काठमाडौं। धितोपत्र दोस्रो बजारमा कात्तिक महीनामा ६० करोड ९५ लाख रूपैयाँभन्दा बढीको अड लट कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सार्वजनिक गरेको कात्तिकको तथ्यांकअनुसार उक्त रकम बराबरको ३३ लाख ३७ हजार धितोपत्र अड लटमा कारोबार भएको हो ।
असोजको तुलनामा कात्तिकमा अड लट कारोबार बढेको देखिएको छ । नेप्सेका अनुसार असोजमा २४ करोड ४९ लाख रूपैयाँभन्दा बढीको ११ लाख ७७ हजार थान धितोपत्र अड लटमा किनबेच भएको थियो । असोजको तुलनामा कात्तिकमा ३६ करोड ४६ लाख रूपैयाँभन्दा बढीको धितोपत्र अड लटमा कारोबार भएको नेप्सेको तथ्यांकले देखाउँछ । धितोपत्रको संख्या भने असोजको तुलनामा कात्तिकमा २१ लाख ६० हजारले बढी छ ।
धितोपत्र बजारका लगानीकर्ताले आफूसँग १० कित्ताभन्दा कम धितोपत्र भएमा अड लटमा कारोबार गर्न सक्ने व्यवस्था छ । नेप्सेका सूचना अधिकारी मुराहरि पराजुलीले आम लगानीकर्ताको सुविधालाई ध्यानमा राखी २०७९ वैशाखदेखि हरेक दिनको नियमित कारोबारमा अड लटमा विक्री गर्न सक्ने व्यवस्था गरेको जानकारी दिए । त्यसअघि पनि धितोपत्र कारोबारमा अड लटसम्बन्धी व्यवस्था रहे पनि शुक्रवार मात्र कारोबार हुने गरेको थियो । लगानीकर्ताले अड लट कारोबारको लागि एक साता कुर्नुपर्ने समस्या अन्त्य गरेसँगै यो कारोबार बढ्दै गएको पराजुलीले जानकारी दिएका छन् ।
धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ मा कारोबार हुने धितोपत्र शेयर वा सामूहिक लगानी प्रयोजनको एकाइ अंकित मूल्य १० रूपैयाँ भए १०० कित्ता र अंकित मूल्य १०० रूपैयाँ भए १० कित्ता नियमित कारोबार एकाइ हुने व्यवस्था रहेको पराजुलीले जानकारी दिए ।
ऋणपत्रको हकमा अंकित मूल्य १० रूपैयाँ भए १०० कित्ता र संस्थापक ऋणपत्रको अंकित मूल्य १ हजार रूपैयाँ भए १ कित्ता नियमित कारोबार एकाइ हुने व्यवस्था रहेको उनले जानकारी दिए । यस व्यवस्थाको आधारमा मूल्यका हिसाबले धितोपत्रको अड लट कारोबार एकाइ तय गरिएको छ । उल्लिखित कारोबार एकाइ वा सोभन्दा बढी धितोपत्र भएका धितोपत्र धनीले त्यस्तो धितोपत्रलाई अड लट बनाई कारोबार गर्न नपाउने समेत पराजुलीले प्रस्ट पारे ।
लगानीकर्ता डम्बरुबल्लब घिमिरे धितोपत्र बजारमा अड लट कारोबारको सुविधा हरेक दिन हुँदा विशेष गरी साना लगानीकर्तालाई फाइदा हुने बताउँछन् । कम्पनीहरूले दिने बोनसले गर्दा अड लट धितोपत्र कायम हुने र त्यसलाई सहज तरिकाले विक्री गर्न पाउने व्यवस्थाका कारण सबैलाई सजिलो भएको घिमिरेले बताए । उनले अड लट कारोबार गर्न पाइन्छ भन्ने जानकारी धेरै लगानीकर्तामा नभएकाले यस विषयमा सम्बन्धित निकायले विशेष ध्यान दिनुपर्ने पनि बताए । नियामक निकायले चासो लिएर अड लट शेयर लिएर बस्ने लगानीकर्ताको तथ्यांक खोजे करोडौंको संख्यामा यस्तो धितोपत्र भेटिन सक्ने घिमिरेको अनुमान छ ।