माणका लागि राष्ट्रपति पौडेलले सम्बन्धित सबैको ध्यानाकर्षण गराउनुभएको छ । पछिल्लो समय समग्र विश्व नै आर्थिक संकटबाट गुज्रिरहेको भन्दै उहाँले विश्व अर्थतन्त्रलाई चलायमान बनाउन निर्माण व्यवसायीको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो ।
सम्मेलनमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले निर्माण उद्योगसँग सम्बन्धित समसामयिक विषयमा उक्त सम्मेलनमा महत्त्वपूर्ण छलफल हुने विश्वास व्यक्त गरे । सदस्य राष्ट्रहरूबीचको सम्बन्ध विस्तारमा इफाप्काको भूमिका प्रशंसनीय रहेको मन्त्री ज्वालाले बताए । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले नेपालमा लगानीको प्रशस्त सम्भावना रहेको भन्दै लगानी बढाउन इफाप्कामा आबद्ध मुलुकका प्रतिनिधिलाई आग्रह गरे ।
नेपालको पश्चिमी क्षेत्रमा हालै आएको विनाशकारी भूकम्पमा परेकाहरूलाई आवश्यक सहयोग गर्न महासंघ तयार रहेको पनि उनको भनाइ छ । शनिवारसम्म चल्ने सम्मेलनका विभिन्न सत्रमा इफाप्का पदाधिकारीहरूसहित पूर्वाधारविद् तथा सरोकारवालाबीच निर्माण उद्योगका विविध पाटोबारे छलफल समेत हुनेछ ।
‘दिगो पूर्वाधारमा साझेदारी’ नारासहित शुरू भएको सम्मेलनको पहिलो दिन विदेशका २४० सहित ४५० भन्दा बढीको सहभागिता थियो । नेपालले यसअघि सन् १९९९ मा ३०औं इफाप्का सम्मेलन आयोजना गरेको थियो ।