काठमाडौं । चालु आर्थिक वर्ष (आव) २०८०/८१ को पहिलो पाँच महीनामा ६ खर्बभन्दा बढी विप्रेषण नेपाल भित्रिएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको साउनदेखि मंसिरसम्मको आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी तथ्यांकअनुसार यो अवधिमा विप्रेषणमार्फत ६ खर्ब १३ अर्ब २५ करोड रुपैयाँ नेपाल भित्रिएको हो ।
समीक्षा अवधिमा विप्रेषण आप्रवाह २७.६ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २३ प्रतिशतले बढेको थियो ।
अमेरिकी डलरमा विप्रेषण आप्रवाह २४.५ प्रतिशतले वृद्धि भई ४ अर्ब ६२ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.१ प्रतिशतले बढेको थियो ।
वैदेशिक रोजगारीमा जाने घटे
समीक्षा अवधिमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या भने गत वर्षको तुलनामा घटेको छ । यस वर्षको ५ महीनामा १ लाख ७३ हजार ५५५ जनाले नयाँ श्रम स्वीकृति लिएका छन् । गत वर्ष यो संख्या २ लाख ३६ हजार ७७९ थियो ।
समीक्षा अवधिमा पुनः श्रम स्वीकृति लिनेको संख्या पनि घटेको छ । यस वर्षको ५ महीनामा पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ४ हजार ३७ रहेको छ । गत वर्ष यसै अवधिमा १ लाख १५ हजार ९४८ जनाले पुनः श्रम स्वीकृति लिएका थिए ।