म्याग्दी । नवौँ राष्ट्रिय उद्योग दिवसका अवसरमा आज म्याग्दीमा उद्यामीलाई पुरस्कृत गरिएको छ । जिल्लास्थित पर्यटन तथा उद्योग कार्यालयले बुटिक व्यवसायी चन्द्रा घले र बाख्रापालक कृषक धनबहादुर श्रीसलाई नगद रू ५/५ हजारसहित पुरस्कृत गरेको हो ।
बेनी नगरपालिका–३ भकिम्ली डाँडाखानीका श्रीसले वैदेशिक रोजगारीबाट फर्किएपछि व्यावसायिक रुपमा बोयर जातको बाख्राको स्रोत केन्द्र सञ्चालन गरेका छन । बेनी–४ की घलेले बेनीको गणेश टोलमा बुटिक सेन्टर सञ्चालन गरेकी छन् । कराँते, भलिबलको रेफ्रि तथा खेलाडीसमेत रहेकी घलेले विद्यालयका छात्रालाई आत्मरक्षा तालिम र खानाको परिकार बनाउने तालिम पनि दिंदै आएकी छन् ।
सोही अवसरमा चालु आर्थिक वर्षको प्रविधि हस्तान्तरण कार्यक्रममार्फत रू ९ लाख ७१ हजार मूल्य बराबरको सामग्री खरिदका लागि छनोट भएका १२ उद्यमीको नाम सार्वजनिक गरिएको थियो । उनीहरुले उपकरण खरिदमा कूल लागतको ५० प्रतिशत अनुदान पाउने कार्यालयले जनाएको छ ।
कार्यक्रममा बेनी बेनी नगरपालिकाका प्रमुख सुरत केसीले चालु आवदेखि पशुपालक कृषकलाई उत्पादनका आधारमा अनुदान दिने तयारी गरेको जानकारी दिँदै विभिन्न निकायले अनुदानमा नगरवासीलाई वितरण गरेका उपकरण, औजार र सामग्रीको प्रयोगको अवस्थाका विषयमा अध्ययन थालिएको बताए ।
जिल्ला समन्वय समितिका प्रमुख थापाले उद्योग दिवस मनाउने बजेट प्राप्त नभए पनि अन्य स्रोतमार्फत उद्यमीलाई प्रोत्साहन गरेर पुरस्कृत गरिएको बताए ।
प्रविधि हस्तान्तरण कार्यक्रमअन्तर्गत बेनी–८ को सिर्जना मःम रेष्टुरेन्ट एण्ड होटल, मालिका–७ को विषम कृषि तथा पशुपक्षी फार्म, मालिका–३ को विशाल टेलरिङ सेन्टर, बेनपा–७ को समतारा फर्निचर उद्योग, बेनपा–६ को विनय फर्निचर उद्योग, बेनपा–५ को संस्कार एण्ड एसीका कुखुरापालन फार्म, बेनपा–८ को मगर टेलरिङ सेन्टर, बेनपा–८ को रेनु टेलरिङ सेन्टर, बेनपा–८ को अस्मिता टेलरिङ सेन्टर, बेनपा–७ को रोशन टेलरिङ र अर्विन टेलरिङ सेन्टर अनुदानका लागि छनोट गरिएको पर्यटन तथा उद्योग कार्यालयका प्रमुख पोषानाथ शर्माले जानकारी दिए ।