काठमाडौं। बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)को अध्यक्षमा उपेन्द्र पौड्याल सर्वसम्मत चयन भएका छन् । निवर्तमान अध्यक्ष पवनकुमार गोल्यानले राजीनामा दिएपछि रिक्त रहेको अध्यक्ष पदमा परिसंघको बिहीवार बसेको कार्यसमितिको १५औं बैंठकले नबिल बैंकका अध्यक्ष तथा सिबिफिन कार्यसमितिका सदस्य पौड्याललाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।
त्यसअघि सोही बैठकले गोल्यानको राजीनामा स्वीकृत गरेको थियो । एनएमबि बैंकको आसन्न साधारणसभाबाट बैंक सञ्चालक समितिबाट अलग हुन लागेको पूर्वजानकारीसहित उनले संस्थाको विधानअनुसार परिसंघको अध्यक्ष पदबाट राजीनामा दिएका थिए ।
परिसंघको अध्यक्षमा सर्वसम्मत चुनिएका पौड्याल विगत दशकदेखि बैंकिङ क्षेत्रमा क्रियाशील छन् । सन् १९८६ मा स्ट्याण्डर्ड चार्टर्ड बैंकबाट बैंकिङ सेवा थालेका उनी एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृतसम्म भएका थिए । एनएमबिबाट अवकाश लिएपछि उनी नबिल बैंकको सञ्चालक हुँदै अहिले अध्यक्षको जिम्मेवारीमा छन् । उनी विश्वभर रहेका बैंक तथा बैंकिङ संस्थाको स्वतन्त्र सञ्जाल ग्लोबल अलायन्स फर बैंकिङ अन भ्यालुज्को सन् २०१८ देखि एसिया प्रशान्त क्षेत्रीय प्रतिनिधि समेत हुन् ।