काठमाडौं। नेपालका लागि बीवाईडी अटो इन्डष्ट्रिज कम्पनी लिमिटेडको अधिकृत वितरक साइमेक्स इन्क प्रालिले जाजरकोट र रुकुम पूर्वका भूकम्प प्रभावितको सहयोगार्थ ‘भूकम्प सहायता कोष’ स्थापना गरेको छ । प्रभावितको सहयोगको लागि ग्राहकसँगको सहकार्यमा सहायता कोष शुरू गरिएको बताइएको छ, जसअन्तर्गत हरेक बीवाईडी डल्फिन बुक गरेमा १० हजार रुपैयाँ र बीवाईडी एट्टो ३ बुक गरेमा २० हजार रुपैयाँ कम्पनीको सहायता कोषमा जम्मा हुने बताइएको छ । यो योजना मङ्सिर २३ गतेसम्म लागू हुनेछ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठले अग्रिम बुकिङ गरी भूकम्प सहायता कोषमा योगदान गरेका ग्राहकको नाम, सामाजिक सञ्जाल र दैनिक पत्रिकामा प्रकाशित गर्ने बताए । कम्पनीले यसअघि ११ लाख रुपैयाँको सहयोग सानीभेरी गाउँपालिकाका भूकम्प प्रभावितका लागि प्रदान गरेको बताएको छ । कम्पनीका अध्यक्ष अनिल श्रेष्ठले प्रभावितहरूको सहयोगमा योगदान र पुनर्निर्माण प्रक्रियामा साथ र समर्थन सबैको जिम्मेवारी भएको बताए ।