अभियान संवाददाता
काठमाडौं
विद्युतीय भुक्तानी सेवा प्रयोगमा सर्वसाधारणको आकर्षण बढ्दै गए पनि सेवा प्रदान गर्ने कम्पनीहरूमा भने कमजोर भौतिक पूर्वाधार र सुशासनको अभाव देखिएको छ । नेपाल राष्ट्र बैंकले गरेको अनुगमनमा भुक्तानी प्रणाली सञ्चालक (पीएसओ) र भुक्तानी सेवाप्रदायक कम्पनी (पीएसपी) हरूले पर्याप्त मात्रामा भौतिक तथा प्राविधिक पूर्वाधार बनाउन नसकेको र सुशासनको अवस्थामा पनि कमजोर रहेको पाइएको हो ।
भुक्तानी प्रणाली विभागले प्रकाशित गरेको गत आर्थिक वर्षको वार्षिक अनुगमन प्रतिवेदनमा पीएसओ र पीएसपी कम्पनीहरूले आवश्यक नीति नबनाएको, सञ्चालनका लागि पर्याप्त भौतिक पूर्वाधारको व्यवस्था नगरेको, सुशासनको अवस्था कमजोर रहेको र संकटको समयमा व्यवसाय निरन्तर सञ्चालन गर्न आवश्यक तयारी नगरेको औंल्याइएको छ । विभागले पीएसओ र तथा पीएसपी कम्पनीहरूको स्थलगत र गैरस्थलगत अध्ययन गरी प्रतिवेदन सार्वजनिक गरेको जानकारी दिएको छ ।
विभागले गत आवमा तीनओटा पीएसओ र १२ ओटा पीएसपी गरी डेढ दर्जन कम्पनीको स्थलगत अनुगमन गरेको बताएको छ । यसैगरी ६ ओटा पीएसओ र २१ ओटा पीएसपी गरी २७ कम्पनीको गैरस्थलगत अनुगमन गरेको थियो ।
अनुगमन कैफियत भेटिएका कम्पनीलाई सुधारात्मक कारबाही गरिएको राष्ट्र बैंकले जानकारी दिएको छ । अनुगमनमा भुक्तानी सेवाप्रदायकका एजेन्टले तोकेको सीमाभन्दा धेरै पैसा झिकेको, कम्पनी स्थापना भएको ५ वर्ष नपुगी संस्थापक शेयर विक्री गरेको, सञ्चालकले नै संस्थाबाट पेस्की लिएको भेटिएपछि कारबाही गरिएको राष्ट्र बैंकको भनाइ छ । त्यसैगरी भुक्तानी सेवाप्रदायक कम्पनीहरूले सम्पत्ति शुद्धीकरणसम्बन्धी कानूनको परिपालना नगरेको, ग्राहकको विवरण अद्यावधिक नराखेको पाइएपछि कारबाही गरिएको केन्द्रीय बैंकले जानकारी दिएको छ ।
हाल १० ओटा भुक्तानी प्रणाली सञ्चालक र २७ ओटा भुक्तानी सेवाप्रदायकले सेवा दिइरहेका छन् । यसैगरी २० वाणिज्य बैंक, १६ विकास बैंक, १५ फाइनान्स कम्पनी र ७ लघुवित्त वित्तीय संस्थाले विद्युतीय भुक्तानी सेवा सञ्चालनका लागि अनुमति लिएका छन् । विद्युतीय भुक्तानीमा जोड दिँदै आएको राष्ट्र बैंकले कोभिड–१९ महामारीयता विद्युतीय भुक्तानी सेवालाई प्रोत्साहन गर्दै आएको छ । यसले गर्दा विद्युतीय कारोबार पनि बढ्दै गएको छ ।
पछिल्लो समय चेक क्लियरिङ, डेबिट/क्रेडिट कार्डको तुलनामा मोबाइल तथा क्यूआर पेमेन्ट र वालेट प्रयोगतर्फ सर्वसाधारणको आकर्षण बढिरहेको राष्ट्र बैंकले बताएको छ । भुक्तानी प्रणालीमा पहुँच बढ्दै जाँदा विभिन्न भुक्तानी उपकरणको प्रयोग बढेको र नेपालमा पनि कोभिड–१९ महामारीपछि कनेक्ट आईपीएस, वालेट, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्यूआर कोड र कार्डजस्ता उपकरण व्यापक रूपमा प्रयोग हुन थालेको राष्ट्र बैंकको भनाइ छ । कार्डमा आधारित भुक्तानीको वृद्धिदर भने पछिल्लो समयमा घट्न थालेको छ ।
राष्ट्र बैंकको तथ्यांकअनुसार विद्युतीय भुक्तानी कारोबार आव २०७८/७९ को तुलनामा २०७९/८० मा सबैभन्दा बढी १५९ दशमलव ६७ प्रतिशतले वृद्धि भएको छ ।