काठमाडौं। युनिलिभर नेपालको ३०औं वार्षिक साधारणसभा मंगलवार काठमाडौंमा सम्पन्न भएको छ । साधारणसभामा कम्पनीको लाभांश प्रतिफल र करपछिको नाफा १ अर्ब ८३ करोड ४० लाख रहेको बताइएको थियो, जुन गतवर्षको तुलनामा १९ प्रतिशतले बढी हो । शेयरधनीले यस वर्ष कम्पनीकै इतिहासमा सर्वाधिक धेरै लाभांश प्रतिशेयर रू. १ हजार ५८० प्राप्त गरेको बताइएको छ ।
कम्पनीका अध्यक्ष देव बाजपेईले न्यून लगानी, जैविक विविधतामा देखिएको नकारात्मक असर, भूराजनीतिक टकराव, सामाजिक ध्रुवीकरण र साइबर असुरक्षालाई कम्पनीले बढी जोड दिएको बताए । सभामा कम्पनीका प्रबन्ध निर्देशक अम्लान मुखर्जीले करपश्चात् कम्पनीको खुद नाफा १० वर्षकै सबैभन्दा धेरै भएको बताए । कम्पनीमा ८५ प्रतिशत शेयर संस्थापक शेयरधनीहरूको र बाँकी शेयर सर्वसाधारणको रहेको बताइएको छ ।