काठमाडौं। संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटीयूसीसी) र सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जाल (एनएनएसएम)ले मंगलवार प्रधानमन्त्री पुष्पकमल दाहाललाई वैदेशिक रोजगारीमा जाने श्रमिकका समस्या समाधानका विषयमा ध्यानाकर्षण गराएको छ ।
श्रमिकको अधिकतम हितलाई ध्यानमा राखी पूर्वप्रस्थान अभिमुखीकरण तालीम लगायतका तालीम नि:शुल्क रूपमा वैदेशिक रोजगार बोर्ड वा शीप विकास तालीम प्रतिष्ठानबाट गराउने गरी अध्ययन अगाडि बढाउन भेटमा माग गरिएको थियो । श्रमिकको हितलाई ध्यानमा राखी कार्यक्रम सञ्चालन, हाल वृद्धि भएको भनिएको शुल्क श्रमिकबाट नलिई यथावत रूपमा हुनेगरी कार्यान्वयन तथा वैदेशिक रोजगारीमा जाने श्रमिकलाई थप सेवा शुल्क लगायत थप आर्थिक भार पर्ने कुनै प्रकारको काम नगर्ने नगराउने व्यवस्था गर्न माग गरिएको छ ।
पुराना श्रम सम्झौताको समसामयिक नवीकरण र नयाँ गन्तव्य मुलुकसँग श्रम सम्झौता गर्ने कार्यलाई प्राथमिकीकरण तथा श्रम सम्झौता गर्दा न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षा, कार्यघण्टा, बीमा लगायतका सुविधालाई अधिकतम रूपमा प्रदान गर्नेतर्फ विशेष ध्यान दिने व्यवस्था गर्न ध्यानाकर्षण गराइएको छ ।