ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

दक्षिण एशियाको धान उत्पादकत्वमा नेपाल पुछारतिर

२०८० पुस, २६  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रशान्त खड्का

काठमाडौं। दक्षिण एशियाली मुलुकमध्ये नेपालको धान उत्पादकत्व पाँचौं स्थानमा रहेको पाइएको छ । नीति अनुसन्धान प्रतिष्ठानले प्रकाशित गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनासम्बन्धी प्रतिवेदन (धानबाली व्यावसायिकीकरणको प्रयास, उपलब्धि र चुनौती) अनुसार सन् २०२२ मा दक्षिण एशियाली मुलुकमध्ये नेपालको धान उत्पादकत्व पाँचौं स्थानमा छ ।

प्रतिवेदनअनुसार दक्षिण एशियाली मुलुकमध्ये धानमा सबैभन्दा धेरै उत्पादकत्व भएको मुलुक श्रीलंका हो । श्रीलंकामा धानको उत्पादकत्व ४ दशमलव ८ मेट्रिक टन प्रतिहेक्टर छ । ४ दशमलव ७ मेट्रिक टन प्रतिहेक्टर उत्पादकत्वका साथ बंगलादेश दोस्रो स्थानमा छ । भुटान तेस्रो, भारत चौथो र नेपाल पाँचौं स्थानमा रहेको प्रतिवेदनमा उल्लेख छ । भुटानको धान उत्पादकत्व ४ दशमलव शून्य ७ मेट्रिक टन, भारतको ४ दशमलव शून्य ५ मेट्रिक टन र नेपालको ३ दशमलव ८ मेट्रिक टन प्रतिहेक्टर रहेको प्रतिवेदनमा उल्लेख छ । 

पाकिस्तान र अफगानिस्तानको उत्पादकत्व नेपालभन्दा पनि कम छ । पाकिस्तान धान उत्पादकत्वका हिसाबले दक्षिण एशियामा छैटौं र अफगानिस्तान सातौं स्थानमा रहेको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदन अनुसार पाकिस्तानको प्रतिहेक्टर धान उत्पादकत्व ३ दशमलव ६ मेट्रिक टन र अफगानिस्तानको २ दशमलव ९ मेट्रिक टन प्रतिहेक्टर छ ।

प्रमुख खाद्यबाली भएकाले नेपालले धानको उत्पादन र उत्पादकत्व दुवै बढाउनु अपरिहार्य रहेको राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रमका संयोजक डा. रामवरण यादव बताउँछन् । धानको उत्पादकत्व बढाउन सरकारले कृषिको लगानी अझै बढाउनुपर्ने उनको तर्क छ । सरकारले अहिले कृषिक्षेत्रमा छुट्ट्याउने गरेको कुल बजेटको आधाभन्दा बढी रासायनिक मल किन्नमै खर्च हुने गरेकाले अनुसन्धान लगायत अन्य काम अधुरै रहने स्थिति रहेको उनको भनाइ छ ।

‘अहिले हाम्रो कुल बजेटको ३ दशमलव ३७ प्रतिशत कृषिक्षेत्रलाई दिइन्छ । यो अंश कम्तीमा पनि ४ प्रतिशतभन्दा माथि हुनुपर्छ । कृषि गर्ने जमीन बढाउन सकिँदैन । तर, कृषिलाई चाहिने मलखाद, सिँचाइ हुने जमीनको क्षेत्रफल र प्रविधि प्रयोग बढाउन सक्छौं । सिँचाइ भएको ठाउँमा पनि वर्षभरि सुविधा उपलब्ध हुँदैन,’ उनले भने, ‘उत्पादन बढाउन चैतेधान खेती विकल्पको रूपमा भए पनि सिँचाइको अभावमा यसको क्षेत्रफल विस्तार गर्न सकिएको छैन । यसका अलावा वर्णसंकर जातका धानका बीउको प्रयोग बढाउनु जरुरी छ ।’ 

नेपालमा धानका ४ सुपरजोन, ११ जोन, ५३ ब्लक र १५९ पकेट क्षेत्र सञ्चालनमा छन् । उक्त प्रतिवेदनमा पछिल्लो समय उन्नत बीउ, रासायनिक मल तथा खेतीमा प्रविधिको प्रयोगले संसारभर धानबालीको उत्पादनमा ठूलो परिवर्तन आएको उल्लेख गरिएको छ । नेपालमा करीब १४ लाख ७७ हजार हेक्टर जमीनमा धानखेती गरिने सरकारी तथ्यांक छ । २०१८ सालतिर नेपालको धान उत्पादकत्व १ दशमलव ९ मेट्रिक टन प्रतिहेक्टर थियो । धानको उत्पादकत्वमा आएको क्रान्तिको श्रेय सन् १९७० मा उन्मोचन गरिएको वर्णसंकर धानलाई जान्छ, जुन चीनबाट शुरू भएको मानिन्छ ।

‘विभिन्न गुण, क्षमता र स्वभाव भएका धानका जातबीचको क्रशमार्फत विकास गरिने वर्णसंकर बीउको उत्पादन क्षमता धेरै हुने गर्छ । यस किसिमको वर्णसंकर बीउ प्रयोगले धानको समग्र उत्पादन बढ्ने भएकाले धानको उत्पादकत्व बढ्नमा महत्त्वपूर्ण भूमिका खेलेको पाइन्छ । चीनमा अहिले कुल धानखेती हुने क्षेत्रफलको आधाभन्दा धेरैमा लगाइने वर्णसंकर धान प्रतिहेक्टर ६ दशमलव ९ मेट्रिक टन उत्पादन हुन्छ । त्यसैगरी बंगलादेशले पनि वर्णसंकर बीउकै प्रयोग गरेर धानको उत्पादकत्व प्रतिहेक्टर ४ दशमलव ६ मेट्रिक टन पुर्‍याएको छ,’ प्रतिवेदनमा भनिएको छ ।

खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारी भने नेपालले उत्पादन वृद्धिका नाममा विभिन्न बहुराष्ट्रिय कम्पनीबाट उत्पादित वर्णसंकर जातका बीउ प्रयोग गर्नाले विस्तारै त्यसबाट समग्र बालीको उत्पादकत्व खस्किँदै गएको बताउँछन् । उनका अनुसार पर्याप्त अनुसन्धानको अभावमा जथाभावी त्यस्ता बीउ र रासायनिक विषादी प्रयोग गरेर उत्पादन बढाउने लोभमा माटोमा भएको उर्वराशक्ति नै नष्ट हुन थालेको छ । जथाभावी वर्णसंकर बीउ र रासायनिक विषादीको प्रयोग गर्नुभन्दा हामीसँगै भएका स्थानीय तथा रैथाने बालीको संरक्षण गरेर उन्नत रूपमा विकास गर्न सके त्यसबाट उत्पादकत्व बढाउन सकिने र रैथाने बालीको संरक्षण पनि हुने उनले बताए । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)