ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

१४ देशका माउन्टेन बाइकर नेपालमा

२०८० मंसिर, १०  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। नेपालमा पर्यटकीय सिजन शुरू भएसँगै पर्यटकीय गतिविधि र यससँग सम्बन्धित प्रतिस्पर्धाहरू पनि आयोजना हुन थालेका छन् । त्यसक्रममा नेपालमा १४ देशका माउन्टेन बाइकरहरूले ‘अन्तरराष्ट्रिय माउन्टेन बाइकिङ प्रतिस्पर्धा’ गर्दै छन् । नेपाल आएका ती बाइकरहरूको समेत सहभागितामा दोलखा जिल्लाको भिमेश्वर नगरपालिकामा पर्ने ३० किलोमिटरको ट्रेलमा प्रतिस्पर्धा हुनेछ ।

मङ्सिर ११ गते सोमवारदेखि बुधवारसम्म प्रतिस्पर्धाको कार्यक्रम छ । यसमा विश्वचर्चित माउन्टेन बाइक राइडर किलियन ब्रोनको समेत सहभागिता रहनेछ । नेपालमा साहसिक पर्यटनका अनेक विधामध्ये पहिलोपटक अन्तरराष्ट्रिय माउन्टेन बाइकिङ प्रतिस्पर्धा गर्न लागिएको हो । 

प्रतिस्पर्धा नेपाल पर्यटन बोर्ड र भिमेश्वर नगरपालिकाले आयोजना गर्न लागेका हुन् । यसमा निजीक्षेत्रका विभिन्न कम्पनीको सहयोग रहेको छ । पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) धनञ्जय रेग्मीले साहसिक गतिविधि र प्रडक्टमा नेपाल अग्रस्थानमा रहेको भन्दै नेपालले केही देशका अभ्यासहरू पनि अनुसरण गरेको बताए ।

‘साहसिक गतिविधिका विधालाई प्रवर्द्धन, प्रचार गर्ने क्रममा अहिले बोर्डले माउन्टेन बाइकिङलाई पनि सघाएको छ,’ रेग्मीले भने, ‘यसलाई प्रवर्द्धन गर्ने नीति लिइएकोले यो आउँदा वर्षहरूमा पनि गरिनुपर्छ, बोर्डले सघाउनेछ ।’

भिमेश्वर नगरपालिकाका मेयर ईश्वरनारायण मानन्धरले गतवर्ष ४० जनाले बाइकिङ रेस शुरू गरेको बताए । अहिले अन्तरराष्ट्रिय बाइकरहरूलाई ल्याएर निजीक्षेत्रका कम्पनीसँगको सहकार्यमा टुर्नामेन्ट नै गर्न लागिएको उनको भनाइ छ । ‘उच्च भूभागमा रहेको यो ट्रेलबाट भिमेश्वर, दोलखामात्रै नभई सिंगो मुलुकको साहसिक पर्यटनको प्रचार गर्ने लक्ष्य राखिएको छ,’ मानन्धरले भने, ‘यो प्रतिस्पर्धा र ट्रेलमा पर्यटक ल्याउने तयारी डेढ वर्षदेखि गरिएको थियो ।’

प्रतिस्पर्धाको सहजीकरण गरिरहेको कम्पनी यती ओरिजिनल्स प्र्र्रालिका निर्देशक शान्तु श्रेष्ठले प्रतिस्पर्धाका लागि १० दिनदेखि नेपालको डोल्पामा रहेका विश्वचर्चित माउन्टेन बाइक राइडर किलियन ब्रोन पनि आउने भएकाले थप उत्साहित भएको बताए । उनले एन्डोराका ब्रोनसहित १४ देशका राइडरले प्रतिस्पर्धामा भाग लिने बताए । ब्रोनसहित भारतबाट ४ जना, फ्रान्सबाट ३, डेनमार्कबाट २ जना, अमेरिकाबाट २ जना, क्यानडा र मेक्सिकोबाट १/१ जना, भुटान र इन्डोनेसियाका २/२ जनालगायत अन्य देशका पनि राइडर रहेको उनले जानकारी दिए । यो एशियामै पहिलोपटक यति ठूलो संख्यामा बाइकर समेटेर प्रतिस्पर्धा हुन लागेको उनको दाबी छ । पुरानो हिँड्ने बाटोलाई व्यवस्थापन गरी ट्रेल बनाइएको श्रेष्ठले बताए । ठूलो कार्यक्रम आयोजना गरिएको भन्दै उनले अबको योजना सुर्खेत जाने रहेका बताए ।

यसपटक प्रतिस्पर्धामा ७० प्रतिशत नेपाली हुनेछन् । यस्तो जनशक्ति नेपालमा सीमित छ, यहाँ ३/४ हजार बाइक राइडर रहेको उनले बताए । माउन्टेन बाइक महँगो पर्छ । एउटा यस्तो बाइक किन्न न्यूनतम ५ लाख रूपैयाँ लाग्छ । ‘नेपालमा सम्भावना छ, तर स्रोत कम छ,’ उनले भने, ‘बैंकहरूले माउन्टेन बाइकलाई पनि वित्तीय सहयोग गरिदिए सहज हुन्छ ।’ 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)