काठमाडौं । विश्वव्यापी रूपमा देखिएको आर्थिक मन्दीको प्रभावले बढेको महँगीबाट उपभोक्ताले विस्तारै राहत पाउन थालेका छन् । अर्थतन्त्रको आन्तरिक तथा बाह्य अवस्थामा आएको सुधारसँगै महँगी वृद्धिको चाप कम हुँदै गएको नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको प्रतिवेदनले औंल्याएको छ ।
नेपाल राष्ट्र बैंकले बिहीवार प्रकाशित गरेको देशको आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी प्रतिवेदनअनुसार गत मङ्सिरमा उपभोक्ता मूल्य वृद्धिदर ४ दशमलव ९५ प्रतिशत कायम भएको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य दुईपटक घटाएको तथा कात्तिकको तुलनामा मङ्सिरमा तरकारी, फलफूल, मरमसला, चिनीजस्ता वस्तुको मूल्यमा कमी आएकाले मूल्य वृद्धिदरको चाप कम भएको राष्ट्र बैंकले बताएको छ ।
कोभिड–१९ महामारीले प्रभावित विश्व अर्थतन्त्रमा रूस–युक्रेन तनावले आपूर्ति शृंखला बिग्रँदा नेपालमा पनि महँगी वृद्धिदर उच्च थियो । राष्ट्र बैंकले समेत कसिलो मौद्रिक नीति जारी गरी ब्याजदर बढाउँदा महँगीदर उच्च विन्दुमा पुगेको थियो ।
पछिल्लो समय अर्थतन्त्रको आन्तरिक तथा बाह्य अवस्थाका सूचकहरूमा सुधारसँगै महँगी वृद्धिदरमा पनि संकुचन आएको हो । २०७८ असोजमा ४ दशमलव २४ प्रतिशतमा रहेको उपभोक्ता मूल्य वृद्धिदर २०७९
भदौमा ८ दशमलव ६४ प्रतिशतसम्म पुगेको थियो । त्यसपछि क्रमश: घटिरहेको मूल्य वृद्धिदर मङ्सिरमा न्यून बिन्दुमा झरेको हो ।
राष्ट्र बैंकका अनुसार मङ्सिरमा घिउ तथा तेल, तरकारी र मासु तथा माछाको मूल्य घटेको छ भने फलफूल, दुग्ध पदार्थ, अण्डा, दाल तथा गेडागुडीको मूल्य बढेको छ । मङ्सिरमा काठमाडौं उपत्यका र पहाडमा महँगीदर ५ दशमलव ४२ प्रतिशत कायम भएको छ । यस्तै तराईमा ४ दशमलव २६ र हिमालमा ७ दशमलव ४६ प्रतिशतले महँगी बढेको राष्ट्र बैंकले जानकारी दिएको छ ।
पाँच महीनामा ६१३ अर्ब विप्रेषण
चालू आर्थिक वर्ष (आव) को शुरूदेखि नै उत्साहजन रूपमा बढिरहेको विप्रेषण आप्रवाह मङ्सिरमा पनि बढेको छ । मङ्सिरसम्ममा विप्रेषण आप्रवाह २७ दशमलव ६ प्रतिशतले बढेर ६ खर्ब १३ अर्ब २५ करोड रुपैयाँ पुगेको छ ।
मङ्सिरसम्ममा अमेरिकी डलरमा विप्रेषण आप्रवाह पनि २४ दशमलव ५ प्रतिशतले बढेर ४ अर्ब ६२ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३ दशमलव १ प्रतिशतले बढेको थियो ।
विप्रेषण बढाउन सरकार र राष्ट्र बैंकले प्रोत्साहनको नीति लिँदै आएका छन् । औपचारिक च्यानलबाट विप्रेषण पठाउनेलाई साधारण शेयरमा आरक्षण दिइएको छ । बैंकमा रकम जम्मा गर्दा १ प्रतिशत बिन्दुले थप ब्याज दिने व्यवस्था गरिएको छ ।
शोधनान्तर बचत २ खर्ब नाघ्यो
विप्रेषण आप्रवाहमा वृद्धि र आयातमा कमी आउँदा शोधनान्तर बचत २ खर्ब नाघेको छ । मङ्सिरमा शोधनान्तर स्थिति २ खर्ब १० अर्ब ५९ करोडले बचतमा रहेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ । अघिल्लो वर्षको यही अवधिमा शोधनान्तर स्थिति ४५ अर्ब ८६ करोडले बचतमा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको मङ्सिरमा ३४ करोड ६८ लाखले बचतमा रहेको शोधनान्तर स्थिति चालू वर्षमा १ अर्ब ५८ करोडले बचतमा रहेको छ ।
यसैगरी गत आवको मङ्सिरमा ४१ अर्ब २१ करोडले रुपैयाँ घाटामा रहेको चालू खाता यस वर्ष १ खर्ब ४० अर्ब २३ करोडले बचतमा छ । २०८० असारमा १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १४ दशमलव ८ प्रतिशतले बढेर मङ्सिरमा १७ खर्ब ६७ अर्ब ४ करोड रुपैयाँ पुगेको छ । अमेरिकी डलरमा सञ्चिति २०८० असारमा ११ अर्ब ७१ करोड रहेकोमा मङ्सिर मसान्तमा १३ दशमलव ६ प्रतिशतले बढेर १३ अर्ब ३१ करोड पुगेको छ ।
आव २०८०/८१ को ५ महीनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १४ दशमलव १ महीनाको वस्तु आयात र ११ दशमलव ८ महीनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने देखिन्छ ।
ब्याजदर घट्दै, कर्जा–निक्षेप बढ्दै
अर्थतन्त्र शिथिल हुँदा सुस्ताएको बैंकहरूको निक्षेप संकलन र कर्जा प्रवाह मङ्सिरमा बढेको छ । यसैगरी ब्याजदर पनि घटिरहेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ । चालू आवको कात्तिकसम्ममा बैंकहरूको निक्षेप ४ दशमलव ६ प्रतिशत र कर्जा २ दशमलव ३ प्रतिशतले बढेको छ । अघिल्लो आवको यसै अवधिसम्ममा निक्षेप २ दशमलव २ र कर्जा १ दशमलव ६ प्रतिशतले बढेको थियो । यसैगरी मङ्सिरमा बैंक, वित्तीय संस्थामा निक्षेपको ब्याजदरका साथै आधारदर र कर्जाको ब्याजदरका घट्ने क्रम जारी रहेको राष्ट्र बैंकले औंल्याएको छ ।