काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडले १७औं वार्षिकोत्सवको अवसरमा १५ वर्ष सेवा पूरा गरेका २५३ कर्मचारीलाई सम्मान गरेको छ । नेपाल उद्योग वाणिज्य महासघंका अध्यक्ष समेत रहेका बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकमा १५ वर्षदेखि निरन्तर सेवारत कर्मचारीलाई सम्मान गरेका हुन् ।
अध्यक्ष ढकालले बैंकले मर्जर र व्यवसाय विस्तारसँगै बैंकको गुणस्तर वृद्धिलाई ध्यानमा राख्दै ग्राहकको सेवा तथा सन्तुष्टिलाई प्राथमिकतामा राखेको बताए । उनले बैंक स्थापनाको १७ वर्षमा आइपुग्दा अधिकांश वित्तीय सूचकमा अब्बल रहेको बताए ।
बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले बैंकले आफ्नो सेवालाई नवीनतम तथा ग्राहकमैत्री बनाउँदै अहिलेको डिजिटल युगमा समयसापेक्ष सेवा दिनेगरी लक्ष्य निर्धारण गरेर अगाडि बढेको बताए । बैंकका वरिष्ठ नायब प्रमुुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले बैंकले ग्राहकको सेवा र सन्तुष्टिलाई ध्यानमा राख्दै थप गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।