काठमाडौं । आर्थिक गतिविधिमा आएको शिथिलतासँगै बैंक, वित्तीय संस्थामा खराब कर्जा बढ्दो क्रममा देखिएको छ । आर्थिक गतिविधिमा आएको कमीसँगै बैंकको ऋण नतिर्ने भन्दै शुरू भएको आन्दोलन समेतका कारण असुली प्रभावित भएपछि खराब कर्जा बढेको हो ।
नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको ताजा तथ्यांकअनुसार चालू आर्थिक वर्ष (आव) को असोजमा बैंक, वित्तीय संस्थाको औसत खराब कर्जा ३ दशमलव ६६ प्रतिशत पुगेको छ । यस अवधिमा खराब कर्जा वाणिज्य बैंकको ३ दशमलव ६१, विकास बैंकको ३ दशमलव १९ र फाइनान्स कम्पनीको ८ दशमलव ३७ प्रतिशत पुगेको छ ।
चालू आवको साउनमा बैंक, वित्तीय संस्थाको औसत खराब कर्जा ३ दशमलव शून्य २ प्रतिशत थियो । साउनमा वाणिज्य बैंकहरूमा २ दशमलव ९८, विकास बैंकहरूमा २ दशमलव ४९ र फाइनान्स कम्पनीमा ७ दशमलव ६० प्रतिशत खराब कर्जा थियो ।
आर्थिक गतिविधिमा आएको कमी र विगतमा दिएको छूट एकैपटक प्रोभिजन गर्दा खराब कर्जा बढेको हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले बताए । ‘कोभिडको समयमा दिएको छूट र अहिले आर्थिक गतिविधिमा कमी आउँदा असुली कमजोर भएको असर खराब कर्जामा देखिएको छ,’ उनले भने, ‘अब योभन्दा माथि नजान सक्छ ।’ पछिल्लो समय लघुवित्तलगायत बैंकको ऋण नतिर्ने भन्दै आन्दोलन हुन थालेपछि बैंकहरूको ऋण असुली प्रभावित हुन थालेको उनले बताए ।
खराब कर्जा बढेसँगै चालू आवको पहिलो त्रैमासमा अधिकांश बैंक, वित्तीय संस्थाको नाफा घटेको छ । उनीहरूको लाभांश वितरण क्षमता पनि घटेको छ ।
राष्ट्र बैंकका अनुसार असोजसम्ममा बैंक, वित्तीय संस्थामा खातावालको संख्या ५ करोड २७ लाख पुगेको छ । यसमध्ये बैंकबाट ऋण लिनेको संख्या १८ लाख ५४ हजार पुगेको छ ।
साउनको तुलनामा असोजमा बैंकमा ९ लाख ७६ हजार खातावाल थपिएका छन् । ऋणीको संख्या पनि ५ हजार ७६६ जनाले बढेको छ । असोजसम्म मोबाइल बैंकिङका २ करोड २२ लाख र इन्टरनेट बैंकिङका १६ लाख २५ हजार ग्राहक पुगेका छन् ।
यसै गरी असोजमा निक्षेप तथा कर्जाको ब्याजदर सस्तो भएको छ । असोजमा निक्षेपको औसत ब्याजदर ७ दशमलव ९० प्रतिशत र कर्जाको ब्याजदर १२ दशमलव ११ प्रतिशत कायम भएको राष्ट्र बैंकले जानकारी दिएको छ । साउनमा निक्षेपको ब्याजदर ८ प्रतिशत र कर्जाको १२ दशमलव २४ प्रतिशत कायम भएको पनि उसले बताएको छ ।