विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विपन्नलाई नि:शुल्क कानूनी सहायता कार्यक्रम यसै आर्थिक वर्षदेखि कार्यान्वयनमा आउने बताएका छन् । मानव अधिकार मञ्च, नेपालले सोमवार विराटनगरमा आयोजना गरेको ‘स्थानीय तहमा सर्वसुलभ र गुणस्तरीय न्याय सेवामा एकरूपताका लागि आवश्यक कानून तथा मापनका सूचकहरू’ विषयक प्रदेशस्तरीय कार्यशालामा उनले न्यायको पहुँचमा नपुगेका नागरिकलाई पहुँचमा ल्याइने बताएका छन् ।
मुख्यमन्त्री कार्कीले स्थानीय तहको न्यायिक समितिले व्यावहारिक ढंगले काम गर्नुपर्नेमा जोड दिए । कानून दण्डसजाय गर्ने हतियार नभई सहजीकरण गर्ने माध्यम भएको भन्दै उनले स्थानीय तहले समयसापेक्ष प्रभावकारी कानून निर्माण गर्नुपर्नेमा जोड दिए । यसैबीच, मुख्यमन्त्री कार्कीले अग्रगामी समाज बनाउन महिलाको भूमिका सशक्त तथा महत्त्वपूर्ण हुने बताएका छन् । सोमवार नै विराटनगरमा आयोजित ‘कोशी प्रदेश महिला मञ्च २०८०’ लाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले महिला सशक्तीकरणको औचित्व र महत्त्वबारे चर्चा गरेका हुन् । विराटनगरमा प्रदेश सरकारले शैलजा आचार्यको नाममा हृदय रोग उपचार केन्द्र स्थापना गर्न लागेको उनले बताए । त्यसको प्रारम्भ बजेट विनियोजन तथा कार्यान्वयनसँगै हुने उनको भनाइ छ । प्रदेश सरकारले भौतिक तथा मानवीय विकासमा पनि जोड दिने उनले बताए । साथै महिला अधिकारका क्षेत्रमा समेत सशक्त भएर काम गर्ने प्रतिबद्धता उनले व्यक्त गरे ।