काठमाडौं। गत कात्तिकमा उपभोक्ता मूल्य वृद्धिदर (महँगी) २६ महीनायताकै तल्लो बिन्दुमा झरेको छ । यसअघि २०७८ असोजमा उपभोक्ता मूल्य वृद्धिदर ४ दशमलव २४ प्रतिशत थियो । त्यसपछिका महीनामा यो गत कात्तिकको ५ दशमलव ३८ प्रतिशतभन्दा माथि रहँदै आएको थियो ।
नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्ष (आव) मा ७ प्रतिशतको सीमाभित्र मूल्य वृद्धिदर कायम गर्ने लक्ष्य लिएको थियो । उसले चालू आवका लागि ६ दशमलव ५ प्रतिशतभित्र राख्ने लक्ष्य निर्धारण गरेको छ । २०७९ असोजमा मूल्य वृद्धिदर ८ दशमलव ५ प्रतिशत पुगेको थियो । नेपाल राष्ट्र बैंकले कसिलो मौद्रिक नीति जारी गर्दै आयात तथा कर्जा लगानीमा कडाइ गरेपछि महँगी बढेको थियो ।
पेट्रोलियम पदार्थ, तरकारी र सवारीसाधनको मूल्यका साथै ढुवानी भाडासमेत घटेपछि मूल्य वृद्धिदर न्यून बिन्दुमा ओर्लेको हो । भारतको घट्दो महँगीले पनि सकारात्मक असर पारेको छ । राष्ट्र बैंकका अनुसार कात्तिकमा भारतको मूल्य वृद्धिदर ५ दशमलव ५५ प्रतिशत छ ।
त्यस्तै चालू आवको कात्तिकमा अर्थतन्त्रका सूचकहरूमा उल्लेख्य सुधार देखिएको छ । कोभिड–१९ को प्रभाव तथा रूस–युक्रेन तनावका कारण विश्वव्यापी आर्थिक मन्दीले शिथिल बनेको बेला सरकार र राष्ट्र बैंकको नीतिगत व्यवस्थाले बृहत् आर्थिक सूचकांकहरूमा उल्लेख्य सुधार देखिएको हो ।
राष्ट्र बैंकले बिहीवार प्रकाशित गरेको देशको आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी प्रतिवेदनले अर्थतन्त्रका बाह्य तथा आन्तरिक सूचकहरू बलियो अवस्थामा रहेको सार्वजनिक गरेको छ । चालू आवको शुरुआतबाटै सुधारको लय समातेका सूचकहरू कात्तिकसम्ममा सबल अवस्थामा पुगेका हुन् ।
राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्ट आर्थिक सूचकहरूले अर्थतन्त्रको अवस्थामा उल्लेख्य सुधार देखाएको बताउँछन् । ‘सूचकहरूले हाम्रो अर्थतन्त्रको अवस्था बलियो देखाएका छन्,’ उनले भने, ‘यसलाई सरकारले निर्माण तथा पूर्वाधार विकासमा प्रयोग गर्न सक्छ ।’ कात्तिकमा मूल्य वृद्धिदर घटेको, विदेशी मुद्रा सञ्चिति हालसम्मकै उच्च भएको र निक्षेप तथा कर्जाको वृद्धिदरमा पनि सुधार आएको उनले बताए ।
गतवर्ष विदेशी मुद्रा सञ्चिति न्यून विन्दुमा झर्नुका साथै आयात धान्ने क्षमता सीमित भएपछि राष्ट्र बैंक र सरकारले कसिलो नीति लिएका थिए । सरकारले बिलासी सामानको आयातमा प्रतिबन्ध लगाएको थियो । राष्ट्र बैंकले पनि आयातका लागि प्रयोग हुने र अनुत्पादक क्षेत्रमा जाने कर्जामा कडाइको नीति लियो । यसको नकारात्मक प्रभावमा आर्थिक गतिविधि खुम्चिएको थियो ।
अर्थतन्त्रको बाह्य स्थितिका सूचकहरू सहज भएसँगै सरकार र राष्ट्र बैंक लचिलो बने । कसिलो मौद्रिक नीतिमार्फत कर्जा प्रवाहमा कडाइ गरेको राष्ट्र बैंक गतसाता मौद्रिक नीतिको समीक्षा गर्दै लचिलो बनेको छ । समीक्षामार्फत उसले नीतिगत दर घटाउनुका साथै घरजग्गा, शेयर, गाडीलगायत क्षेत्रमा प्रवाह हुने कर्जासम्बन्धी नीति पुनरवलोकन गरिसकेको छ । यसबाट ब्याजदर घट्नुका साथै आर्थिक गतिविधि पनि बढ्न थालेको राष्ट्र बैंकको भनाइ छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले पनि बुधवार पत्रकार सम्मेलन गरी कोभिडले शिथिल भएको अर्थतन्त्रमा सुधार देखिएको सार्वजनिक गरेका थिए ।
- विदेशी मुद्रा सञ्चिति हालसम्मकै उच्च
- ११ महीनाको आयात धान्ने क्षमता
- ब्याजदर घट्दै, निक्षेप–कर्जा बढ्दै
विदेशी मुद्रा सञ्चिति उच्च
गत असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १० दशमलव २ प्रतिशतले बढेर कात्तिकमा १६ खर्ब ९६ अर्ब ७८ करोड रुपैयाँ बराबर पुगेको छ । यो हालसम्मकै उच्च हो । अमेरिकी डलरमा सञ्चिति २०८० असारको ११ अर्ब ७१ करोडबाट ८ दशमलव ९ प्रतिशतले बढेर कात्तिक मसान्तमा १२ अर्ब ७५ करोड पुगेको छ ।
विप्रेषण आप्रवाह र सेवा आय वृद्धि हुनुका साथै व्यापारघाटा समेत कम भएपछि विदेशी मुद्रा सञ्चिति बढेको छ । चालू आव २०८०/८१ को ४ महीनाकै सरह आयात भइरहे बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १३ दशमलव ६ महीनाको वस्तु तथा ११ दशमलव ३ महीनाको वस्तु तथा सेवा आयात धान्ने राष्ट्र बैंकले बताएको छ ।
चालू आवको मौद्रिक नीतिले न्यूनतम ७ महीनाको वस्तु तथा सेवा आयात धान्न सक्ने विदेशी मुद्रा सञ्चिति कायम गर्ने लक्ष्य राखेको छ ।
चालू आवको कात्तिकसम्ममा विप्रेषण आप्रवाह २६ दशमलव ४ प्रतिशतले बढेर ४ खर्ब ७७ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २३ दशमलव १ प्रतिशतले बढेर ३ अर्ब ६० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १० दशमलव ८ प्रतिशतले बढेको थियो । कात्तिकसम्ममा शोधनान्तर स्थिति १ खर्ब ४७ अर्ब ११ करोड र चालू खाता ९६ अर्ब ३८ करोडले बचतमा छ ।
कर्जा–निक्षेप बढ्दै, ब्याजदर घट्दै
अर्थतन्त्र शिथिल हुँदा सुस्ताएको कर्जा र निक्षेप बढ्न थालेको छ । ब्याजदर पनि घट्न थालेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ । चालू आवको कात्तिकसम्ममा बैंकहरूको निक्षेप २ दशमलव ७ प्रतिशत र कर्जा २ दशमलव १ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिसम्ममा निक्षेप शून्य दशमलव ९ र कर्जा १ दशमलव ५ प्रतिशतले बढेको थियो । त्यसै गरी बैंक, वित्तीय संस्थामा निक्षेपको ब्याजदरका साथै आधारदर र कर्जाको ब्याजदर पनि घटिरहेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।