काठमाडौं। नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाबाट नीतिगत दरहरू घटाएपछि बैंकहरूले पनि निक्षेपको ब्याजदर घटाउन थालेका छन् । सामान्यतया बैंकहरूले मासिक रूपमा ब्याजदर परिवर्तन गर्ने भए पनि नीतिगत दरहरू परिवर्तन भएपछि महीनाको बीचमै नयाँ ब्याजदर लागू गरेका हुन् ।
राष्ट्र बैंकको निर्देशनमा बैंकदर तथा नीतिगत दर परिवर्तन भएमा तत्काल ब्याजदर परिवर्तन गरी प्रकाशन गर्न सकिने व्यवस्थाअनुसार बैंकहरूले सूचना प्रकाशित गरी ब्याजदर घटाएका हुन् । सामान्य अवस्थामा भने बैंकहरूले प्रत्येक महीनाको लागि निक्षेपमा लागू हुने ब्याजदर महीना शुरू हुनुपूर्व प्रकाशित गरिसक्नुपर्ने व्यवस्था छ । यो प्रावधानअनुसार बैंकहरूले हरेक महीनाको अन्तिम दिन सूचना प्रकाशित गर्दै अर्को महीना लागू हुने ब्याजदरबारे जानकारी दिँदै आएका छन् ।
शुक्रवार मौद्रिक नीतिको समीक्षाबाट राष्ट्र बैंकले बैंकदरलाई ७ दशमलव ५ प्रतिशतबाट घटाई ७ प्रतिशत, नीतिगत दरलाई ६ दशमलव ५ प्रतिशतबाट घटाई ५ दशमलव ५ प्रतिशत र निक्षेप संकलन बोलकबोल दरलाई ४ दशमलव ५ प्रतिशतबाट घटाई ३ प्रतिशत कायम गरेको थियो । त्यसपछि बैंकहरूले सूचना प्रकाशित गरी धमाधम ब्याजदर घटाउन थालेका हुन् ।
हालसम्म एन.आई.सी. एशिया, कुमारी र एनएमबि बैंकले सूचना प्रकाशित गरी ब्याजदर घटाइसकेका छन् । एन.आई.सी.ले आइतवार सूचना प्रकाशित गरी मुद्दती निक्षेपको अधिकतम ब्याजदर ८ दशमलव ६७ प्रतिशत कायम गरेको छ ।
तर, एन.आई.सी. बैंकको नयाँ ब्याजदर पुसदेखि मात्र लागू हुने बताएको छ । मङ्सिरमा यो बैंकको अधिकतम ब्याजदर ८ दशमलव ९७ प्रतिशत छ ।
कुमारी बैंकले भने आइतवारदेखि नै लागू हुने गरी ब्याजदर घटाइसकेको छ । कुमारीले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ९ दशमलव ६१ प्रतिशत ब्याजदर तोकेको छ । कात्तिक र मङ्सिरका लागि कुमारीले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम १० दशमलव १० प्रतिशत ब्याजदर तोकेको थियो ।
यस्तै एनएमबि बैंकले पनि सोमवारदेखि नै नयाँ ब्याजदर लागू गरेको छ । एनएमबिले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ९ दशमलव ५० प्रतिशतसम्म ब्याजदर दिँदै आएकोमा सोमवारबाट घटाएर ९ प्रतिशतमा कायम गरेको छ ।
राष्ट्र बैंकको तथ्यांकअनुसार हाल बैंकहरूसँग ६ खर्ब रुपैयाँभन्दा बढी कर्जा विस्तार गर्ने क्षमता छ । तर, कर्जा विस्तार नहुँदा अन्तरबैंक ब्याजदर एक प्रतिशतमा झरेको छ ।
पछिल्लो समय बैंकहरूमा निक्षेप वृद्धिको तुलनामा कर्जा प्रवाह नहुँदा तरलता थुप्रिएको छ । तरलता अधिक भइरहेका बेला राष्ट्र बैंकले नीतिगत दरहरू घटाएपछि बैंकहरूलाई ब्याजदर घटाउन सहज भएको हो । राष्ट्र बैंकको तथ्यांकअनुसार हाल बैंकहरूसँग ६ खर्ब रुपैयाँभन्दा बढी कर्जा विस्तार गर्ने क्षमता छ । तर, कर्जा विस्तार नहुँदा अन्तरबैंक ब्याजदर एक प्रतिशतमा झरेको छ ।
वित्तीय प्रणालीमा अधिक तरलता भएपछि मङ्सिरको शुरूदेखि राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत् बजारबाट तरलता प्रशोचन गरिरहेको छ । मङ्सिर ६ गतेयता निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले करीब डेढ खर्ब रुपैयाँ तरलता बजारबाट खिचिसकेको छ । त्यसमध्ये ४५ अर्ब रुपैयाँ परिपक्व भई बजारमा फिर्ता भइसकेको छ ।
तरलता धेरै भएपछि निक्षेप संकलन उपकरणमा पनि बैंकहरूले एक प्रतिशतभन्दा कम ब्याजदरमा लगानीका लागि बोलकबोल गरेका छन् ।