ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेपालको आर्थिक वृद्धिदर अर्काे वर्ष ५ प्रतिशत पुग्ने

२०८० पुस, २६  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। विश्व बैंकले अर्काे आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ५ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ । ‘ग्लोबल इकोनोमिक प्रस्पेक्ट्स’ सार्वजनिक गर्दै विश्व बैंकले आयात खुला भएको, मौद्रिक नीति लचिलो बनाइएकोलगायत कारण अर्काे वर्षको वृद्धिदर बढ्ने प्रक्षेपण गरेको हो । 

विश्व अर्थतन्त्रको औसत विस्तारको तुलनामा नेपाली अर्थतन्त्रको विस्तार सन्तोषजनक रहने विश्व बैंकको भनाइ छ । ग्लोबल इकोनोमिक प्रोस्पेक्ट्सअनुसार सन् २०२४ मा विश्वको औसत आर्थिक वृद्धिदर २ दशमलव ४ प्रतिशत रहनेछ । यस वर्ष (चालू आर्थिक वर्ष २०८०/८१) नेपालको आर्थिक वृद्धिदर ३ दशमलव ९ प्रतिशत रहने अनुमान विश्व बैंकले गरेको छ । यो वर्षको आर्थिक वृद्धि कम हुनुमा उसले सरकारले आयातमा लगाएको प्रतिबन्ध र यसअघिको कसिलो मौद्रिक नीतिलाई कारण मानेको छ । गत आर्थिक वर्ष (आव) २०७९/८० मा नेपालको आर्थिक विस्तार १ दशमलव ९ प्रतिशत मात्र थियो । 

विश्व अर्थतन्त्र भने आगामी आव सन् २०२५ मा समेत सुस्त नै रहने विश्व बैंकको प्रक्षेपण छ । आगामी वर्ष विश्व अर्थतन्त्रको विस्तार २ दशमलव ७ प्रतिशत मात्र रहने अनुमान विश्व बैंकले गरेको हो । खासगरी ठूलो अर्थतन्त्र भएका मुलुकको सुस्त विस्तारले समग्र विश्व अर्थतन्त्र प्रभावित हुने बताइएको छ । यस वर्ष १ दशमलव ६ प्रतिशतले विस्तार भएको अमेरिकी अर्थतन्त्र आगामी वर्ष १ दशमलव ७ प्रतिशतले विस्तार हुने बताइएको छ ।

जापानी अर्थतन्त्र यस वर्ष शून्य दशमलव ९ प्रतिशतले वृद्धि भएकोमा आगामी वर्ष वृद्धिदर शून्य दशमलव ८ प्रतिशतमा खुम्चिने अनुमान गरिएको छ । चीनको अर्थतन्त्र यो वर्ष ४ दशमलव ५ प्रतिशतले विस्तार भएकोमा आगामी वर्ष वृद्धिदर ४ दशमलव ३ प्रतिशतमा खुम्चिने अनुमान छ । रूसको अर्थतन्त्र यस वर्ष १ दशमलव ३ र आगामी वर्ष शून्य दशमलव ९ प्रतिशतले बढ्ने प्रक्षेपण विश्व बैंकले गरेको छ ।

विश्व अर्थतन्त्र भने आगामी आव सन् २०२५ मा समेत सुस्त नै रहने विश्व बैंकको प्रक्षेपण छ ।

भारतको अर्थतन्त्रमा भने निकै राम्रो प्रगति देखिएको छ । यस वर्ष ६ दशमलव ४ प्रतिशतले बढ्ने भारतीय अर्थतन्त्रले आगामी वर्षसमेत सोही गति समात्ने ठानिएको छ । अर्थतन्त्र विस्तारका हिसाबले भारतले केही वर्षयता उच्च गति समातेको छ । यो लय आगामी वर्षसमेत निरन्तर रहने विश्व बैंकको भनाइ छ । अघिल्लो वर्ष भारतले ७ दशमलव २ प्रतिशतको आर्थिक वृद्धि हासिल गरेको थियो । आगामी वर्ष ६ दशमलव ५ प्रतिशतको वृद्धि प्राप्त गर्नेछ ।

दक्षिण एशियाली मुलुकमा आर्थिक वृद्धिका हिसाबले दोस्रो स्थानमा बंगलादेश छ । विश्व बैंकका अनुसार उसले यस वर्ष ५ दशमलव ६ प्रतिशतको आर्थिक वृद्धि प्राप्त गर्नेछ । बंगलादेशी अर्थतन्त्र आगामी वर्ष ५ दशमलव ८ प्रतिशतले विस्तार हुनेछ । तेस्रो स्थानमा माल्दिभ्स छ । माल्दिभ्सले यस वर्ष ५ दशमलव २ र आगामी वर्ष ५ दशमलव ५ प्रतिशतले अर्थतन्त्र विस्तार गर्ने बताइएको छ । 

उच्च आर्थिक वृद्धिको चौथो स्थानमा भुटान छ । यस वर्ष ४ प्रतिशतको आर्थिक वृद्धिदर रहेको भुटानले आगामी वर्ष त्यसलाई बढाएर ४ दशमलव ६ प्रतिशत पुर्‍याउने प्रक्षेपण गरिएको छ । पाँचौं स्थानमा नेपाल छ । छैटौं स्थानमा रहेका श्रीलंका र पाकिस्तानको वृद्धिदर समान देखिएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)