काठमाडौं। राष्ट्रिय व्यावसायिक पहल (एनबीआई)को चौथो ‘जिम्मेवार व्यवसाय सम्मेलन’ मङ्सिर २१ र २२ गते काठमाडौंमा हुने भएको छ । सम्मेलनमा बदलिँदो परिस्थिति र उदीयमान नवआयामको परिप्रेक्ष्यमा जिम्मेवारपूर्ण ढंगले के कसरी अघि बढ्न सकिन्छ भन्ने सम्बन्धमा समाज, वातावरण तथा अर्थतन्त्र गरी ३ विधाका ११ ओटा विषयमा विभिन्न प्रस्तुतिमार्फत छलफल गरिने बताइएको छ ।
समाज विधाअन्तर्गत आधुनिक दासत्व तथा मानव बेचबिखन, व्यावसायिक आचारसंहिता र संस्थागत सामाजिक उत्तरदायित्व, व्यावसायिक स्वास्थ्य तथा सुरक्षा र व्यवसाय तथा मानव अधिकार गरी चार विषय रहनेछन् । वातावरण विधामा पर्यावरणमा व्यावसायिक असरको व्यवस्थापन, विपद् जोखिम न्यूनीकरण तथा पूर्वतयारी र नवीकरणीय ऊर्जासम्बन्धी विषय रहनेछन् । त्यसैगरी, अर्थतन्त्र विधामा व्यावसायिक वातावरण निर्माण, नवप्रवर्तन तथा उद्यमशीलता, डिजिटल अर्थतन्त्र र व्यावसायिक निरन्तरता योजना गरी चार विषय रहनेछन् ।
कार्यक्रममा नेपाल, भारत, अस्ट्रेलिया, सिंगापुर, जापानलगायत देशका विज्ञ तथा वक्ताहरूको प्रस्तुति रहने बताइएको छ । ३० भन्दा बढी वक्ता रहने यस सम्मेलनमा ३०० भन्दा बढी व्यवसायी तथा निजीक्षेत्रका प्रतिनिधि, शिक्षाकर्मी, नागरिक समाज, सरकारी निकाय, बैंक तथा वित्तीय क्षेत्रको सहभागिता रहने राष्ट्रिय व्यावसायिक पहलले पत्रकार भेटघाटमार्फत जानकारी दिएको छ ।
विश्वव्यापी महामारीको असर, सञ्चार प्रविधिको द्रुत विकास र प्रभावका साथै विश्वव्यापी चासोको विषयमा छलफल गर्न सम्मेलन अझ बढी सान्दर्भिक हुने आयोजकको विश्वास छ । काठमाडौं विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्ट सम्मेलनको प्राज्ञिक साझेदार छ भने निजीक्षेत्रका अग्रणी संस्थाहरूको सहकार्य रहने बताइएको छ ।