चितवन। विद्यार्थी गुणीय चक्रको १७औं राष्ट्रिय सम्मेलन सौराहामा हुने भएको छ । क्वेष्ट नेपालको आयोजना र स्मल हेवनको संयोजनमा आजदेखि सम्मेलन हुन लागेको हो । सामाजिक, शिष्ट र अग्रगामी विद्यार्थी उत्पादन गर्ने उद्देश्यसहित सम्मेलन गर्न लागिएको बताइएको छ ।
आइतवारसम्म चल्ने सम्मेलनमा विद्यार्थी, पर्यवेक्षक, शिक्षक तथा शिक्षाविद् गरी देशभरबाट ६०० जनाको सहभागिता रहने आयोजकको भनाइ छ । विद्यार्थी गुणीय चक्र विश्वका २५ भन्दा बढी देशमा प्रयोगमा आएको शैक्षिक कार्यक्रम रहेको बताइएको छ ।
सम्मेलनमा प्यानल डिस्कसन, हाजिरीजवाफ, संरक्षणसम्बन्धी कार्यशाला, प्रतिवेदन प्रस्तुत, सांस्कृतिक आदानप्रदान, कथा लेखनलगायतका कार्यक्रम गरिने क्वेष्ट नेपालका अध्यक्ष सुरिना सुनयनी गुरुङले जानकारी दिइन् । सो अवसरमा नेपालको पूर्वदेखि पश्चिमसम्मका २१ ओटा हब सम्मेलनबाट छानिएका ५०० विद्यार्थी प्रतिनिधिले गुणीय चक्रमा सहभागी भई गरेको घटना अध्ययनको प्रस्तुतीकरण रहने उनको भनाइ छ ।