काठमाडौं। खाद्य तथा पेयपदार्थसम्बन्धी अन्तरराष्ट्रिय प्रदर्शनी ‘इण्डुज फुड टेक २०२४’ सोमवारदेखि भारतको ग्रेटर नोयडामा शुरू भएको छ । खानेकुरा तथा पेय पदार्थसम्बन्धी यो प्रदर्शनी दक्षिण एशियाकै सबैभन्दा ठूलो कार्यक्रम रहेको बताइएको छ ।
भारतसहित दक्षिण एशियाली राष्ट्रलाई अन्तरराष्ट्रिय फुड चेनमा जोड्ने उद्देश्यले आयोजना हुँदै आएको प्रदर्शनीमा नेपाल उद्योग वाणिज्य महासंघको वस्तुुगत परिषद्का सभापति एवं उपाध्यक्ष हेमराज ढकालको नेतृत्वमा महासंघका उपाध्यक्ष ज्योत्सना श्रेष्ठ, कोषाध्यक्ष निरक केसीसहित करीब ४५ जना उद्यमी व्यवसायीको टोली सहभागी रहेको बताइएको छ ।
प्रदर्शनीमा महासंघका सदस्य वस्तुुगत संघहरू नेपाल अलैंची व्यवसायी संघ, नेपाल डेरी एसोसिएसन, नेपाल कफी व्यवसायी महासंघ, नेपाल हब्र्स एण्ड हर्बल उत्पादक संघमार्फत विभिन्न सातओटा नेपाली कम्पनीहरूले स्टल राखेका छन् । प्रदर्शनीलाई, खाद्य तथा खाद्यान्न क्षेत्रमा पछिल्लो विकसित नवीनतम प्रविधिको विस्तार, अन्तरराष्ट्रिय सहकार्य एवं आगामी दिनमा खाद्य तथा पेयपदार्थ क्षेत्रलाई अझ गतिशील बनाउँदै लैजाने मुख्य हबको रूपमा हेरिएको छ ।
प्रदर्शनीमा खाद्य उत्पादनसँग पछिल्लो पटक विकास भएका उच्चतम प्रविधिसहितको अत्याधुनिक मेशिन तथा खाद्यान्न प्रदर्शनी गरिएको बताइएको छ । इण्डुज फुड टेकमा भारतसहित १०० देशका २ हजार ५०० भन्दा बढी कम्पनीहरूले भाग लिएका छन् ।
प्रदर्शनी आयोजक भारतीय व्यापार प्रवर्द्धन परिषद्ले प्रदर्शनी परिसरमा सहभागी देशका प्रतिनिधिमण्डलसँग राखेको भेटमा महासंघका उपाध्यक्ष ढकालले नेपाल भारतबीचको आर्थिक व्यापारिक सम्बन्ध, नेपाली कृषि उत्पादनको भारत निर्यातमा क्वारेन्टाइन, ल्याव टेष्ट लगायतमा रहेका समस्या समाधानका लागि आग्रह गरेका थिए । सो अवसरमा महासंघका उपाध्यक्ष ज्योत्सना श्रेष्ठले निर्यात तथा आयातमा रहेका कठिनाइ पहिचान गरी सम्बोेधन गर्न आग्रह गरिन् ।