चितवन । भरतपुर महानगरपालिकाले जिपिएस ( ग्लोबल पोजिसन सिष्टम) प्रणाली लागु गर्न तथ्यांक संकलनको प्रक्रिया शुरु गरेको छ ।
वडाको प्रोफाइललार्ई एपको माध्यमबाट डिजीटलाईजेशन गर्ने उद्धेश्यले भरतपुर महानगरपालिका वडा नम्बर २ बाट यो कामको प्रक्रिया चितवनमै पहिलोपटक शुरु गरिएको हो । कार्यालयले डिजीसफ्ट डेभलपर्सको प्राविधिक सहयोगमा शुक्रबार तथ्यांक संकलकलाई अभिमुखिकरण दिइएको अध्यक्ष मनोज रानाभाटले दिए ।
‘यस प्रणालीबाट वडाको आर्थिक, सामाजिक, शिक्षा, स्वास्थ्य लगायत पूर्वाधारको जानकारी हुनुका साथै वडाको योजना निर्माण तथा समस्या पहिचानमा समेत टेवा पुग्नेछ ।’ अध्यक्ष रानाभाटले भने । प्रोफाईलमा जिपिएस सिष्टम लागु भएपछि हरेक घरको ठेगाना मोबाइलबाट नै थाहापाउन सकिने छ । एपबाट प्रोफाईलमा घरमुलीको नाम, फोटो र घरको फोटो समेत राखिनेछ ।
‘हरेक काम डिजिटलको माध्यमबाट गर्ने हाम्रो चाहना छ, यही उद्देश्यले पहिला डिजिटलबाट वडाको प्रोफाइल तयार गर्न लागिएको हो’, वडाध्यक्ष रानाभाटले भने, ‘प्रोफाइल तयार पार्न तथ्यांक संकलनकर्ता घरघरै जानुहुन्छ, मोबाइलमा एपको प्रयोगबाट हरेक वडावासीको सम्पूर्ण विवरण लिनुहुन्छ ।’तथ्यांक संकलनका लागि करिब ५० जना संकलनकर्ताहरु आईतबारबाटनै फिल्डमा खटाउन लागिएको उनले बताए ।
‘एक महिनामा हामीले वडाको प्रोफाइल डिजिटलको माध्यमबाट तयार पार्ने लक्ष्य लिएका छौँ, अब प्रत्येक वडावासीको प्रोफाइल वडा कार्यालयमा रहने छ’, वडाध्यक्ष रानाभाटले भने, ‘६० भन्दा बढी प्रश्नको उत्तर संकलनकर्ताले लिनेछन्, घरका सबै सदस्यको विवरण र जिएएस सिष्टमलाई पनि एपबाट समावेश गरिने छ,।
अध्यक्ष रानाभाटले भने । डिजीसफ्टका प्रबन्ध निर्देशक बुद्धि डंगोलले देशभरीका ३० वटा पालिकामा यो एपबाट प्रोफाइल तयार पारिएको भन्दै पहिलो पटक चितवनमा भरतपुर महानगरपालिकाबाट शुरु गर्न लागिएको हो । भरतपुर महानगरपालिका देशकै केन्द्र र विकसित पालिका मध्ये पर्छ, उनले भने, हामीलाई यहांँबाट पटक पटक अफर मार्फत वडा नम्बर २ बाट शुरु गर्न लागेका हौं ।
उनका अनुसार कम्पनीले भरतपुरका अन्य वडाको लागि सम्झौता गर्न लागिएको र नवलपुरको गैंडाकोटमा पनि छिट्टैनै काम शुरु गर्नेछ । एप्सबाट वडालाई जुनुसुकै काम गर्न सहज हुने र कसैलाई पनि तथ्यांकबाट अध्ययन अनुसन्धान सहजै गर्न सक्नेछन । एप्समा हरेक घर परिवारको व्यक्तिगत तथा सम्पत्तिको विवरण लगायतका सूचकलाई गोप्यता कायम गरिएको उनले बताए ।
प्रत्येक वडावासीको विवरण दुरूस्त तत्काल थाहा पाउन, डेटा अपडेट र बजेट विनियोजनका लागि सजिलो बनाउन, सहजै तुरून्तै र प्रभावकारी सेवा प्रदान गर्न, खर्च र समय बचतको लागि पनि टेवा पुग्नेछ ।
वडा प्रोफाइलका लागि प्रत्येक टोलबाट दुई जना गणकहरु खटाइने वडा कार्यालयले जनाएको छ । वडामा १८ वटा टोल विकास संस्था छन भने हाल यहांँ पांँच हजार दुईसय घरधुरी रहेका छन ।