काठमाडौं । चालू आर्थिक वर्ष (आव)को ४ महीनामा मुलुकको कुल व्यापार घाटा साढे ४ खर्ब रुपैयाँमाथि पुगेको छ ।
भन्सार विभागका अनुसार गत कात्तिक मसान्तसम्म व्यापार घाटा ४ खर्ब ६१ अर्ब ९३ करोड ८० लाख रुपैयाँ बराबर छ । गत आवको सोही अवधिको तुलनामा चालू आवमा व्यापार घाटा ३ दशमलव ३४ प्रतिशतले घटेको हो । विभागका अनुसार गत आवमा व्यापार घाटा ४ खर्ब ७७ अर्ब ९१ करोड रुपैयाँ बराबर थियो ।
चालू आर्थिक वर्षको ४ महीनामा देशको कुल व्यापार भने ५ खर्ब ६३ अर्ब ६ करोड ८८ लाख रुपैयाँ बराबर भएको विभागले जानकारी दिएको छ । आर्थिक वर्ष २०७९/८० को तुलनामा चालू आवको ४ महीनामा कुल व्यापार ४ दशमलव १५ प्रतिशतले घटेको हो । गत आवको सोही अवधिमा कुल ४ खर्ब ७७ अर्ब ९१ करोड रुपैयाँ बराबरको व्यापार भएको थियो ।
गत आवको सोही अवधिमा ५ खर्ब ३२ अर्ब ६९ करोड बराबरको वस्तु आयात भएकामा चालू आवको सोही अवधिमा ३ दशमलव ७९ प्रतिशतले कमी आई ५ खर्ब १२ करोड रुपैयाँ बराबरको मालसामान मात्रै आयात भएको छ ।
यस्तै, गत आवको ४ महीनामा ५४ अर्ब ७७ करोड रुपैयाँ बराबरको मालवस्तु निर्यात भएकामा चालू आवको ४ महीनामा ७ दशमलव ६८ प्रतिशतले ओरालो लागेर ५० अर्ब ५६ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको हो ।