ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मन्त्रीदेखि उद्योगीसम्मको गुनासो : मन्त्रालयको भूमिका नै प्रभावकारी भएन

२०८० मंसिर, १०  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। सरकारले हरेक वर्षको मङ्सिर ९ गते मनाउँदै आएको उद्योग दिवस शनिवार मनाएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आयोजना गरेको कार्यक्रममा उद्योगमन्त्री स्वयं र उद्योगी व्यवसायीका छाता संगठनका अध्यक्षहरूले उद्योग मन्त्रालयको भूमिका प्रभावकारी नभएको टिप्पणी गरे ।

कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले भने, ‘उद्योग दिवसमा प्रधानमन्त्री, अर्थमन्त्रीसहित अन्य सम्बन्धित मन्त्रालयका मन्त्रीहरूको सहभागितामा छलफल हुनुपर्ने थियो । उद्योगीको अभिभावक मन्त्रालयका काम र जिम्मेवारी नै अन्य मन्त्रालयले लगे । जस्तै लगानी सम्मेलन वैशाखमा हुँदैछ । त्यसको जिम्मेवारी अहिले मन्त्रालयले लिन सकेन । अर्थ मन्त्रालय र अन्य निकायमा गएको छ, मन्त्रालयले काम गर्न नसकेको पक्कै हो ।’

उनले ‘देश बनाउने राजनीतिकर्मी र कर्मचारीले होइन, उद्योगी व्यापारीले हो’ भने । मन्त्री रिजालले उद्योगी व्यवसायी अपहेलित हुँदा पछिल्लो पुस्तालाई मुलुकमा राख्नै कठिन भएको बताए । अहिलेको मन्दीले व्यवसायमा समस्या भए पनि त्यसको समाधान गरेर मुलुकको समृद्धिका लागि काम गरिने उनको भनाइ छ । ‘अहिलेको अवस्थामा लगानी गर्दा डुब्छ भन्ने मनोभावना नराखौं,’ रिजालले भने, ‘घरेलु उद्योगलाई संरक्षण गर्न बाह्य लगानीलाई रेड फ्ल्याग देखाउने कुरा भने हुँदैन, बजार खोज्नुहोस्, सरकारले सहजीकरण गर्छ ।’

‘स्वदेशी उत्पादन अभियान: उद्यमीको सम्मान’ नारासहित आयोजित कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्योगी व्यवसायीको मर्यादाक्रम नै नभएको र व्यवसायीलाई अन्तिम सूचीमा पनि नराखिएको गुनासो गरे । अर्थतन्त्रमा ८०/८१ प्रतिशत योगदान दिएको निजीक्षेत्र तथा उद्योग व्यवसायको अभिभावक मन्त्रालय कुनै राजनीतिक दलको रोजाइमा पर्न नसकेको भन्दै उनले थपे, ‘मन्त्रालय राजनीतिक दलको प्राथमिकतामै परेन भने उद्योगसँग सम्बन्धित ऐन, कानूनहरू अन्य मन्त्रालय र निकायका नीति नियमले काटिएका छन् ।’ अर्थतन्त्रका सूचक राम्रो हुँदै गर्दा अब उद्योगी व्यवसायीको मनोबल बढाउने खालका नीति तथा कार्यक्रममा काम गर्न सरकारले ढिलो गर्न नहुने ढकालको भनाइ छ । 

नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले अहिलेको अर्थतन्त्र सुधार हुनेमा विश्वस्त रहेको बताए । औद्योगिक ऐन, नीतिहरू पुराना भएको तथा चौथो र पाँचौं पुस्ताको उद्योगको लागि पर्याप्त नभएको भन्दै अग्रवालले ती नीति नियममा सुधार र पुनरवलोकनको आवश्यकता औंल्याए । दशकौंदेखि नयाँ औद्योगिक क्षेत्र नथपिएको स्मरण गर्दै अग्रवालले भने, ‘दुईओटा आर्थिक वर्षको बजेटबाट औद्योगिक क्षेत्र निजीक्षेत्रलाई चलाउन दिने भनियो तर त्यो बुँदा कार्यान्वयनमा आएन ।’

महिला उद्यमी महासंघ नेपालका अध्यक्ष शोभा ज्ञवालीले साना तथा घरेलु उद्यमहरू अर्थतन्त्रको मुख्य पूँजी भएकाले ती उद्योगका लागि सरकारले प्रोत्साहनको नीति ल्याउनुपर्नेमा जोड दिइन् । सरकारले स्वदेशी उत्पादन नै प्रयोग गर्ने अवस्था सृजना गर्नुपर्ने र त्यस्ता उद्योगलाई प्रोत्साहन गर्नुपर्ने ज्ञवालीले बताइन् । सो अवसरमा लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले लगानीका लागि आकर्षक गन्तव्य नेपाल भए पनि ऐन, औद्योगिक पूर्वाधार, यातायातमा सहजीकरण जस्ता पक्षमा काम गर्न बाँकी रहेको बताए । राष्ट्रिय लगानी सम्मेलन आउँदो वैशाख ९ र १० गते आयोजना गरिने निर्णय भएको पनि उनले बताए । निजीक्षेत्रसँगै सहकार्य गरेर गैरऊर्जामूलक योजनामा सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमा काम गरिने उनको भनाइ थियो । उद्योग सचिव नारायणप्रसाद दुवाडीले स्वदेशी उत्पादन र उपभोग बढाउने मै काम गरिरहेको बताए । निजीक्षेत्र मित्र भएको भन्दै उनले सरकारको सोचमै परिवर्तन आइसकेको दाबी गरे । सरकारले उद्यमीलाई सहजीकरण गरेर अघि बढ्ने दुवाडीको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)